२९ आश्विन २०८३, बिहिबार

टिकापुरमा प्रहरी जलाउन उक्साउने को-को ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Tikapur-kailali

टिकापुरमा भएको नरसंहारमा सुरक्षाकर्मी र दुई बर्षका नाबालकको क्रुर हत्या गर्नेहरु आन्दोलनकारी नभएर आतंककारी हुन्, यो अति र्न निन्दनीय घटना हो, यसको जति निन्दा गरेपनि कमै हुन्छ । कैलाली जिल्लामा सम्पूर्ण थारु र पहाडी समुदायहरु वर्षौंदेखि शान्तिपूर्ण रुपमा मिलेर बसेका थिए, जिउँदाको जन्ती जान्थे, मरेको मलामी जान्थे, केहि दिन पहिले टिकापुर पुगेर भड्काउ भाषण दिँदै मिलेर बसेका सोझा साझा जनताहरुलाई उक्साउने काम गर्न मुख्य भूमिका निर्बाह गर्ने उपेन्द्र यादव, राजेन्द्र महतो र अमरेशकुमार सिंहले सरकारलाई समेत चुनौती दिँँदै सक्छौ भने गिरफ्तार गरेर देखाउ भनेका थिए, सबैभन्दा पहिले तिनीहरुलाई राष्ट्रघाती र देशद्रोहीको मुद्दा चलाएर गिरफ्तार गरियोस् ।

यस्ता नेताहरुलाई टिकापुरको सुख दुःख सँग कुनै चासो छैन खाली मिलेर बसेका सोझासाझा जनताहरुलाई भड्काएर एक आपसमा झगडा गराउँदै आफ्नो स्वार्थ लुट्ने काम मात्रै हो । यदि यी नेताहरुलाई नेपाली जनताको त्यति माया थियो र छ भने किन नेपालमा बिनाशकारी महाभूकुम्प जस्तो बिपत्ति आइपर्दा आफ्ना भँडौतेहरुलाई उद्दार गर्ने कार्यमा पठाएनन् ? किन दार्चुला जिल्लामा महाकाली नदीका कारण आएको भीषण बाढीले हजारौँ घरबारविहीन हुँदा र करोडौँको क्षति हुँदा यिनका भँडौतेहरु उद्दार कार्यमा खटिएनन् ? किन सिन्धुपाल्चोकमा पहिरोले सर्वस्व गुमाएकाहरुको उद्दार कार्यमा लागेनन् ? केही समय पहिले कैलालीमा आएको बाढीले बिनाश गर्दा कहाँ थिए यस्ता भड्काउ भाषण गर्ने नेता र यिनका कुरा सुनेर जघन्य अपराध गर्ने कार्यकर्ताहरु ? यस्ता अनेका अनेक उदाहरणहरु छन । आफ्नै देशभित्र एक आपसमा मिलेर बसेका सोझासाझा जनताहरुलाई यसरी लडाउनु भन्दा दिन प्रतिदिन देशको सिमाना मिचिदैँछ त्यहाँ गएर देशको सिमाना बचाउन आन्दोलन गरुन, नालापानी कालापानी जस्ता अनेक ठाउँबाट देशको सिमाना मिचिएको छ, त्यहाँ किन आन्दोलन गर्दैनन यिनिहरुले ? आन्दोलनमा ज्यान गुमाउनेलाई ५० लाख दिने घोषणा गरेका छन्, कहाँ बाट आउँछ पैसा ? कसले दिन्छ पैसा ? साँच्चै ५० लाख दिने हुन भने भूकम्प पीडित एक परिवारलाई १ लाखको हिसाबले दिँदा पनि कति राहत हुन्थ्यो होला ?

कैलाली जिल्लामा सम्पूर्ण थारु र पहाडी समुदायहरु वर्षौंदेखि शान्तिपूर्ण रुपमा मिलेर बसेका थिए, जिउँदाको जन्ती जान्थे, मरेको मलामी जान्थे, केहि दिन पहिले टिकापुर पुगेर भड्काउ भाषण दिँदै मिलेर बसेका सोझा साझा जनताहरुलाई उक्साउने काम गर्न मुख्य भूमिका निर्बाह गर्ने उपेन्द्र यादव, राजेन्द्र महतो र अमरेशकुमार सिंहले सरकारलाई समेत चुनौती दिँँदै सक्छौ भने गिरफ्तार गरेर देखाउ भनेका थिए, सबैभन्दा पहिले तिनीहरुलाई राष्ट्रघाती र देशद्रोहीको मुद्दा चलाएर गिरफ्तार गरियोस् ।

सभासद रामजनम चौधरीले भनेका छन् – ‘प्रहरीले गोली चलाएपछि हामीले परिस्थितिलाई थेग्न सकेनौँ, थारु समुदायका झण्डै ८ देखि १० हजारको संख्यामा रहेका आन्दोलनकारीहरु रिसाए, त्यसपछि कसैले सम्हाल्न सक्ने अबस्था रहेन, र दोहोरो भीडन्त भएको हो ।’

Man-bahadur-kc-muskan
मानबहादुर केसी ‘मुस्कान’

प्रहरीले साँच्चै गोली चलाएको भए थारु समुदायका झण्डै ८, १० हजारको संख्यामा रहेका आन्दोलनकारीहरु बाट हजारौँ घाईते हुनुपर्ने या गोली लागेर मारिनुपर्ने । तर प्रहरी मात्र कसरी मारिए ? प्रहरीका २ बर्षका नाबालकको घरमै गएर किन निर्मम हत्या गरियो ? ती नाबालकको के दोष थियो ? उनी एक असल सुरक्षाकर्मीका छोरा थिए । बुबा सुरक्षाकर्मी भएकै कारण कर्तव्यपालनका लागि खटिएका थिए, नाबालकको ज्यान लिएर आतंककारीले के पाए ? यसको जवाफ भड्काउ भाषण दिने ती नेताहरु सँग छ ? तरबार, भाला, बन्चरो, लाठी, रड, गुलेली आदि इत्यादी घरेलु हतियारहरु बोकेर पनि कहि शान्तिपूर्ण आन्दोलन हुन्छ ? यस्तो निन्दनिय घटना घट्दा पनि सभासदबाट आएको यो अभिब्यक्तिले सोझासाझा जनताहरुलार्इ भड्काएर अझै बलेको आगोमा घिउ थप्ने काम भएको छ, सभासद रामजनम चौधरीले दिएको अभिब्यक्ति सरासर झुठो हो । आन्दोलनका मुख्य नाईके भनाउँदा नेताहरुले यी प्रश्नको जवाफ दिन सक्छन् ? त्यसैले ठोकुवा गरेर भन्न सकिन्छ, यो आन्दोलन नभएर सरासर नियोजित आक्रमण हो, आतंककारी घटना हो । चरी र घैटेँ जस्ता गुण्डाहरु मारिँदा बुर्लुक्क उफ्रिदै सडक र संसदमा आवाज उठाउने नेताहरु टिकापुरको निन्दनीय घटनाका बारेमा किन चुप लागेर बसे ? प्रहरीका २ बर्षका नाबालकको घरमै गएर किन निर्मम हत्या भएको छ, यो कुरामा ध्यान दिएर अपराधीलाई कडा भन्दा कडा कारबाही गर्नु पर्छ ।

कुरा प्रस्ट छ, यी सबै देशद्रोही हुन, पूर्बी तराईमा गएर ‘एक मधेस प्रदेश’को कुरा उठाएर भड्काउ भाषण गर्छन्, पश्चिम तराईमा पुगेर ‘थारुवान राज्य’को कुरा उठाउँदै भड्काउ भाषण गर्ने जातीय र क्षेत्रीय हिंसा भड्काउन खोज्ने ? त्यति मात्र नभएर सरकारलाई समेत चुनौती दिँदै सक्छौ भने गिरफ्तार गरेर देखाउ भन्नेहरुलाई समयमा नै सरकारले लगाम लगाउनुपर्थ्यो । यस्ता राष्ट्रघाती र देशद्रोही नेताहरुलाई नेपालका सोझासाझा जनताहरुको दुःख सुख सँग केही चासो छैन्, केवल मिलेर बसेको समाजलाई भड्काएर आफ्नो राजनीति बाटो बनाउने र स्वार्थ लिने काम मात्रै हो ।
भोलिका दिनमा मधेसवादी नेताहरुले टिकापुरलाई भारतसँग मिलाउनु पर्छ भन्दै आन्दोलन र आक्रमण गर्‍यो भने के सरकारले यिनिहरुको माग पुरा गर्छ ? ७५ जिल्लामै नै प्रदर्शन र आन्दोलन हुन सक्छ ? के सरकारले ७५ जिल्लालाई नै ७५ राज्य बनाउनु सक्छ ?

त्यसैले बुझ्नु पर्ने कुरा के छ भने भारतीय समर्थनमा देश टुक्र्याउने उद्देश्य लिएर आन्दोलन गरि रहेका मधेसवादी नेताहरुले तरार्ईका सोझासाझा थारु समुदाय र आम जनताहरुलाई हतियार बनाएर थरुहट आन्दोलनका समर्थक बनेको नाटक गरेर देश टुक्र्याउने रणनिती बनाउँदैछन्, तर थारु समुदाय र तराईबासी देशप्रेमी जनताहरुको देश टुक्र्याउने कुनै उद्देश्य छैन् । थारु समुदायमा पनि धनी र गरिब सबै छन्, हक र अधिकारको लागि नै आन्दोलन हो भने यो भन्दा पहिले किन गरिएन ? थारुवान राज्य बनाएर मात्रै थारु समुदायले हक र अधिकार पाउँछन भन्ने केही ग्यारेन्टी छ ? देश टुक्र्याउने सोच राखेका मधेसवादी नेताहरुले बाहिरबाट ल्याएका खेतला र समाजका केही अपराधिक क्रियाकलापमा सङ्लग्न भएका ब्यक्तिहरुले गर्दा टिकापुरमा घटेको दुःखद घटनाले अहिले आएर पुरै थारु समुदाय लज्जित र बदनाम हुन पुगेको छ, म पनि थारु समुदायको बाहुल्यता रहेको गाउँमा बस्ने मान्छे हुँ । जहाँसम्म मलाई लाग्छ, त्यहाँका गरिब सोझासाझा थारुहरुलाई भड्काउ भाषण गर्दै लोभ लालच देखाएर उक्साएर यस्तो जघन्य घटना घटेको हो ।

उक्साउने र भड्काउनेले भड्काए समाजमा मिलेर बसेकालाई साम्प्रदायिकता फैलाउदै हिंसात्मक आक्रमण गरेर गए, सरकारले आक्रमणकारी हत्याराहरुलाई खोजबिन गरी कडा भन्दा कडा कारबाही गर्नुपर्छ । गरिब र निमुखा थारुको हक अधिकारका लागि कोही पनि लागेका छैनन् खाली सोझासाझा थारु समुदायका जनताहरुलाई हतियार बनाएर आफ्नो राजनीतिक बाटो बनाउँदैछन् । जाति, धर्म जे भए पनि हामी नेपालीहरुले सबैभन्दा पहिले हामी नेपाली हौं, नेपाल रहेपछि जाति धर्म र क्षेत्र रहनेछ भन्ने कुरा बुझ्न जरुरी छ । सुरक्षाकर्मी होस् या आन्दोलनकारी होस् मर्ने नेपाली नै हुन ।

त्यसैले अब बिगतमा जे भयो भुलेर टिकापुरसी थारु समुदाय, पहाडी समुदाय, जाति धर्म जे भए पनि सबै जनजाती संयम र सद्भावलाई कायम राख्दै शान्तिपूर्ण ढंगले एकजुट भएर आइपरेका बेला दुःख सुखमा साथ दिँदै अगाडि बढ्नु पर्दछ ।

लेखक देउडा गायक तथा सुदूरपश्चिम सेवा समाज यूएई र अन्तरराष्ट्रिय कलाकार मन्च यूएईका महासचिव हुन ।