२९ आश्विन २०८३, बिहिबार

कैलाली घटना दोहोरिन नदिन के गर्ने ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Tsewang-Sherpalama

पहिचान सबैलाई प्यारो हुन्छ, बहु–पहिचान व्यवस्थामा राष्ट्र पनि न्यानो हुन्छ । जनावरलाई पनि आफ्नो पहिचान प्यारो हुन्छ । त्यसैले भेडा भेडाकै बथानमा, कुकुर-कुकुरकै बथानमा र स्यालहरु स्यालकै हुलमा रमाएका हुन्छन । मानिसलाई आफ्नो पहिचान भन्ने घमण्ड यति प्यारो हुन्छ, आफ्नो पहिचानको घमण्ड संरक्षणको निमित्त मान्छेले मान्छेकै घाँटी रेटेका छ्न । अझ नेपालीहरुको सम्बन्धमा भन्नुपर्दा आफ्नो पहिचानको इतिहास जति तितो, नमिठो र घृणित भएपनि त्यस्तो पहिचानलाई समेत गर्वका साथ निरन्तरता दिएर रमाएका छन । जस्तै जबरा भन्ने पहिचान नेपालको इतिहासमा सबैभन्दा घृणित पहिचान–शब्द भएतापनि जबरा आफ्नो पहिचानमा गर्व गर्ने नेपालीहरु नेपालमा थुप्रै छन् । पहिचानको घमण्ड भनेको एउटा नशा हो । ज्ञानी, बुद्धिजिबी, शिक्षित, प्रजातान्त्रिक मानिसहरु पनि आफ्नो पहिचानमा रक्सिएका हुन्छन । त्यसैले यो दुनियाँमा एकल–दुई मानव समुह बाहेक सबैले आफ्नो बालबच्चाको पहिचान समेत पिताकै पहिचानमा सुरक्षा र विकास गरिरहेका छन, जब कि बालबच्चाको सक्कली पिता को हुन् ? त्यो बच्चाको आमालाई मात्र थाहा हुन्छ ।

सन्दर्भ रहेको छ, नेपालमा पहिचानसहितको स्वायता प्रदेश निर्माण गर्दा नेपाल र नेपालीहरुको फलिफाप हुन्छ कि, सर्बनाश हुन्छ ? यो प्रश्नको सहि जवाफ के हुन्छ, प्रश्न कसलाई सोधिन्छ र जवाफ कसले दिन्छन । नेपालीले नेपालीलाई यो प्रश्न सोधे जवाफ विविध हुन्छन । क्यानाडा, स्विजरल्याण्ड र बेल्जियम जस्ता मुलुकहरुलाई यहि प्रश्न सोधे उनीहरुले भन्नेछन- ‘पहिचान सहितको स्वायता प्रदेश निर्माण गर्दा नेपाल र नेपालीहरुको फलिफाप हुन्छ ।’ अफ्रिका र पुर्बी–युरोप जस्ता मुलुकहरुलाई यहि प्रश्न सोधे उनीहरुले भन्नेछन् – ‘पहिचानसहितको स्वायता प्रदेश निर्माण गर्दा नेपाल र नेपालीहरुको सर्बनाश हुनेछन ।’ पहिचानसहितको स्वायता प्रदेश निर्माण गर्दा राष्ट्र भक्ति, सुरक्षा, बिकास, नागरिक एकता र शान्ति बलियो हुन्छ या बिथोलिन्छ ? त्यो त कस्तो स्वरुप (Model) को पहिचानसहितको स्वायता प्रदेश निर्माण गरिन्छ त्यसमा भर पर्दछ । अस्ट्रेलिया, बेल्जियम, क्यानडा, भारत, जर्मनी, मलेसिया, नाइजेरिया, इथोपिया, स्विजरल्याण्ड र अमेरिकामा समेत बेग्लाबेग्लै स्वरुप (Model) को पहिचानसहितको स्वायता प्रदेश व्यवस्थाहरु स्थापना गरिएका छन । यी माथिका कुनै राष्ट्रहरुमा पहिचानसहितको स्वायता प्रदेश व्यवस्था स्थापनाले फलिफाप भएका छन भने कुनै राष्ट्रमा अभिशाप पनि भएको छ ।

अब नेपालमा अहिले नभए भोलिका दिनहरुमा पहिचानसहितको स्वायत्त प्रदेश स्थापना हुने नै छ, बिकल्प नै छैन । फरक यति मात्रै रहने छ अशान्ति निम्त्याएर शान्तिको लागि सहमति गर्ने कि ? अथवा मुलुक रक्तपातमा डुबाएर राष्ट्रिय एकता आह्वानमा सहकार्य पहिचानसहितको स्वायत प्रदेश नेपाल घोषणा गर्ने ? कैलालीको टिकापुरका जस्ता घटनाहरु भोलिका दिनमा पनि दोहोरिन नदिन हामी सबै बेलैमा सचेत हुन जरुरी छ ।

(Quasi Federalism Model) स्वरुप (Model) को पहिचानसहितको स्वायता प्रदेश व्यवस्थाले नागरिक र राष्ट्र दुवैलाई हानी गरेका छन । यस्ता राष्ट्रहरुमा केन्द्र र प्रदेशहरुमा राज्य शक्ति बाँडिएका त छन, तर राज्य शक्ति बाँडफाँड भने संबैधानिक रहेको छैन । तसर्थ, केन्द्रिय शासकहरुले आफ्नो शासन प्रणालीमा चुनौती र शासकीय मनोरञ्जनमा आँच आउनसाथ कुनै पनि बेला यस्तो स्वरुपको पहिचानसहितको स्वायता प्रदेश व्यवस्था बदर गर्न सक्छ । प्रजातन्त्रविदहरु भन्छन-‘चाईनाको पहिचानसहितको स्वायता प्रदेश व्यवस्था नमुनालाई (Quasi Federalism Model) भनिन्छ । (Centralized federalism) केन्द्रिय सरकारले राष्ट्रिय नीति नियम बनाउने र स्थानीय प्रदेशहरुले ती केन्द्रिय नीति नियमहरु लागू कार्यान्वयन गर्ने खालको जातीय पहिचान सहितको स्वायता प्रदेश व्यवस्थाले त्यो समयका शक्तिशाली राष्ट्रहरु समेतको सीमाना साघुरिएर गइरहेका छन, जस्तै उ बेलाको ग्रेट ब्रिटेन अब सानो इंगल्याण्ड मात्रै भैसकेको छ ।

ईथोपिया र नाइजेरियामा (Decentralization Federalism) जसमा राष्ट्रिय शासन शक्ति विकेन्द्रित गर्न मुलुकमा बेग्लाबेग्लै जातीय बसोबास सीमाना, जातीय अधिकार र राष्ट्रप्रति बेग्लाबेग्लै जातीय कर्तब्य व्यवस्था गरेर जातीय पहिचानसहितको स्वायता प्रदेश व्यवस्था गरेर राष्ट्रको लागि फलदायक प्रमाणित भएको छैन, मात्र अशान्ति र गरिबी जन्माएको छ । राष्ट्रिय विकासमा (Symmetric federalism) जहाँ हरेक प्रदेशहरुलाई राष्ट्रिय नीति निर्माणमा बरोबरी अधिकार रहेको हुन्छ त्यस्तो व्यवस्थाले (Asymmetric federalism) भन्दा बढी उपलब्धी गरेको देखिन्छ । (Symmetric federalism) मा प्रदेशको सीमाना सानो भएपनि राष्ट्रिय नीति निर्माणमा प्रतिनिधित्व अधिकार समान हुने कारणले सानो प्रदेशहरुमा सौता–प्रदेशको अनुभूति हुँदैन । हिसाबमा बढी प्रयोग हुने (Symmetric) भन्ने शब्द व्यवहारमा पूर्णरुपमा राजनीतिमा कार्यान्वयन नदेखिएता पनि उदाहरणको निमित्त संयुक्त राज्य अमेरिकाको राज्य व्यवस्थालाई (Symmetric federalism) मानिन्छ, जबकी भारतको राज्य व्यवस्थालाई (Asymmetric federalism) मानिन्छ ।

जुन राष्ट्रहरुमा पहिचानसहितको स्वायता प्रदेश व्यवस्थाले राष्ट्रलाई फलिफाप गरेका छन्, ती राष्ट्रहरुमा (Cooperative federalism) व्यवस्था रहेका छन् । (Cooperative federalism) अर्थात नेपाली बोलीचालीको भाषामा भन्नुपर्दा ‘सहकार्य पहिचानसहितको स्वायता प्रदेशले राष्ट्रमा बहुजातीय संस्कृति, बहुजातीय भाषा र बहुजातीय धर्महरुको विकास र सम्बद्र्धन गरेका छन र नागरिक एकता, राष्ट्र भक्ति र शान्ति स्थपना गरेका छन । (Cooperative federalism) अर्थात सहकारी पहिचानसहितको स्वायता प्रदेश व्यवस्थामा बहुजातिको प्रतिनिधित्व समावेशी बहुबिचार, बहु सल्लाह–रायको बहु–सहमतिमा मार्ग रेखामा हरेक प्रदेशहरुले संगठित र सहकार्य रुपमा राष्ट्र सुरक्षा र विकास प्राथमिकता रहेको प्रदेशिक र राष्ट्रिय नीति बनाउन सकिन्छ । राष्ट्रिय सीमाना सार्वभौम सुरक्षाको प्राथमिक मार्ग रेखामा स्थापना भएको प्रजातान्त्रिक र संबैधानिक पहिचानसहितको स्वायत प्रदेश व्यवस्थाले स्थापित गरेको बहुधार्मिक, बहुभाषिक बहुजातीय नागरिकहरुमा संगठित राष्ट्रभक्ति जागरण हुनेछ । जुनजुन मुलुकमा पहिचानसहितको स्वायत प्रदेश स्थापनाले राष्ट्रलाई फाईदा गरेको छ, ती राष्ट्रका बहुजाति नागरिकहरुको संस्कृति, भाषा र धर्महरुको बिकास भएको छ, जसले गर्दा त्यहाँका बहुजातीय नागरिकहरुमा केन्द्रिय सरकारप्रति विश्वास र केन्द्रिय सरकारले बनाएका नियम, कानुन र राष्ट्रिय विकासका नीतिहरु बढी सकारात्मक स्वीकार्य र समर्थन रहेको पाइन्छ । (Cooperative federalism) अर्थात सहकार्य पहिचानसहितको स्वायत प्रदेश व्यवस्था सफल हुन राष्ट्रको संबिधानमा स्वायत प्रदेश संचालनको संबैधानिक व्यवस्था रहेको हुनुपर्दछ ।

पहिचानसहितको स्वयत्त प्रदेश भनेको अब नेपालमा हरेक जातजातिहरु एक–एक प्रदेशमा बसोबास गर्नुपर्दछ भन्ने हैन । पहिचानसहितको स्वायत्त प्रदेश भनेको अब नेपालमा हरेक जातजातिको आफ्नै सरकार र आफ्नै संबिधान, आफ्नै प्रदेश सुरक्षा सैनिक हुन्छ भन्ने हैन । पहिचान सहितको स्वायत्त प्रदेश भनेको हरेक जातजातिको संस्कृति, भाषा र धर्म सुरक्षा, बिकास आफ्नै जातजातिगत अधिकार होस् र आफ्नै जातजातिगत कर्तब्य होस् भन्ने ब्यवस्था हो ।

पहिचान सहितको स्वायत्त प्रदेश भनेको अब नेपालमा हरेक जातजातीय प्रदेशको बिकासको राष्ट्रिय नीति निर्माणमा हरेक प्रदेशको सहभागिता रहोस, केन्द्रिय सरकारको मात्र मनपरी तन्त्र हटाउनुपर्दछ भन्ने हो । पहिचानसहितको स्वायत्त प्रदेश भनेको जनजातिहरुले बाहुन–क्षेत्रीहरुको भाषा, सामाजिक संस्कृति र हिन्दु धर्मको इज्जत गरौँ र बाहुन–क्षेत्रीहरुले पनि जनजातिहरुको भाषा, सामाजिक संस्कृति र धर्महरुको इज्जत गरियोस भनेको हो । पहिचानसहितको स्वयत्त प्रदेश भनेको सबै जातजातिका समाजहरु नेपाली नागरिक समाज हुन् र राष्ट्रको राज्य संचालन व्यवस्था संबैधानिक रुपमा समान हुनुपर्दछ भनेको हो । ताकि एउटा नेपाली समाजले अर्को नेपाली समाजमा सहकार्य मनस्थिति र व्यवहार राख्दै, सबै नेपालीको लागि एउटा सुन्दर, शान्त र विकासित नेपाल निर्माण गरौँ भनेको हो ।

पहिचानसहितको स्वायत प्रदेश व्यवस्थाको माग अहिले नेपालमा मात्र सीमित रहेको छैन । गरिब, धनी, अविकसित र विकसित राष्ट्रहरुमा, एसिया, युरोप, अफ्रिका र अमेरिका सबैतिर पहिचानसहितको स्वायत प्रदेश व्यवस्थाको माग दिन-प्रतिदिन बुलन्द हुँदै गइरहेको छ । अत्याधिक राष्ट्रहरुमा कुनै न कुनै स्वरुपको पहिचानसहितको स्वायत प्रदेश व्यवस्थाहरु स्थापना पनि भइसकेका छन । अब नेपालमा पहिचानसहितको स्वायत्त प्रदेशको माग र संघर्षलाई २/४ सरकार फेर्दै केहि समयको लागि तन्काएर राख्न त सक्ला तर रोक्न सकिंदैन । अब नेपालमा अहिले नभए भोलिका दिनहरुमा पहिचानसहितको स्वायता प्रदेश स्थापना हुने नै छ, बिकल्प नै छैन । फरक यति मात्रै रहने छ अशान्ति निम्त्याएर शान्तिको लागि सहमति गर्ने कि ? अथवा मुलुक रक्तपातमा डुबाएर राष्ट्रिय एकता आह्वानमा सहकार्य पहिचानसहितको स्वायत प्रदेश नेपाल घोषणा गर्ने ? यसबारे नेपालमा आजका केन्द्रिय सत्ताधारीहरुले बेलैमा सोच्नुपर्ने छ । भोलीका दिनहरुमा आफ्नै सन्तानहरुको सुख, शान्ति र समृद्धिको निम्ति । भनिन्छ, अन्य जनावरहरुको पहिचान मेटाउने क्रममा अथवा भनौ अन्य जनावरहरुको पहिचान विकास अवरोधमा सृष्टिकै सबै भन्दा ठूलो, शक्तिशाली, भयानक र चतुर मानिएका जनावर महाकालहरुको (Dinosaurs) ब्रिस्थी भएको थियो र तीनैका सन्तानहरु आज छेपारको जिन्दगी बिताई रहेका छन । कैलालीको टिकापुरका जस्ता घटनाहरु भोलिका दिनमा पनि दोहोरिन नदिन हामी सबै बेलैमा सचेत हुन जरुरी छ ।