२१ कार्तिक २०८३, शनिबार

शीर्ष नेताहरू भन्छन्, ‘त्यो दुई वर्षीय अबोध बालकको के गल्ती थियो ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kailali-children-deathकाठमाडौं, ८ भदौ । प्रमुख चार राजनीतिक दलहरूले कैलाली जिल्लाको टीकापुरमा सोमबार भएको हिंसात्मक आक्रमणको निन्दा एवम् भर्त्सना गर्दै आपराधिक कार्यको संज्ञा दिएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको कांग्रेस, एमाले, एकीकृत माओवादी र मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका शीर्ष नेताहरूको बैठकले दुई वर्षीय बालक र प्रहरी कर्मचारीको ज्यान लिने कार्यमा संलग्न दोषीहरूलाई कारबाहीको माग गरेको हो ।

बैठकमा गृहमन्त्री बामदेव गौतमले टीकापुरसहित विभिन्न जिल्लामा भएका आन्दोलन र हिंसाका विषयमा जानकारी गराउनुभएको थियो ।

बैठकपछि पत्रकारसँग कुरागर्दै एमालेका उपाध्यक्ष भीम रावलले टीकापुरमा दुई वर्षीय बालकलाई गोली हानेर हत्या गर्ने, निषेधित क्षेत्र तोड्न खोज्दा आन्दोलनकारीलाई सम्झाइ–बुझाइ गर्ने प्रहरी उच्च अधिकारीलाई पेट्रोल छर्केर हत्या गर्नेलाई कानुनको दायरमा ल्याउने सहमति भएको बताउनुभयो ।

‘घरमा बसेको दुई वर्षीय बालकलाई घरभित्रै प्रवेश गरेर गोली हानी हत्या गर्ने कार्य कदापि राजनीतिक विषय हुनसक्दैन’, रावलले भन्नुभयो, ‘कानुन र शान्ति सुरक्षा बनाउन बसेका सुरक्षा निकायलाई घेराहाली आक्रमण गर्नेले छुटकारा पाउनु हुँदैन । घटनाको छानविन गरेर दोषीलाई कारबाही गर्ने सहमति भएको छ ।’

‘टीकापुरमा २ वर्ष ६ महिनाको बालकलाई गोली हानियो । प्रहरीलाई हत्या गर्ने कार्य राजनीतिक होइन’, उहाँले अगाडि भन्नुभयो, ‘त्यो अबोध बालकको के गल्ती थियो ?’ शीर्ष बैठकमा टीकापुरमा भएको हिंसात्मक प्रदर्शन र हत्या एवम् भावी रणनीतिका विषयमा छलफल भएको थियो ।

बैठकले संविधान छिटाभन्दा छिटो ल्याउने सहमति गर्दै बाधा अबरोध भए त्यसको सामना गर्ने सहमति नि गरेको छ ।

‘राजनीतिक विषयको सम्बोधन राजनीतिक सम्वाद र सहमतिबाट हुन्छ’, रावलले भन्नुभयो, ‘हतियार ल्याएर आएर सुरक्षा निकाय र सरकारी कार्यालयमा आक्रमण गरेर माग पूरा हुँदैन ।’ उहाँले भन्नुभयो, ‘आन्दोलनकारीलाई सम्झाउँदा–बुझाउँदा प्रहरीमाथि पेट्रोल छर्केर आगो लगाई हत्या गर्ने काम आपराधीकार्य हो ।’

एमाले उपाध्यक्ष रावलले अधिकारको बहानामा उत्तेजनामा आएर कसैको आड वा उक्साहटमा निर्दोश मान्छेमाथि आक्रमण गर्ने राजनीतिक कुरा नहुने बताउनुभयो । ‘आन्दोलनमा आउन नमान्नेलाई पैसा तिर्नुपर्ने धम्की दिएर ल्याउने कार्य अत्यन्तै निन्दनीय रहेको निर्णय शीर्ष बैठकले गरेको छ’, उहाँले बताउनुभयो ।

एकीकृत माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले टीकापुर घटनाका विषयमा गृहमन्त्री शीर्ष नेताहरूलाई जानकारी दिएको बताउनुभयो । ‘सरकारले कानुनी शासन बनाइराख्न गर्नुपर्ने सबै काम गर्नुपर्छ’, उहाँले भननुभयो, ‘संविधान निर्माणको कार्यलाई पनि छिटोभन्दा छिटो सहमतिमा अगाडि बढाउने र विभिन्न समूह र समुदायबाट उठेका मागलाई सम्बोधन गर्ने सहमति भएको छ ।’

बैठकमा प्रधानमन्त्रीसमेत रहनुभएका कांग्रेस सभापति सुशील कोइराला, एमालेका अध्यक्ष केपी ओली, एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदार तथा ती दलका दोस्रो तहका नेताहरूको सहभागिता रहेको थियो । शीर्ष नेताहरूको बैठकफेरि आजै बेलुका बस्ने भएको छ ।