३० आश्विन २०८३, शुक्रबार

भन्सार प्रशासनलाई आधुनिकीकरण गर्ने मन्त्री महतको प्रतिबद्धता

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ramsaran-mahatकाठमाडौँ, १० भदौ । मुलुकको आर्थिक उन्नतिका लागि भन्सारको आधुनिकीकरणमार्फत सेवाग्राहीको समय तथा लागत मूल्यलाई सम्मान गर्ने गुणस्तरीय भन्सार सेवा प्रदान गर्नुपर्नेमा जोड दिइएको छ ।

भन्सार विभागको आयोजनामा आजदेखि सुरु गरिएकोे भन्सार व्यवस्थापनसम्बन्धी दुई दिने गोष्ठीमा सहभागी सरकारी तथा निजी क्षेत्रका अगुवाले पूर्वाधार, प्रविधि, दक्ष जनशक्ति र कर्मचारीको आचरणमा सुधार गर्नुपर्नेमा जोड दिएका हुन् ।

मुलुकको समृद्धिका लागि आर्थिक विकास अपरिहार्य भएको बताउँदै उहाँहरुले भन्सार प्रक्रियालाई पारदर्शी र सरलीकृत गर्न सकेमात्र अन्तर्राष्ट्रिय लगानी आउने भएकाले त्यसतर्फ सबैको ध्यान जानुपर्ने बताएका हुन् ।

अर्थमन्त्री डा रामशरण महतले भन्सार प्रशासनलाई निरन्तर आधुनिकीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्दै त्यसका लागि अर्थमन्त्रालयले आर्थिक अभाव हुन नदिने बताउनुभयो ।

उहाँले मन्त्रालयअन्तर्गतका विभागको कार्यक्षमतामा सुधार ल्याउनुपर्नेमा जोड दिनुभयो । प्रविधिको प्रयोगबाटै व्यापार सहजीकरण हुने अर्थमन्त्रीको विश्वास थियो ।

उहाँले गैरकानुनी व्यापार तथा सीमा व्यवस्थापनमा कति योगदान पु¥यायो भन्नेमा नै भन्सार विभागको दक्षता देखिने भएकाले त्यसतर्फ ध्यान पु¥याउन कर्मचारीलाई निर्देशन दिनुभयो ।

भन्सारमा न्यूनबिजकीकरणको समस्या रहेको उल्लेख गर्दै अर्थमन्त्रीले भन्नुभयो, “भन्सार मूल्याङ्कनमा कुनै छुट हुनु हुँदैन, कानुनअनुसार कायम हुनै पर्छ ।”

अर्थसचिव सुमनप्रसाद शर्माले भन्सारमा गरिने व्यवहारले नै त्यस देशको लगानीको अवस्था प्रष्ट हुने भएकाले आचरणमा सुधार ल्याउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, “क्षमता र नैतिकताको अभावका कारण नै अनधिकृत व्यापार तथा न्यूनबिजकीकरणको समस्या देखिएको हो, त्यसलाई सुधार गर्नुपर्छ ।”

राजस्व सचिव राजन खनालले मुलुकको ५० प्रतिशत आन्तरिक स्रोत भन्सार बिन्दुबाट प्राप्त हुने उल्लेख गर्दै भन्सार प्रक्रियामा सुधार र पारदर्शी बनाउनुपर्ने बताउनुभयो ।

उहाँले परिमाण र वर्गीकरणमा ध्यान नपु¥याउँदा मूल्याङ्कनमा समस्या आएको उल्लेख गर्दै त्यस्ता कार्यलाई निरुत्साहित गर्नका लागि कानुनअनुसार कारबाही गरिने स्पष्ट पार्नुभयो ।

कामु महालेखा नियन्त्रक राजेन्द्रप्रसाद नेपालले भन्सार प्रक्रिया सरलीकृत र पारदर्शी बनाउन प्रविधिको प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

भन्सार विभागका महानिर्देशक शिशिरकुमार ढुङ्गानाले प्रणालीगत र संरचनागत सुधारलाई निरन्तरता दिँदै व्यावसायिक दक्षता अभिवृद्धि गर्न विभागले रणनीति बनाएर अघिबढ्ने बताउनुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष पशुपति मुरारकाले भन्सार विभागको आधुनिकीकरणले भन्सारमा हुने गतिविधिलाई पारदर्शी बनाउने बताउनुभयो ।

नेपाल उद्योग परिसङ्घका अध्यक्ष नरेन्द्र बस्न्यातले अनुसन्धान र जाँचपासलाई व्यावहारिक र आधुनिक बनाउन आग्रह गर्नुभयो ।

नेपाल चेम्बर्स अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले व्यापार सहजीकरणमा भन्सारको महत्वपूर्ण भूमिका हुने भएकाले त्यस कार्यकालागि राज्यका सबै निकायबीच समन्वय हुनुपर्ने धारणा राख्नुभयो ।

शुक्रबारसम्म चल्ने उक्त गोष्ठीमा भन्सार प्रशासन, सम्पत्ति शुद्धीकरण, जाँचपाससम्बन्धी विषयमा छलफल हुने जनाइएको छ ।

आजै वैदेशिक व्यापार रणनीति, विभागको रणनीतिक कार्ययोजना तथा भन्सार सेवासम्बन्धी जानकारी दिने मोबाइल एप्स पनि सार्वजनिक गरिएको थियो । रासस