१ कार्तिक २०८३, शनिबार

फत्तेपुरमा सिट्रोनेला जडिबुटी फस्दाउँदै, एक बर्षमै ४० हजार आम्दानी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Medcine

नेपालगञ्ज, ३० भदौ । फत्तेपुर गाविस–पदनाहस्थित खप्तड बाबा जडिबुटी उत्पादन समूहले डेढ वर्षमै सिट्रोनेलाको ४० हजार बोट विक्री गर्न सफल भएको छ । सामुदायिक बनमा रोपेको सिट्रोनेलाले राम्रोसँग फस्टाएपछि समूहले छिमेकी जडिबुटी उत्पादन समूहलाई बिक्री गरेको हो ।

खप्तड बाबा जडिबुटी उत्पादन समूहले डेढ बर्ष पहिले १ हेक्टर जमिनमा ५ हजार वटा सिट्रोनेला जडिबुटीको बोट रोपेको थियो । कृषि उत्पादकत्व बृद्धि तथा ब्यवसायिकरण परियोजना (आइएप्याक) ले धनगढीबाट खरिद गरेर खप्तड बाबालाई उपलब्ध गराएको थियो ।

सिट्रोनेलाको सिलिप (बोट) एक रुपैयाँमा विक्री गरेको समूहकी अध्यक्ष ललिता पुन मगरले बताइन् । ‘बिक्री गर्न टाढा जानु परेन, यहाँकै जडिबुटी उत्पादन समूहले किनेर लग्यो ।’ सिट्रोनेलाको बोट बिक्री गरेर ४० हजार रुपैयाँ आम्दानी समूहले गरेको छ ।

उक्त समूहले फेरी एक हेक्टर जमिनमा सिट्रोनेला रोपेको छ । एक पटक रोपेपछि पटक–पटक रोप्न नपर्ने, जंगल र अन्य जडिबुटीलाई कुनै असर नगर्ने अध्यक्ष पुन मगरले बताइन् । उनले भनिन्, ‘कम लगानी र मेहनतमा धेरै र सजिलै आम्दानी गर्न सकिने भएकोले थप जमिनमा पनि जडिबुटी रोपेका छौँ ।’

सिट्रोनेलाबाट सुगन्धित तेल निकालिन्छ । यसको तेल महंगोमा बिक्री हुने बताउँदै अध्यक्ष पुनले पहिलो पटक सात केजी सुगन्धित तेल निकालेको जानकारी दिइन् । ‘प्रति केजी १ हजार ५ सय रुपैयाँमा तेल बिक्री भयो,’ अध्यक्ष पुनले भनिन् ।

जडिबुटी लगाउने, हेरचाह र गोडमेल बन उपभोक्ता समूहका सदस्य आफैले गर्दछन् । उनीहरुले जडिबुटी हेरचाहका लागि समूह समेत बनाएका छन् । ‘आफ्नो काम आफै गरौँ भन्ने सोँचले जडिबुटीको हेरचाह आफै गर्दै आएका छौँ,’ उनले भनिन् ।

फत्तेपुर गाविस–८, जोरैयास्थित सदावहार सामुदायिक बन उपभोक्ता समितिले पनि सामुदायिक बनको २ हेक्टर क्षेत्रफलमा सिट्रोनेला जातको जडिबुटी खेति गरेको छ । जंगलमा सिट्रोनेला जडिबुटी खेति गर्दा रुख, विरुवालाई कुनै हानी नोक्सानी नगर्ने भएकोले सामुदायिक बन रोजेको सदावहार सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष देविराम घर्तिले बताए ।

सिट्रोनेला जातको जडिबुटी रोपेपछि जंगलको संरक्षण भई बनमा पाइने स्थानीय जातका बिरुवा फस्टाएको उनले बताए । उनले भने, ‘नासिदै गएका रुख, विरुवा पुनः उर्मिन र हुर्किन थालेका छन् । जडिबुटी खेतिले बन संरक्षणमा समेत फाइदा पुगेको छ ।’

उक्त सामुदायिक बनले आइएप्याकको सहयोगमा ३५ हजार सिट्रोनेला बनको खाली जमिनमा रोपेको छ । यो जडिबुटीबाट बर्षमा ३ पटकसम्म तेल निकाल्न सकिन्छ । तेल र बोटको माग बढेपछि सदावहार सामुदायिक बन उपभोक्ता समितिले थप जमिनमा सिट्रोनेला रोपेको समितिका सदस्य दिपा चौधरीले बताइन् । ‘जडिबुटी रोपेपछि बोकाइनो, कलमी, असारे, कर्मा, जामुन, श्रीस लगायत जातका रुखले हुर्किने अवसर पाएका छन्,’ नयाँ उमे्रका रुख देखाउँदै चौधरीले भनिन्, ‘यसले जैविक विविधता संरक्षणमा समेत सहयोग मिलेको छ ।

जडिबुटीको स्याहार सुसार स्थानीयले आफै गर्दै आएका छन् । उनले भनिन्, ‘खेर जाने समय र जमिनको सदुपयोग र आर्थिक उपार्जनमा सहयोग मिलेको छ ।’