वाशिंगटन डिसी । महिला दिदी बहिनीहरुको महत्वपूर्ण चाड हरितालिका तीज अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियाको मनाससमा अमेरिका नेपाल सहयोगी समाजको आयोजनामा भब्यताको साथ सम्पन्न भएको छ ।
स्थापना कालदेखि नै चेलीबेटीलाई दर खुवाउने र नेपाल छोडी परदेशमा रहेका दिदीबहिनिहरुलाई माइति कै जस्तै वातावरण बनाउन एक थलोमा जम्मा गराई उनीहरुले चाहे अनुसारको कार्यक्रम गराउदै आएको यस पटकको तीज ऐतिहासिक बन्न पुगेको छ ।
बिगत वर्षभन्दा यस पटक निकै घुइचो लागेकोले नाचगानको लागि कार्यक्रममा राखिएका कुर्सीहरु समेत हटाउनु परेको थियो । खचाखच भरिएको मञ्चमा नअटाएपछि नाचगान गर्न हम्मेहम्मे परेको थियो ।
कार्यक्रममा बच्चा, बृद्ध, पुरुष तथा आमन्त्रित पाहुनाहरुको भब्य उपस्थिति रहेको थियो । दिदीबहिनीहरुले हर्ष लागेको र मनोरञ्जन भएको बताउँदै नाचगानमा खूब रमाएर भाग लिएका देखिन्थे । दिदीबहिनि तथा चेलीबेटीहरुलाई मिठामिठा खाने कुरा प्रदान गरेर दर खुवाइएको थियो ।
संस्थाका संरक्षक मधु पन्थीले यो चाडलाई निरन्तरता दिने जानकारी गराउदै डिसी महानगर क्षेत्रबाट संस्थाको कार्यक्रममा व्यापक सहभागिता जनाई दिएकोमा समाजलाई धन्यबाद दिएका छन् ।
कार्यक्रममा भीड भएकोले मनोरंजन गर्न आउने चेलीबेटीले बाहिर पनि बस्नु पर्ने अवस्था सिर्जना भएकोले आगामी दिनमा आएका सबै अट्ने खालको संस्थाको एक आफ्नै सामुदायिक भवन बनाउनेतर्फ सोची रहेको बताए ।
















प्रतिक्रिया