काठमाडौं, ८ भदौ । कैलालीको टीकापुरमा भएको हिंसात्मक घटनामा मारिएका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) लक्ष्मण न्यौपानेको दाहसंस्कार गरिएको छ ।
न्यौपानेको मंगलबार पशुपति आर्यघाटमा प्रहरी सम्मानसहित दाहसंस्कार गरिएको हो । थरुहट राज्यको माग राख्दै भएको आन्दोलनका क्रममा थरुहट कार्यकर्ताको एक समूहले मनुवा गाबिस–६ मा एक्कासी आक्रमण गर्दा सोमबार एसएसपी न्यौपानेको मृत्यु भएको थियो ।
उपप्रधान मन्त्री तथा गृहमन्त्री बामदेव गौतम, पूर्व गृहमन्त्रीहरु, कायममुकायम प्रधान सेनापति राजेन्द्र क्षेत्री, गृहसचिव सूर्यप्रसाद सिलवाल, प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल, सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्त, प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु लगायत बरिष्ठ प्रहरी अधिकृतहरु आर्यघाट पुगी स्व. न्यौपानेको पार्थिव शरीरमा फुलगुच्छा चढाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका थिए ।
सशस्त्र प्रहरी बलका उच्च पदस्थ अधिकारीहरु, नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरु, अन्य प्रहरी कर्मचारीहरु, मृतकका परिवार एवं आफन्तजनले समेत न्यौपानेको पार्थिव शरीरमा फुलमाला चढाई श्रद्धाञ्जली अर्पण गरे ।
मृतक न्यौपानेको सम्मानमा नेपाल प्रहरीको एक टुकडीले शोक सलामी, सम्मान सलामी र अन्तिम सलामी अर्पण गरेको थियो ।























प्रतिक्रिया