आगामी पुस महिनामा सुदूरपश्चिमको महाकाली अञ्चलमा आयोजना हुन गइरहेको नेपाल जेसीजको ४२औं राष्ट्रिय महाधिवेशनको तयारी सुरु भएको छ । युवाहरुमा क्षमता तथा नेतृत्व विकास गरिरहेको जेसीजको महाधिवेशनमा देशैभरीका दुई हजार सिनेटर तथा जेसीहरुको सहभागिता हुनेछ । महाधिवेशनबाट जेसीजले नयाँ केन्द्रीय नेतृत्व समेत निर्वाचित गर्दैछ । महाकाली अञ्चलमै पहिलोपटक आयोजना हुन गइरहेको राष्ट्रिय महाधिवेशनलाई अहिलेसम्मकै ऐतिहासिक र स्मरणीय बनाउने जिम्मेवारी महेन्द्रनगर जेसीजले पाएको छ । र, त्यसैअनुसार तयारी समेत भइरहेको महाधिवेशन तयारी समितिले जनाएको छ । यसै विषयमा महाधिवेशन तयारी समितिका महासचिव जेसी लक्ष्मण भट्टसँग दैनिकले नेपालले गरेको कुराकानीको सम्पादित अंशः
कस्तो छ नेपाल जेसीजको राष्ट्रिय महाधिवेशनको तयारी ?
महाकाली अञ्चलमै पहिलोपटक आयोजना हुन गइरहेको जेसीज राष्ट्रिय महाधिवेशनको तयारी तिव्र रुपमा भइरहेको छ । त्यसका लागि हामीले महेन्द्रनगर जेसीजका पूर्व अध्यक्ष पूर्णबहादुर चन्दको नेतृत्वमा नेपाल जेसीज राष्ट्रिय महाधिवेशन तयारी समिति गठन गरेका छौं । समितिले आफ्ना पदाधिकारीलाई विभिन्न जिम्मेवारी बाँडफाँड गरेको छ । त्यसैअनुसार सबै साथीहरुले आ-आफ्नो जिम्मेवारी पूरा गरि राख्नुभएको छ । आवास, रजिष्ट्रेशन शुल्क लगायतका कार्यहरु अन्तिम चरण पुगिसकेका छन् । देशैभरीका सिनेटर तथा जेसी साथीहरुलाई आमन्त्रण गरिसकेको छौं । समग्रमा भन्दा तयारी एकदमै तिव्र छ ।
पहिलोपटक राष्ट्रिय महाधिवेशन गर्ने जिम्मेवारी पाउनुभएको छ, कसरी आयोजना गर्दै हुनुहुन्छ ?
सर्वप्रथम त हामीले यो महाधिवेशन आयोजना गर्ने अवसर सन् २०१३ मा बागलुङमा सम्पन्न ४१औं राष्ट्रिय महाधिवेशनबाट २०१५ का लागि महेन्द्रनगर जेसीजलाई दिने घोषणा भएपछि पाएका थियौं । महाकाली अञ्चलमै पहिलोपटक सम्पन्न भइरहेको राष्ट्रिय महाधिवेशन भित्र्याउन महेन्द्रनगर जेसीजका पूर्वअध्यक्ष तथा केन्द्रीय जेसीसका पूर्वउपाध्यक्ष सिनेटर विश्व बस्नेतको ठूलो भूमिका रहेको छ । २०१५ डिसेम्बर २५–२७ अर्थात पुस १०–१२ मा महेन्द्रनगरमा ऐतिहासिक र भव्यताका साथ हामीले राष्ट्रिय महाधिवेशन आयोजना गर्दैछौं । सन् १९८७ मा मीनबहादुर शाहीको नेतृत्वमा स्थापना भएको महेन्द्रनगर जेसीजले २८ वर्षपछि पहिलोपटक पाएको यो अवसरलाई सफल बनाउन कुनै कसर बाँकी राख्नेछैन् । महेन्द्रनगरको सिटी हलमा देशैभरीका दुई हजार सिनेटर तथा जेसीहरुको उपस्थितीमा पूर्ण तयारीका साथ राष्ट्रिय महाधिवेशन सम्पन्न गर्दैछौं । महाधिवेशनमा ‘समृद्धिका लागि युवा’ विषयक कार्यपत्र प्रस्तुत हुँदैछ । यो प्रतिवेदनमा नेपालकै प्रखर बुद्धिजीवि, राजनीतिककर्मीले विश्लेषण गर्ने कार्यक्रम रहेको छ । त्यस्तै, ४२ औं महाधिवेशन घोषणापत्र जारी हुनेछ ।
महाधिवेशनमा को–को सहभागी हुँदैछन् ?
जेसीजको राष्ट्रिय महाधिवेशन भएकाले देशैभरीका सिनेटर तथा जेसीहरुको उल्लेख्य सहभागिता हुनेछ । नेपालका ७५ वटै जिल्लाबाट दुई हजार सिनेटर, राजधानीबाट अतिथिहरुको सहभागिता हुँदैछ । सबै राजनीतिक दलका शीर्ष नेता र जेसीस महाधिवेशनको प्रमुख आतिथ्यता देशको प्रधानमन्त्रीले गर्ने चलनअनुसार प्रधानमन्त्रीको समेत सहभागिता रहनेछ । नेपाल जेसीजका वर्तमान राष्ट्रिय अध्यक्ष धनन्जय श्रेष्ठ, महासचिव जगतबहादुर पोखरेल लगायत केन्द्रीय कमिटीको पनि सहभागिता रहनेछ ।
पहिलोपटक महाकालीमा आयोजना गर्न लाग्नुभएको राष्ट्रिय महाधिवेशनले सुदूरपश्चिमलाई के फाइदा हुन्छ ?
फाइदा भन्दाखेरी यो महाधिवेशन महाकाली अञ्चलमा गर्न पाउनु सबैभन्दा ठूलो अवसर हो । किनभने, देशैभरीका मानिसले सर्वप्रथम महाकालीलाई देख्नेछन् । त्यसपछि यहाँको परम्परा, संस्कृति, धर्म, भाषा, पर्यटनलाई प्रत्यक्ष देख्ने र बुझ्न पाउनेछन् । जसले गर्दा सुदूरपश्चिमको पर्यटनलाई देशभर झल्काउने, नेतृत्व विकासको संस्था भएकाले यहाँका युवाहरुको नेतृत्व विकासमा भूमिका खेल्ने, देशभरीको ध्यान यहाँ आकर्षित हुने, नेपाल जेसीजको केन्द्रीय कार्यसमिति निर्वाचित हुने कार्यक्रममा केन्द्रीय अध्यक्ष निर्वाचित हुनेछ । अर्काे कुरा तीन दिनको महाधिवेशनमा एक करोड बढीको आर्थिक कारोवार समेत हुनेछ ।
महाधिवेशनमा आएका अतिथि, पाहुनाहरु कसरी स्वागत गर्दै हुनुहुन्छ ?
हामीले पाहुनालाई स्वागत गर्न छुट्टै तयारी गरेका छौं । विशेषगरी सुदूरपश्चिमका पर्यटकीय स्थलहरुमा घुमाउने, सुदूरका प्रसिद्ध भोजन खिरभात, खजुरी, बाबर, लाउन, गहतानी, प्लेउ आदी परिकारहरुको स्वाद पस्किने, पर्यटकीय स्थलहरुमा एसियाकै दोस्रो लामो झोलुङ्गे पुल, धार्मिकस्थल, तालहरु आदि क्षेत्रहरुको अवलोकन गराउँछौं । जसले पाहुनाको स्वागत पनि हुने र देशैभरी प्रचारप्रसार पनि हुने ।
अन्त्यमा के भन्नु चाहनुहुन्छ ?
सर्वप्रथम त हाम्रो उद्देश्य भनेको महाकाली अञ्चलमै पहिलोपटक आयोजना हुन गइरहेको राष्ट्रिय महाधिवेशनलाई सफल पार्नु हो । यस क्षेत्रमा पहिलोपटक सम्पन्न हुन गइरहेको महाधिवेशन भित्र्याउन भूमिका खेल्ने सिनेटर विश्व बस्नेत, महेन्द्रनगर जेसीजका पूर्व अध्यक्षहरु कृष्णप्रसाद पाठक, निराजन थापा, प्रेमसिंह भाट लगायतलाई धन्यवाद ज्ञापन गर्दछु । ५१ औं वर्षमा प्रवेश गरेको नेपाल जेसीजले विश्वास गरेर हामीलाई महाधिवेशन गर्ने मौका दिएकोमा धन्यवाद दिन चाहन्छौं ।
तसर्थ ४२औं राष्ट्रिय महाधिवेशन भनेको सुदूरपश्चिमवासीको गौरव, सुदूरपश्चिम चिनाउने अवसर भएकाले सबैको उत्कृष्ठ सहभागिता र सहयोगको अपेक्षा गर्दछौं । र महाधिवेशनलाई ऐतिहासिक र स्मरणीय बनाउने उद्घोष पनि गर्दछौं ।
प्रस्तुति: कमलराज भट्ट












प्रतिक्रिया