५ कार्तिक २०८३, बिहिबार

नेपाली विद्यार्थीको रोजाइमा अष्ट्रेलिया र जापान, मलेसियमा पनि अत्याधिक विद्यार्थी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Student-Girlकाठमाडौं, १३ भदौ । अध्ययनका लागि नेपाली विद्यार्थी विदेश जाँदा वार्षिक करिब १२ अर्ब रुपैयाँ बाहिरिएको छ ।

विदेश अध्ययनमा जाने विद्यार्थी संख्या गत आर्थिक वर्षमा हालसम्मकै धेरै छ । शिक्षा मन्त्रालयका अनुसार गत आव ०७१/७२ मा ३० हजार ६ सय ९६ विद्यार्थीले विदेश अध्ययनका लागि नो अब्जेक्सन लेटर लगेको नयाँ पत्रिका दैनिकले छापेको छ ।

विदेश जाने विद्यार्थीले करिब १२ अर्ब रुपैयाँ सटही गरेर विदेशी मुद्रा बाहिर लगेका छन्।

नेपाल राष्ट्र बैंक विदेशी विनिमय व्यवस्था विभागका कार्यकारी निर्देशक भीष्मराज ढुंगानाले पछिल्लो समयमा विदेश अध्ययनमा जान विदेशी मुद्रा सटही गर्नेको संख्या निकै बढेको बताए ।

ढुंगानाका अनुसार विदेश अध्ययनमा जान ०७१/७२ मा ११ अर्ब ८० करोड ९८ लाख रुपैयाँबराबरको विदेशी मुद्रा सटही भएको छ ।

शिक्षा मन्त्रालयबाट नो अब्जेक्सन लेटर लिएपछि मात्र विद्यार्थीले विदेश अध्ययनमा जान विदेशी मुद्रा सटही सुविधा पाउने व्यवस्था छ ।

राष्ट्र बैंकको पाँच वर्षयताको तथ्यांकमा सबैभन्दा बढी आव ०७१/७२ मै सर्वाधिक धेरै रकम सटही भएको उल्लेख छ ।

राष्ट्र बैंकका अनुसार ०७०/७१ मा नौ अर्ब ६९ करोड ६४ लाख रुपैयाँ, ०६९/७० मा ६ अर्ब ३४ करोड २३ लाख रुपैयाँको विदेशी मुद्रा सटही भएको छ ।

त्यस्तै, ०६८/७९ तीन अर्ब ८८ करोड ८९ लाख र ०६७/६८ मा तीन अर्ब ६२ करोड ५६ लाख रुपैयाँको विदेशी मुद्रा सटही भएको तथ्यांक छ ।

तीन वर्षयता विदेश अध्ययनमा जाने विद्यार्थीको संख्या ह्वात्तै बढेको छ । पछिल्ला वर्षमा जापानमा भाषा अध्ययन गर्न सहज रूपमा जान पाउने भएपछि विदेश जानेको संख्या बढेको हो ।

गत आवमा सबैभन्दा बढी आकर्षण जापान र अस्ट्रेलियामा देखिएको छ ।

जापानका लागि नौ हजार चार सय ५७ र अस्ट्रेलियाका लागि आठ हजार आठ सय ४४ जनाले नो अब्जेक्सन लेटर लगेको शिक्षा मन्त्रालयले जनाएको छ ।

नेपाली विद्यार्थीको तेस्रो रोजाइमा अमेरिका परेको छ । अमेरिकाका लागि तीन हजार एक सय पाँचजनाले नो अब्जेक्सन लेटर लगेका छन् ।

भारतका लागि एक हजार ६ सय ४२ ले नो अब्जेक्सन लेटर लगेका छन् । तर, भारतमा अध्ययन गर्न जाने धेरै विद्यार्थीले नो अब्जेक्सन लेटर लिने गरेका छैनन् ।

यसैगरी, मलेसियामा एक हजार १२, बंगलादेश आठ सय ६५, चीनमा सात सय ५२, डेनमार्कमा सात सय ४२, जर्मनीमा चार सय ३१ र पोल्यान्डका लागि चार सय ३० जनाले नो अब्जेक्सन लेटर लगेको मन्त्रालयको तथ्यांक छ ।

अध्ययनका लागि नेपाली विद्यार्थी ७६ वटा देशमा पुगेको मन्त्रालयको रेकर्ड छ । यसमा एक–दुई विद्यार्थी गएका देशसमेत समावेश गरिएको मन्त्रालयले जनाएको छ ।

६ वटा देशमा एक–एकजना विद्यार्थी मात्र गएका छन् । ५५ वटा देशका लागि अनुमति लिने विद्यार्थी संख्या एक सय पनि छैन ।

गत आर्थिक वर्षमा सबैभन्दा धेरै विद्यार्थीले भदौमा नो अब्जेक्सन लेटर लिएका छन् । साउनमा एक हजार नौ सय ९९, भदौमा चार हजार सात सय ६३, असोजमा दुई हजार ७५, कात्तिकमा एक हजार पाँच सय ८१, मंसिरमा दुई हजार दुई सय ४६, पुसमा दुई हजार तीन सय २९, माघमा एक हजार ६ सय ६३ जनाले नो अब्जेक्सन लेटर लगेका छन् ।

यसैगरी फागुनमा दुई हजार ६ सय १२, ०७२ वैशाखमा एक हजार चार सय ४३, जेठमा तीन हजार ९६ र असारमा दुई हजार सात सय ३९ जनाले नो अब्जेक्सन लेटर लगेको मन्त्रालयले जनाएको छ ।