– विवेक विश्वकर्मा
भैरहवा, १३ भदौ । रुपन्देहीमा रहेको लुम्बिनी औद्योगिक कोरिडोरमा रहेका उद्योगका सञ्चालकले बन्दको कारण दैनिक करोडौको नोक्सानी भइरहेको गुनासो गरेका छन् ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र थरुहट संयुक्त संघर्ष समितिले आह्वान गरेको बन्दका कारण रुपन्देहीमा रहेको लुम्बिनी कोरिडोरमा दैनिक १० करोड बढीको घाटा हुँदैछ । अहिले लुम्बिनी कोरिडोरमा रिलायन्स सिमेन्ट उद्योग, गोयन्का सिमेन्ट उद्योग, जगदम्बा सिमेन्ट उद्योग, ब्रिज सिमेन्ट, सिद्धार्थ सिमेन्ट । सुप्रिम सिमेन्ट, पाठक सिमेन्ट, नेपाल अम्बुजा, अग्नि सिमेन्ट, बिशाल सिमेन्ट र अर्घाखांची सिमेन्ट प्रालि गरि ११ वटा सिमेन्ट उद्योग, गोयन्का स्टिल, अम्बे स्टिल, जगदम्बा सिन्थेटिक गरि डेढ दर्जन बढी ठूला उद्योग रहेका छन् ।

यी उद्योगहरु मध्ये सिमेन्ट उद्योगमा मात्र एक दिनको बन्दले करिब दैनिक १० करोडको घाटा भई रहेको पश्चिमाञ्चल सिमेन्ट उत्पादक संघका अध्यक्ष ऋषिकेश अग्रवालको दावी छ । कोरिडोरमा रहेका सिमेन्ट उद्योगहरुमा दैनिक ५ हजार टन बराबारको सिमेन्ट बाहिर जाने गरेको अग्रवालको भनाई छ । ‘सिमेन्ट बाहिर जान नसक्दा नै दैनिक करिब १० करोड घाटा त छँदैछ त्यस माथी बिभिन्न प्रकारको कर, बिद्युत शुल्क, तलब एवम अन्य खर्चहरुले उद्योग ब्यावसायको मेरुदण्ड नै भाचेको छ ।’ अग्रवालले भने । बिगत १८ दिनको बन्दको कारण अहिले उद्योगमा रहेको कर्मचारीलाई खाना समेत खुवाउन धौ धौ परेको अग्रवालको गुनासो छ ।
उद्योग बन्द हुदा त्यसमा निर्भर रहेको बिभिन्न मजदुर तथा स्थानीयहरु पनि भोक भोकै बस्ने अवस्था आएको छ । उद्योगमा लोडिङ्ग तथा अनलोडिङ्ग नहुँदा पल्लोदारी काम गर्नेहरु बेरोजगार भएको छ । यस अतिरिक्त ट्रक चालक, मालिक समेत बेरोजगार भएको गुनासो आफुसित आउने गरेको अध्यक्ष अग्रवालले बताए ।
जगदम्बा सिमेन्ट प्रालीका प्रवन्ध सञ्चालक बिदुर ढुङ्गानाका अनुसार जगदम्बा सिमेन्ट प्रालीबाट मात्र दैनिक १० हजार भन्दा बढी सिमेन्टका बोरा बाहिरिने गरेकोमा अहिले १ बोरा पनि बाहिर जान सकेको छैन् । कोरिडोरमा रहेका १० भन्दा बढी सिमेन्ट उद्योगहरबाट मात्र अनुमानित दैनिक १ लाख भन्दा बढी बोरा बिक्रि हुने गरेको पश्चिमाञ्चल सिमेन्ट उत्पादक संघका सचिव समेत रहेका ढुङ्गानाले बताए ।
अर्घाखाँची सिमेन्ट प्रालिका महाप्रबन्धक उद्धव बहादुर कार्कीको गुनासो पनि फरक छैन । अरबौको लगानीमा खोलिएका यी उद्योगहरुका मेशीनरी समान पनि लामो समयको बन्दको कारण बिग्रिने अवश्थामा पुगेको कार्कीले बताए । औद्योगिक क्षेत्रलाई बन्द मुक्त गर्नुपर्ने उनको भनाई छ ।
















प्रतिक्रिया