गैरआवासीय नेपाली अभियानको माध्यमले हामी गैरआवासीय नेपालीहरुले राष्ट्रिय एवं अर्न्तराष्ट्रियस्तरमा हाम्रो एक विशेष परिचय र छवि निर्माण गर्न सफल भएका छौं। एनआरएन अभियान नेपाल र प्रवासी नेपालीहरुका चासोका विषयहरुमा लड्ने एक अभियान बनेको छ। यसमा हामी गर्व गर्दछौं ।
गैरआवासीय नेपाली संघ स्थापनाकालमा केही देशका मात्र प्रतिनिधिहरु संलग्न रहेको अवस्थाबाट द्रुतगतिमा संगठन विस्तार भई अहिले ७० भन्दा बढी राष्ट्रहरुमा राष्ट्रिय समन्वय परिषदहरु स्थापना भइसकेको छ । यसले हामीलाई वास्तवमै एक अर्न्तराष्ट्रिय संस्था र एक प्रभावकारी अभियानको रुपमा स्थापित गरेको छ। त्यसैगरी ‘गैरआवासीय नेपाली ऐन २०६४’ ले ‘गैरआवासीय नेपाली’ लाई परिभाषित गरेको छ भने संघ आधिकारीक रुपमा नेपालमा दर्ता भएको छ। साथै, संघको आफ्नै कार्यालय भवन निर्माण हुने भएको छ भने एनआरएन अभियानका प्रमुख मागहरु मध्येको एक ‘दोहोरो नागरिता’ को माग एक हदसम्म सम्बोधन हुने स्थितिको पूर्वसन्ध्यामा हामी उभिएका छौं। संघको स्थापनाकालदेखि हालसम्म नेपालको सामाजिक एवं राजनीतिक रुपान्तरणमा नेपाल र नेपालीहरुको सहयात्री, सहकर्मी र सहभागीका रुपमा उभिएको मैले पाएको छु। त्यसैगरी प्राकृतिक प्रकोपका जटिल अवस्थाहरुमा संघको सहयोगी भूमिका एनआरएन अभियानकै स्थापित कार्यनीति भएको मैले बुझेको छु। महिला र युवा अभियान संघको अभिन्न अंग बनेको छ।
गैरआवासीय नेपाली संघका अहिलेसम्मका सफलताहरुबाट सन्तुष्ट बनेर बस्न नहुने मेरो विचार छ। हासिल भएका सफलताहरुलाई हरेक सदस्यसम्म पुर्याउनु पर्ने आवाश्यकता छ। यदि हामीले एनआरएन अभियानका लक्ष्य र उदेश्यहरु साथै यसका उपलब्धिहरुलाई प्रत्येक प्रवासीसम्म पुर्याउन सक्यौं भने संघको सदस्यता संख्यामा ठूलो बृद्धि हुनेछ। हामी संस्थागत रूपमा र संस्था आर्थिक रुपमा अझ सबल र समावेशी हुनेछ। त्यसैगरी देशको गतिशिल सामाजिक एवं राजनीतिक अवस्था, संघको बृहद् अर्न्तराष्ट्रिय संजाललाई संस्थागत एवं प्रभावकारी बनाउने आवश्यकता र महाभूकम्प २०१५ बाट प्रभावित क्षेत्रको पुर्ननिर्माण र पुर्नस्थापनाको टड्कारो खाँचो संघको आगामी कार्यकालको लागि चुनौति हुन्। ती चुनौतिहरुलाई समाधान गरी संस्थालाई सबल, समावेशी र प्रभावकारी बनाउने अवसर हाम्रो सामु छ।
गैरआवासीय नेपाली संघमा सन् २००९ देखि विभिन्न पदमा रही मैले एनआरएन अभियानमा आफूलाई समाहित गर्ने मौका पाएँ। यही क्रममा हाल म यूरोपको क्षेत्रिय संयोजकका रुपमा मन, वचन र कर्मले सक्रियतापूर्वक कार्यरत छु। गैरआवासीय नेपाली संघको मेरो गहन अनुभवका कारण मैले यस अभियानको चुनौति र अवसरहरुलाई निकटबाट बुझेको छु। ती चुनौति र अवसरहरुको ब्यवस्थापनमा सक्रिय रहने र आगामी कार्यकालको कार्यसमितिलाई संघका उद्देश्यहरुको प्राप्तिमा सहयोग गर्ने उदेश्यका साथ मैले आगामी कार्यकालका लागि केन्द्रीय सचिव पदमा उम्मेदवारी दिने सोच बनाएको छु। यस सन्दर्भमा तपाईंको सुझाव र सल्लाहको आशा गरेको छु। मलाई बिगतका वर्षहरुमा संस्थागत एवं सामाजिक कार्यहरुमा प्रदान गर्नु भएको सहयोग, सल्लाह र विश्वासका लागि हृदयदेखि हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु। मैले तपाईंहरुकै सल्लाह र सुझाव अनुसार संस्था र समाजको हितमा काम गर्ने छु।
तपाईंको सल्लाहको अपेक्षासहित !
अर्जुनकुमार श्रेष्ठ
क्षेत्रिय संयोजक, यूरोप
गैरआवासिय नेपाली संघ, आईसीसी
















प्रतिक्रिया