– एनपी प्रधान (भरत)
साउदी अरब । साउदी अरबको पूर्बी क्षेत्र जुबेलमा रहेका प्रवासी नेपालीहरुलाई लक्षित गरेर नेपाली दूतावास साउदी अरबले जुबेल क्षेत्रमा राहदानी (एमआरपी) सहजीकरणको सेवा दिने भएको छ ।
गैर आवासीय नेपाली संघ साउदी अरबको समन्वयमा जुबेल क्षेत्रमा राहदानी सहजीकरणको सेवा दिन लागिएको साउदीका लागी नेपाली कार्यबाहक राजदूत आनन्द शर्माले जानकारी दिए । राहदानी सहजिकरण सेवा पहिलोपटक यही २८ अगस्त शुक्रबारका दिन दिईने र आवश्यकता अनुसार यो सेवालाई निरन्तरता दिईने शर्माले बताए । शिबिरबाट राहदानी आवेदन बुझ्ने, तयारी राहदानी बितरण गर्ने र अन्य आवश्यक सेवा तथा परार्मश प्रदान गरिने दूतावासले जनाएको छ ।
राहदानी सहजीकरण शिबिरका लागी गैर आवासीय नेपाली संघले आफ्नो संस्थाको तर्फबाट स्वयमसेवकहरू खटाई निशुल्क फर्म भर्न सहयोग गर्ने एनआरएन साउदीका अध्यक्ष नारायण पासवान्ले बताए । साउदीको मूख्य औधौगिक क्षेत्रको रुपमा रहेको जुबेल क्षेत्रमा मात्रै करिब एक लाखको हारहारीमा नेपाली कामदारहरु रहेपनि राहदानी सम्बन्धी कामका लागी रियाद वा दमाम पूग्नुपर्ने बाध्यतालाई अन्त्य गर्नका लागी यो सेवा शुरु गर्न लागिएको अध्यक्ष पासवान् बताए ।
जुबैल स्थित अन्नपूर्ण रेष्टुरेण्ट बाट प्रदान गरिने उक्त सेवाका लागी रेष्टुरेण्टका सञ्चालक श्री लिम्बुले निशुल्क रुपमा सेवा कक्ष उपलब्ध गराउने बताईएको छ । ५ लाख भन्दा बढी नेपाली कामदार रहेको साउदी अरबको राजधानी रियादमा नेपाली दुतावास रहेको छ भने अर्को शहर जेद्धमा महाबाणिज्य दुतावास रहेको छ । यस्तै दुतावासले अर्को शहर दमाम बाट हरेक साताको दुई दिन शुक्रबार र शनिबार राहदानी सम्बन्धी सेवा दिदै आएको छ । यसअघि पनि जुबेलबाट राहदानी सहजीकरणको सेवा दिदै आएको दुतावासले बिबिध समस्या देखाउंदै केही समययता देखि सो सेवा बन्द गरेको थियो ।
आउँदो वर्ष २४ नोभेम्बर २०१५ देखि हस्तलिखित राहदानीलाई मान्यता नदिइने भएकाले पनि राहदानीको सट्टा मेशीनले पढ्न मिल्ने नयाँ राहदानी (एमआरपी) बनाउनेको संख्या बढिरहेको छ ।















प्रतिक्रिया