बलेवा (बागलुङ), २५ भदौ । वर्षायाम सुरु भएसँगै अवरुद्ध बुर्तिवाङ–काठमाडौँ सिधा यातायात सञ्चालन भएको छ । झन्डै तीन महिनासम्म अवरुद्ध बनेको बुर्तिवाङ हुँदै बुटवल, काठमाडौँका लागि यातायात सञ्चालन भएको हो ।
असारपछि मध्य पहाडी लोकमार्गमा पहिरो तथा खोला बढेपछि यातायात अवरुद्ध बनेको थियो । करिब रु ८० हजारको लागतमा मध्य पहाडी लोकमार्गको भीमगिठे न्वारा सडकखण्ड मर्मतपछि आजबाट सिधा यातायात सञ्चालन भएको पश्चिमाञ्चल यातायात व्यवसायी समितिका कर्मचारी रामप्रसाद आचार्यले बताउनुभयो । सडक मर्मतपछि बुटवलबाट जिप, बस, ट्रक, ट्र्याक्टरलगायतका सवारी साधन बुर्तिवाङ आइपुगेका छन् ।
शनिबारदेखि बुर्तिवाङबाट बागलुङ हुँदै काठमाडौँका लागिसमेत सवारी सञ्चालन गर्ने यातायात व्यवसायीहरुले जनाएका छन् । सिधा यातायात सञ्चालन नहुँदा यात्रुहरुले महँगो भाडा तिरेर ठाउँठाउँमा सवारी साधन परिवर्तन गरेर यात्रा गर्न बाध्य थिए । रासस















प्रतिक्रिया