राज्यले मधेसलाई उपेक्षा गरेको, संघीय प्रदेश र राज्यको पुनःसंरचनाको विषयमा सरकार अनुदार भएको, विगत २०६४ साल फागुन १६ गते तत्कालीन सरकारले मधेसी मोर्चासँग गरेको ८ बुँदे सम्झौता कार्यन्वयन नगरेको भन्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले गत साउन २७ गतेदेखि तराई मधेस क्षेत्रमा आमहड्ताल, बन्द र विरोधसभा गर्दै आएको छ । मोर्चाको पूर्वनिर्धारित कार्यक्रमअनुसार भदौं २३ गते भैरहवामा हुने वृहत विरोध र्याली तथा आमसभालाई सम्बोधन गर्न आइपुगेका मोर्चा घटक तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्त ठाकुरसँग दैनिक नेपालका लागि भैरहवा सहकर्मी नरेश के.सी.ले गरेको कुराकानी :
आन्दोलन त निकै चर्काउनु भयो नी ?
हो , हाम्रो आन्दोलन अहिले उत्कर्षमा छ । राज्यको अनुदारताको कारण यो सब भएको हो । अहिले तराई मधेसमा विद्रोह भइरहेको छ । उत्पीडनमा परेका जनताले संवैधानिक अधिकार माग गरिरहेका छन् । तर राज्यले लाचरी देखाएको छ ।
आन्दोलन कहिलेसम्म हुन्छ ?
– हाम्रो आन्दोलन त्यतिबेलासम्म हुन्छ जतिबेलासम्म राज्यले मधेसी मोर्चासँग गरेको विगतको ८ बुँदे सम्झौता कार्यन्वयन गर्दैन, जबसम्म राज्यले मोर्चासँग गरेको प्रतिबद्धता पूरा गर्दैन तबसम्म आन्दोलन चलिरहन्छ । हाम्रो माग नयाँ केही पनि छैन । ८ बुँदे सहमति कार्यन्वयन गरेमा कुनै वार्ताको जरुरत नै छैन । अन्तरिम संविधानको धारा ३१ लाई अबलम्बन गर्नुपर्दछ । अन्तरिम संविधानले व्यवस्था गरेको राज्यको पुनःसंरचना र राज्यशक्तिको बाँडफाँडको विषलाई स्वतः ग्रहण गरिनुपर्दछ । अघिल्लो संविधानसभामा सहमति भएका मधेसका मुद्दालाई ग्रहण गरिनुपर्दछ । अन्तरिम संविधानअनुसार गठित राज्य पुनःसंरचना आयोगको सिफारिशलाई लागू गरिनुपर्दछ ।
सीमाङ्कनको विषयमा असन्तुष्ट भएर आन्दोलन चर्किएको पनि हो की ?
– सीमाङ्कनको विषयमा धेरै विवाद गर्नु जरुरी नै छैन । मधेसले आफ्नो सीमा आफै तोकेको छ । मधेसको पूर्वमेचीदेखि पश्चिम महाकालीसम्मको समथर भूभाग र चुरे दक्षिणको क्षेत्र सबै मधेस हो । मधेसले आफ्नो सीमा मात्रै बताउँदैन की आफ्नो पहिचान पनि बताइरहेको छ । सबैभन्दा महत्वपूर्ण कुरा यो छ की प्रस्तावित संविधानको मस्यौदामा आन्दोलन र क्रान्तिको मुद्दालाई संस्थागत गर्दै राजनीतिक सहमतिको दस्ताबेजको रुपमा संविधान जारी गर्न थालिएको भनिएको स्पष्ट भाषामा उल्लेख हुँदाहुँदैँ ४ जना नेताहरुले जथाभावी गर्न खोज्नु कत्तिको न्यायसँगत हुन्छ ?
पहिचान भन्नाले ?
– मधेसमा बस्नेहरु हामीलाई अहिले ठूलो समस्या छ । हामीलाई नेपालमा नेपाली मानिदैन, विदेशमा पनि नेपाली गनिदैन । हामीले खोजेको हाम्रो पहिचान नेपाली हो । तराईको समथर भू–भागमा बसोबास गर्ने पनि सबै नेपाली हो । हामीलाई नेपाली भन्न किन हिच्किचाउने ?
तपाईहरु आन्दोलन गरिरहने, संविधानसभाको प्रक्रिया नरोकिने र सरकार तथा मुख्य दलहरु जसरी पनि संविधान जारी जर्ने कार्यमा तल्लीन भएको देखिन्छ । यस्तो अवस्थामा यहाँहरु के गर्नुहुन्छ ?
– मधेसका जनतालाई अहिले राज्यले बन्दी बनाएको छ । बन्धक जस्तै व्यवहार गरेको छ । चारैतिर निषेधाज्ञा र कर्फयु लगाएर शासन गर्न खोजेको छ । घरघरमा पसेर दुव्र्यवहार गरेको छ । सडकमा हिँडीरहेका नागरिकमाथि र आफ्नो घर आँगनमा काम गरिरहेका नागरिकमाथि पनि दमन गरेको छ । यो सरासर गलत हो । यो तत्काल रोकिनु पर्दछ । यदि यस्तो दमनकारी नीति र व्यवहार रोकिएन भने राज्यले त्यसको चर्को मूल्य चुकाउनु पर्नेछ । वार्ताका लागि अहिले वातवरण बनेको छैन । राज्यले त्यो वातावरण सृजना गर्नुपर्दछ । तत्काल संविधानसभाको कार्य र प्रक्रियालाई स्थगन गरिनुपर्दछ । ८ बुँदे सम्झौता कार्यन्वयन गरिनुपर्दछ ।
सरकार र मुख्य ३ दल त पेलेरै भएपनि संविधान जारी गर्ने भन्छन नी ?
– यो सम्भव छैन । हामी निरन्तर संघर्षमा छौं । हामी भदौं २५ गतेपछि नयाँ रणनीतिका साथ नयाँ संघर्षका कार्यक्रम तय गछौं । मलाई लाग्छ ३ दलका नेता र सरकार प्रमुखले विवेकपूर्ण ढंगले तराई मधेसका जनताको मागलाई सम्बोधन गर्ने ऐतिहासिक अवसर गुमाउने छैनन् । उहाँहरु विवेकशील भएर नयाँ संविधानमार्फत शान्ति र समृद्धिको खातिर मधेसका जनताले उठाएको मुद्दालाई र विगतको सम्झौतालाई कार्यन्वयन गरी समस्याको समाधान दिनुहुनेछ ।
यहाँहरूको मोर्चामा सम्मिलित राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टीका सभासदले राजीनामा नै दिएर संघर्षमा उत्रीएका छन् । अब तमलोपाका सभासदले पनि राजीनामा दिन्छन की ?
– हेर्नुस् , संविधानसभा छाड्दैमा सबै समस्याको समाधान हुँदैन । हाम्रो संघर्ष सदनबाटै शुरु भएको हो र समाधानको एउटा विन्दु सदनमै पनि छ । हामीले सदन र सडक दुबै ठाउँबाट संघर्ष गर्छौ । त्यो उहाँहरुको कुरा हो । मोर्चामा संविधानसभाबाट राजीनामा दिने नदिने भन्ने विषयमा छलफल नै भएको छैन ।
यहाँहरुको आन्दोलन चर्किरहेको बेला विजय गच्छादारको नेतृत्वमा अर्को मोर्चा पनि गठन भएर आन्दोलनमा आएको छ ? यहाँहरुले यसलाई कसरी लिनु भएको छ ?
– संयुक्त मधेसी मोर्चाले आन्दोलनको शुरुवात गर्यो । राम्रो कामको लागि र राम्रो मनसायलाई आउने जो जुनसुकै मोर्चालाई पनि हाम्रो स्वागत र सहकार्य हुन्छ । हामी थरुहट संघर्ष समिति, राष्ट्रिय मुश्लिम संघ र विभिन्न जनजाति सँगठनसँग सहकार्य गरेका छौं । जहाँसम्म उहाँहरुको कुरा हो, उहाँहरुले पनि मधेसको मुद्दा उठाइरहनु भएको छ । त्यो राम्रै हो ।
यहाँहरु (तपाई र उपेन्द्र यादव) वार्ताको लागि काठमाडौँ पनि जानुभयो । के के भयो ?
– हामी वार्ताको लागि काठमाडौं गएको होइन् त्यो निराधार हल्ला मात्रै हो । हाम्रो केन्द्रीय कार्यलयपनि काठमाडौंमै छ । हामी नागरिक समाज, युएन र विभिन्न सरोकारवाला निकायसँग भेटघाट गर्न गएका हौं । म सर्लाहीमा छँदा यूएनका प्रतिनिधि त्यहि आएर भेट्नु भयो र काठमाडौं आउनुस् भनेर बोलाएको हुनाले केही सल्लाह र सुझाव लिन काठमाडौं गएका हौं ।
राज्यसंग हाम्रो कुनै छलफल नै भएन । जव वार्ताको वातवरण नै छैन भने के वार्ता गर्नु । अर्कोतिर वार्ताको जरुरत नै छैन । पूर्वसम्झौता कार्यन्वयन गरे सबै समाधान भइहाल्छ । सरकारले पूर्व सम्झौतामा यो–यो गर्न सकिन्छ, यो–यो गर्न सकिन्न भनि किटानी साथ कुरा राखेमा बल्ल वार्ता हुन्छ । होइन भने के को लागि वार्ता गर्ने ?











प्रतिक्रिया