२८ आश्विन २०८३, बुधबार

अमेरिकामा संघसंस्थाका नाममा राजनीति धेरै भयो: माधव ढकाल, उम्मेदवार, नासा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Madhav-Dhakal1

अमेरिकामा रहेका नेपालीहरुको संस्था नासा र आन्माको सम्मेलन यसैसाता हुँदैछ, सेप्टेम्बर ४ देखि ६ तारिख हुने सम्मेलनले नयाँ नेतृत्व चयन कार्यक्रम पनि छ । यो सम्मेलनबाट नेपाल र नेपालीलाई पनि केही फाइदा पुग्छ ? नासाको भावी अध्यक्षका लागि प्रतिस्पर्धामा रहेका माधव ढकालसँग दैनिक नेपालले संक्षिप्त कुराकानी गरेको छ :

नासाको अध्यक्षमा तपाईंको उम्मेदवारी किन ?

म बिगत लामो समयदेखि नासाको विभिन्न पदमा सक्रिय रहेर काम गरिरहेको छु, यो क्षेत्रको नेपालीको सुख, दुखमा हातेमालो गर्दै हिडेको पनि झन्डै २० वर्षा जति भयो, यसपटक जिम्मेवार साथीहरुले मलाई नेतृत्व सम्हाल्न धेरै आग्रह गर्नुभएको थियो र मेरो पनि एकपटक नासालाई नयाँ ढंगले संचालन गर्ने रहर छ तसर्थ मैले उम्मेदवारी दिएको हुँ ।

तपाईंसँग कस्ता योजना तथा एजेन्डा छन् ?

यो संस्थालाई अगाडि बढाउन मैले धेरै योजनाहरु बनाएको छु, मेरो मुख्य एजेन्डाहरु ३ वटा छन् ्र नासालाई राजनीति हस्तक्षेपमुक्त संस्था बनाउने, नेपाली युवापुस्तालाई सामुदायिक कार्यमा सक्रिय बनाउने र नासालाई सम्पूर्ण नेपाली संस्थाहरुको छाता संस्थाको रुपमा विकास गर्ने ।

तपाईंले जित्नेमा कत्तिको आशावादी हुनुहुन्छ ?

मेरो उम्मेदवारी केवल मेरो रहरले मात्र होइन्, धेरै साथीभाई ले मलाई सघाएका छन् र मेरो लागि सिंगो समुदायनै लागि परेका छन्, फेरि मेरो पनि यो संस्थामा धेरै लामो योगदान छ, यो संस्थालाई कसरी अघि बढाउने भन्ने निश्चित दृष्टिकोण छ र मेरो एजेन्डाहरुलाइ धेरैको समर्थन पनि छ र म यो संस्थालार्इ नयाँ ढंगले अघि लैजान सक्षम छु, मेरो जित सुनिस्चित छ ।

यसपटक जिम्मेवार साथीहरुले मलाई नेतृत्व सम्हाल्न धेरै आग्रह गर्नुभएको थियो र मेरो पनि एकपटक नासालाई नयाँ ढंगले संचालन गर्ने रहर छ तसर्थ मैले उम्मेदवारी दिएको हुँ ।

प्रवासमा व्यक्तिपिच्छे संस्था छन् भनेर भनिन्छ, नासाको विगतको भूमिकालाई कसरी लिनुहुन्छ ?

हो, बिदेशमा धेरै नै सघसंस्थाहरु खुलेका छन् र त्योक्रम धेरै नै बढेको पनि छ । मेरो विचारमा नेपालीको पहिचान र सद्भावको लागि काम गर्ने सबै संस्थाहरु आबश्यक हुन् तर संस्थाको नाममा अमेरिकामा धेरै राजनीति भयो, अब त्यो फोहोरलाई सफा गर्नुपर्छ । हामी नासालाई राजनीतिबाट टाढै राखेर बिसुद्ध सामाजिक सेवामा लगाउन चाहन्छौं । र अमेरिकी नेपालीहरु माझ यो संस्थाको ठुलो लोकप्रियता छ । यसलाई उच्च बनाउन चाहन्छौँ ।

संस्थालाई समय कसरी मिलाउनु हुन्छ ?

समय भन्ने कुरा मिलाउने कुरा हो । मुलकुरो इच्छाशक्ति हो, यदि चाहने हो भने समय मिलाउन सकिन्छ, मैले अहिले पनि घर, अफिस, व्यवसाय र सामाजिक कामलाई समय मिलाइरहेकै छु ।

सहमतिको सम्भावना कत्तिको छ ?

सहमतिको सम्भावना संधै हुन्छ र हाम्रो पनि त्यो प्रयास रहन्छ ।

सम्मेलन कसरी हुँदैछ, कति सहभागी हुँदैछन् ?

यो सम्मेलन नासा र अन्मा जस्ता २ वटा अति नै लोकप्रिय संस्थाहरुले संयुक्तरुपमा आयोजना गर्ने हो । विभिन्न १९ वटा समितिले काम गरिरहेका छन् । सम्मेलनमा, खेलकुद, साहित्य, संगीत र नेपाली कलासंस्कृति झल्काउने बिबिध कार्यक्रम छन् भने, महिला, युवा तथा अन्य फोरमहरु पनि छन्, तसर्थ यसको तयारी व्यापक ढंगले अगाडि बढेको छ । नासा, अन्माका करिब एक हजार प्रतिनिधिहरु सहभागी हुनेछन्, सम्मेलन तयारी समितिको आध्यक्षको हैसियतले भन्नुपर्दा यो सम्मेलनमा अमेरिकामा रहेका सबै नेपालीलाई सहभागी हुन अनुरोध गर्दछु ।

नासा-आन्मा सम्मेलन रमाइलो जमघट मात्रै हो कि नेपाल र नेपालीलाई पनि केही फाइदा पुग्छ ?

राम्रो प्रश्न गर्नुभयो । “Help us rebuild Nepal ! Save the lost at any cost” यो सयुक्त सम्मेलनको मुल नारा नै हो । यहाँबाट आएको सबै आम्दानीहरु नेपालमा भूकम्प पीडितहरुलाई प्रदान गरिनेछ ।