– हजारौं जनतालाई त्रसित बनाउदै समाजमा अपराधको साम्राज्य चलाउदै आएका गुण्डा नाइकेहरु मारिदा मानव अधिकार आयोग धाउने महानुभावहरु आज २ वर्षिय अबोध नाबालक मारिँदा कहाँ गएका होलान् ?
– अधिकारका नाममा दुधे बालक छेदिनु कहाँको शान्तिपूर्ण आन्दोलन हो ? के तिनका अधिकार त्यो बालकले हरण गरेको थियो र थाङ्नोमा लुकाएर राखेको थियो र अहिले उसलाई मारिसकेपछि प्राप्त भयो ?
विषयसंग कुनै सरोकार नै नभएको तोतेबोली समेत बोल्न नसक्ने नाबालकको निर्मम हत्याले टिकापुर घटना अधिकारका नाममा गरिएको आन्दोलनको कलंक बनेको छ । खण्ड होस् या अखण्ड रहोस् यो घटना इतिहासमा कालो दिनका रुपमा लिइनेछ । यसमा संलग्न सबै राक्षसी पात्रहरुका रुपमा बुझिनेछन् ।
निहत्था र निर्दोष मानिसहरु मारिँदा कहि कतै त्यसको बिरोध हुँदैन, नाबालक मारिँदा त्यहाँ कुनै अधिकारको कुरा उठ्दैन, राज्यको कानुन पालना गर्दा जिउँदै जलाइनेहरुको मानवअधिकार हुँदैन तर जो समाजबाट बहिस्कृत छन्, तिरस्कृत छन् र समग्र समाजका लागि कलंकित हुन् तिनकै मानवअधिकारको बिषयमा चर्चा हुन्छ । सायद लोकलाज हराएको देशमा यस्तै हुँदो होला ।
युद्धमा समेत नाबालकको ख्याल राखिन्छ । जस्तोसुकै आतंककारीले पनि नाबालकको हत्या गर्दा हच्किन्छ तर टीकापुरमा न त दुइ पक्षबीच युद्धको घोषणा गरिएको थियो न त कुनै बिपक्षी सरकार अर्थात राज्य नै त्यहाँ थियो र जहाँ दोहोरो भीडन्तका क्रममा यस्तो विभत्सकारी घटना घट्न गयो भनेर भन्न सकिन्छ । जानाजान क्रुर आपराधिक मनस्थितिबाट गरिएको नाबालक हत्या कुनै पनि बहानामा छुट दिइनु हुँदैन । कुनै पनि बहानामा दिइने उन्मुक्ति सामान्य मानवता समेत नभएको अवस्था भन्ने बुझ्न सकिन्छ ।
त्यो राज्यसंगको संघर्ष हो । राज्यसंग आक्रोश थियो र राज्यका निकायहरुसंग नै लडाई हुनु स्वाभाविक होला तर घरभित्र पसेर कुनै नाबालकको हत्या गरिनुलाई कदापी बहादुरी मान्न सकिँदैन यो त मानव समाजको कलंक र राक्षसी राजको प्रतिविम्ब हो । जतिसुकै बदलाको भाव नै किन नहोस् कुनै पनि दृष्टिकोणले नाबालक हत्या क्षम्य हुनै सक्दैन । जस्तोसुकै अधिकारको लडाई किन नहोस् निहत्था र नाबालक हत्या महाअपराध हो । यो मानव अधिकारको उल्लंघन मात्रै हैन घोर अपराधको चरम उत्कर्ष भित्र पर्दछ र यस्ता घटनाहरुलाई सामान्य रुपमा हेर्न मिल्दैन ।
अनि सम्झाउन गएका बरिष्ठ प्रहरी अधिकृतमाथि भाला रोपेर मारिनु मानव अधिकारको क्षेत्रभित्र पर्दै नपर्ने हो त ? कि आन्दोलनरत र अपराधीहरु मात्रै मानवअधिकारको दायरामा पर्छन् ? पछिल्ला घटनाक्रमले ठम्याउन कठिन हुने अवस्था सिर्जना गरेको छ । चाहे जो सुकै व्यक्तिहोस् अमानवीय तरिकाले गरिने हत्या, हिँसाका घटना सबै मानवता विरोधी हुन् र त्यस्तो घटना घटाउने जो कोही पनि मानवता बिरुद्धको अपराधमा सजायको भोगी हुन्छ । यहाँ कुनै आन्दोलनकारी नै निर्मम तथा अमानवीय तरिकाले मारिएको भए उसको मानवअधिकारको कुरा नउठ्ने हैन तर समग्र मानवतालाई भन्दा व्यक्ति, पेशा र घटनालाई आधार बनाएको देख्दा कता कता मानवअधिकार बारेमा शंका उत्पन्न भएको छ ।
हुन त यहाँ अपराधमा राजनीति र राजनीतिमा अपराध पसेको छ । त्यसकारण जस्तो सुकै जघन्य अपराध पनि राजनीतिक संरक्षणमा क्षम्य हुने गरेको छ । राजधानीका डनद्धय चरी होस् कि घैटे । यी दुबैको इन्काउन्टरमा देखिएको राजनीतिक संरक्षण यसको ज्वलन्त उदारण हुन् ।
कुनै नेतालाई चुनाव जिताउनका लागि गरिएको सबैखाले सहयोगकै आधारमा अपराधीलाई समाजसेवी भन्न मिल्छ ? हजारौं जनताको खुन पसिना सोसेर जबर्जस्त जोडेको अकुत सम्पत्तिलाई पवित्र मान्न सकिन्छ ? हत्या, हिँसा र बलात्कार जस्ता कुकृत्यलाई ढाकछोप गरेर राज्यको उच्च नीति अर्थात राजनीतिको पवित्र खोल ओढाएर निर्दोश बनाउन सकिन्छ ? यो त गधालाई दुधले धोएर गाई बनाउछु भने जस्तै भएन र ? त किन हाम्रा स्वघोषित राजनेताहरु गधालाई धोएर गाई बनाउदैछन् यो बडा बिचित्रको कुरा हो ।
के राजनीतिमा यस्तै हुन्छ ? यस्तैका लागि राजनीति गरिन्छ ? किन नेपालमा राजनीतिलाई कलंकित बनाइदैछ ? राजनीतिप्रतिको आम धारणालाई किन गलत सावित गरिदैछ ? किन राजनीति भन्ने शब्दप्रति नै घृणा उत्पन्न गराइदैछ यो देशमा ? साच्चै राजनीति गलत नै हो त ? पक्कै होइन । न त राजनीति नै गलत हो न त राजनीति भन्ने शब्द नै । गलत हो त केबल गर्ने व्यक्ति । जसलाई राजनीतिको अर्थ थाहा छैन, यसको महत्व बुझेको छैन, यसका काम, कर्तव्य र अधिकारबारे सामान्य ज्ञान पनि छैन र यसको उत्पत्तिबारे कालो अक्षर भैँसी बराबर छ । उसको उपस्थिति नै सर्वच्च हुनु र राजनीतिमा त्यस्तैको बर्चश्व हुनु यो देशको राजनीतिका लागि दुर्भाग्य हो । जसले राजनीतिलाई व्यापार बनाए र त्यही व्यापारबाट अपार बन्दै नेतृत्वमा पुगे आज उनै गलत व्यापारीका कारण देश यो अवस्थामा पुगेको हो । विषको वृक्षमा अमृत फलेको कहिल्यै देखिएको छ ? यो प्राकृतिक सिद्धान्त नै हो कि विषको बोटले बिष नै फलाउँछ । हो यही कुरा सबैमा लागु हुन्छ कि गलत व्यक्तिले गलत व्यक्तिको नै जन्म दिन्छ र त्यसको परिणाम जहिले पनि गलत नै आउँछ ।
दादागिरी र सौदाबाजी यसका प्रमुख प्रयाय बनेका छन् । जति ठूलो झुण्ड देखाउन सक्यो उति ठूलो पार्टी भयो । जति अपराध गर्न सक्यो उति धेरै शक्तिशाली भयो, जति सौदाबाजी गर्न सक्यो उति बढी राजनीतिज्ञ कहलियो । के राजनीतिमा यस्तै गरिन्छ ? पक्कै गरिदैन । यो नेपालमा मात्रै हो र यसअघि पनि यति बिध्न थिएन । जब राजनीतिमा गलत व्यक्तिको प्रवेश बढ्दै गयो, तिनले काम भन्दा कुरा बढी गर्न थाले, राम्रा भन्दा हाम्रा मान्छे भर्न थाले र संगसंगै कर्तव्य भन्दा अधिकारको बढी खेती हुन थाल्यो तब यो बेस्सरी झाँगियो र वर्तमान अवस्थासम्म आइपुग्दा राजनीति र अपराधमा कुन सहि हो भन्नेकुरा छुट्याउन मुस्किल भयो ।
यस्तो परिस्थितिमा कसरी देश चल्छ ? कहिले सम्म चल्छ ? ‘तात्तै खाउँ जल्दी मरी जाँउ’को नीतिसंग के आशा र अपेक्षा गर्न सकिन्छ ? त्यसैले त युवाहरु आफ्नो थातथलो लत्याउँदै भए सदाका लागि नभए तत्कालिन रुपमा भएपनि बिदेश रोज्न थाले । यो क्रम यति तिव्र छ कि नेपालका धेरै जसो गाउँहरुमा लोग्ने मानिस नै देख्न मुश्किल छ । यसको प्रमुख कारण देशको गलत नीति अर्थात नीति बनाउने राजनीति नै गलत हुनुमा दुईमत हुन सक्दैन ।
परिवर्तनका नाममा हुने सामान्य घटनालाई असामान्य बनाईनु र एउटा समाजको आधारभूत मुल्य र मान्यता बिपरित त्यसको परिणाम देखिनु जटिल बिषय बनेका छन् । हरेक दिनजसो घटिरहेका घटनाहरुमा यस्तै देख्न सकिन्छ । हत्या, हिँसा, बलात्कार, आगजनी, बन्द, हड्ताल जस्ता विषय कुनै पनि समाजका लागि कदापी स्विकार्य हुन सक्दैनन् तर त्यस्ता घटनालाई सामान्य रुपमा लिँदै अपराध र अपराधीकै जीत हुनुले कतै सिँगो नेपाल नै अपराधको चंगुलमा त फस्दैछैन भन्ने तर्फ सोच्न बाध्य बनाएको छ । निर्दोषलाइ दोषी सावित गर्दै अपराध र अपराधीका पक्षमा खुल्लम् खुल्ला बहस हुनु र सभ्य तथा मर्यादित समाजका सारथी मानिने प्रहरी, प्रशासन तथा मानव अधिकार जस्ता निकायहरु मौन बसिदिनु, उल्टै अपराध र अपराधीको अधिकारको पक्षमा निर्णय हुनु अति गम्भिर पक्ष बनेको छ । त्यसैले पारदर्शीता, निश्पक्षा र स्वतन्त्र न्यायिक निकायका रुपमा स्थापित यस्ता निकायहरु कलंक नबनुन् । आफ्नो मुल्य, मान्यता र धर्मलाई निभाउन सकुन् । अनि मात्र यसको विश्वव्यापी मान्यता विश्वभर सुगन्धित भई फैलिरहने छ हैन भने नेपाली राजनीति झै दुर्गन्धित हुनेछ ।
स्वच्छ, भयरहित र मर्यादित समाज निर्माणको अभिभारा सहित जनताको प्रतिनिधित्व गर्न पठाएका कानुन निर्माता अर्थात सभाषदज्यूहरु खुलेआम अपराध र अपराधीको पक्षमा वकालत गरिरहँदा सामान्य नागरिक लाजले भुतुक्कै हुनुपर्ने अवस्था छ ।
टेलिभिजन, पत्रपत्रिका लगायत बिभिन्न सामाजिक संजालहरुमा छाएका तिनका अपराधिका पक्षमा गरिएका वकालतहरु सुनेपछि कोठा बाहिर निस्केर पर पसलसम्म पुग्न सरम लाग्ने भएको छ । अस्वभाविक लाग्ने घटनाहरु क्रमिक रुपमा एकपछि अर्को गरी बाहिर आईरहन थालेपछि लाग्दैछ जो अपराध र अपराधीको पक्षमा वकालत गर्दै समाजमा खुल्लेआम हिँडिरहेका छन्, संविधान जस्तो देशको मुल कानुन निर्माण गर्ने भवनभित्र छाति खोलेर छिरिरहेका छन्, पवित्र मठ, मन्दिर लगायत शुभ कार्यमा स–सम्मान आसन ग्रहण गरिरहेका छन्, औपचारिक अनौपचारिक सभा सम्मेलनमा अतिथि बनेर स्वागत सत्कार प्राप्त गरिरहेका छन् त यी सबैका बाबजुत पनि म किन लल्जित हुनु र कतिन्जेल लज्जित भएर घरभित्रै बस्न सक्नु !
निहत्था र निर्दोष मानिसहरु मारिँदा कहि कतै त्यसको बिरोध हुँदैन, नाबालक मारिँदा त्यहाँ कुनै अधिकारको कुरा उठ्दैन, राज्यको कानुन पालना गर्दा जिउँदै जलाइनेहरुको मानवअधिकार हुँदैन तर जो समाजबाट बहिस्कृत छन्, तिरस्कृत छन् र समग्र समाजका लागि कलंकित हुन् तिनकै मानवअधिकारको बिषयमा चर्चा हुन्छ । सायद लोकलाज हराएको देशमा यस्तै हुँदो होला ।
यो यतिबेला चलिरहेका आन्दोलनको पक्ष विपक्षमा हैन, हिजोदेखि आजको दिनसम्म आइपुग्दा नेपाली समाजमा घटिरहेका घटनाहरुको यथार्थता हो र यसले हाम्रो समाजलाई कतातिर लैजाँदैछ भन्नेकुराको एउटा सानो उदाहरण मात्रै हो ।
(उपाध्याय स्वतन्त्र पत्रकार हुन् ।)














प्रतिक्रिया