काठमाडौँ, ८ भदौ । कैलालीको टिकापुरमा सोमबार भएको घटनाको विभिन्न दलका नेताहरुले कडा शब्दमा निन्दा गरेका छन् । नेपाली काँग्रेस तथा नेकपा एमालेका नेताहरुले प्रेस विज्ञप्ति तथा सामाजिक सञ्जालमार्फत घटनाको निन्दा गरेका हुन् । कैलालीमा सुरक्षाकर्मीलाई जिउँदै जलाइएको घटना मानवताविरोधी अपराध भएको नेताहरुको प्रतिक्रिया छ, यस्तो छ सामाजिक सञ्जालमा नेताहरुको प्रतिक्रिया:
योगेश भट्टराई :
टिकापुर घटना मानब सभ्यतामाथि कै आक्रमण हो । कुनै पनि नेपालीले यो तहको हर्कत गर्नै सक्दैन । आखिर कस्ले दीरहेको छ यस्तो आतताई शिक्षा ? सम्सद बाटै युद्धको घोसणा हुन्छ र पनि चुप ? कस्को बलमा पार्टीको सामान्य मर्यादा पनि भुलेर देशमा गृह युद्ध मच्चाउने धम्कि दिन्छन ठूला भनिएकै पार्टिका साम्सद र त्यस्मा किन मौन बस्छ नेतृत्व ? देशमा भयङ्कर षड्यन्त्र भैरहेको छ । सबैले होसियारीपुर्बक सतर्कताकसाथ र दृढ भएर अघि बढ्नुको विकल्प छैन । आज टीकापुरमा हत्या गरिएका बीर सुरक्षाकर्मी लगायत सबै मृतकप्रति हार्दिक श्रद्धान्जली । यो हाम्रो आफ्नै समस्या हो सम्बादका माध्यमबाट आफै हल गरौ । जब अरुले हातहाल्न थाल्छ अनि हामीले आफनै माटो, आफनै पहिचान र आफनै सार्बभौमिकता गुमाउनु पर्ने अवस्था आउन सक्छ । समय बितेपछी पछुतौनुको कुनै अर्थ रहने छैन ।
शंकर पोखरेल :
कैलाली घटना मानवता विरुद्धको जघन्य अपराध हो । शान्तिपृय थारु समुदायलाई ढाल वनाएर हिंसा भड्काउन नियोजित षडयन्त्र । सामाजिक सद्भाव कायम गरौ ।
रामकुमारी झाँक्री:
कैलालीको टिकापुर घटना शभ्य समाजको कलंक हो । यो दिनलाई निम्ताउन केही एजेन्टहरूले सड़क /संसदमा खुलेआम चुनौती दिदै बोलेका थिए । प्रहरीमा माथि भएको आततायी आक्रमण को जति निन्दा गरे पनि पुग्दैन ।नेपालको राष्ट्रिय झण्डा जलाउने, सरकारी कार्यालय जलाउने र राष्ट्रसेबक प्रहरी कर्मचारीमाथि धारिला हतियारले जंगली शैलीमा आक्रमण गर्ने काम नेपालीले त गर्नै सक्दैन । यसका एजेण्टहरूलाई तुरून्तै कारबाही गर सरकार, जसले मर्न र मार्नको लागि ५० लाख ईनाम तोकेका थिए । सड़क/संसदमा बोलेर यसो गर्न उस्काई रहेका थिएँ ।
बिचार गरौ अब संघीयताबारे जाऊँ जनमतसंग्रहमा ।
घटनामा सहादत हुनुहुने सबै, सबै नेपाल प्रहरी र शस्त्र प्रहरी वलका अधिकृत/जवान सबैप्रति हार्दिक श्रदान्जली/ परिबारजनमा गहिरो समबेदना ।
सभासद रुक्मिणी चौधरी
थरुहट मञ्चकातर्फबाट सोमबार विज्ञप्ति जारी गरेर सभासद रुक्मिणी चौधरीले स्थानीय प्रशासनले आन्दोलनकारीमाथि बल प्रयोग गरी दमन गरेपछि घटनाले असामान्य परिस्थितिको मोड लिएको बताउनुभएको छ ।
‘शान्तिपूर्ण आन्दोलनमाथि स्थानीय प्रशासनले गरेको दमनको परिणाम सुरक्षाकर्मी र आन्दोलनकारी दुबैतर्फ ठूलो हताहत भएकोले त्यसको सबै जिम्मेवारी स्थानीय प्रशासनले लिनुपर्छ’, चौधरीले भन्नुभएको छ, ‘घटना घटिसकेपछि पनि स्थानीय प्रशासनले सुरक्षाकर्मी परिचालन गरी स्थानीय सर्वसधारणलाई खोजीखोजी बर्बरतापूर्वक मानवअधिकार विरोधी काम गरिहेको छ । यस्ता कार्य रोकिनु पर्छ ।’
उहाँले घटनालाई संयमित बनाउन सबैमा अपील पनि गर्नुभएको छ । ‘स्थानीय प्रशासन राजनीतिक दलका नेता नागरिक समाज वुद्धिजीवी तथा थारु अगुवा समेतको छलफलमा घटनालाई साम्य पार्न आग्रह गर्दछु’, सभासद चौधरीले भन्नुभएको छ ।
शेरबहादुर देउवा
नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले कैलालीको टीकापुरमा भएको घटनाले सामाजिक सदभाव बिथोल्ने प्रयास भएको भन्दै थारू अगुवा प्रतिनिधि र राजनीतिक दलहरूबीच भएको सदभाव फैलाउने निर्णयअनुरूप मेलमिलापको वातावरण बनाउन र संयमित रहन थारू–पहाडी समुदायलगायत सबैसँग आग्रह गर्नुभएको छ ।
पूर्व प्रधानमन्त्रीसमेत रहनुभएको देउवाले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान निर्माणको अन्तिम समयमा जुटिरहेका बेलामा बिभिन्न क्षेत्र तथा समुदायबाट आ–आफ्ना मागहरू राख्नु र सन्तुष्टि तथा असन्तुष्टिका स्वरहरु मुखारित हुनु लोकतन्त्रमा स्वभाविक हुने बताउनुभएको छ ।
कैलालीको टीकापुरमा आज भएको घटनापछि विज्ञप्ति जारी गर्दै देउवाले आफ्ना माग राख्ने र दबाब सृजना गर्ने क्रममा सुरक्षा निकायमाथि भएको आक्रमणलाई बर्बर आक्रमणको संज्ञा दिनुभएको छ । उहाँले सो घटनाबाट आफू स्तब्ध भएको बताउनुभएको छ ।
उहाँले विज्ञप्तिमा जिल्ला प्रशासन कार्यालयमा थारु समुदायका अगुवाहरू र राजनीतिक दलका नेताहरूकाबीच मेलमिलाप र सदभाव बढाउने निर्णय भएको स्मरण गराउँदै आज अचानक आन्दोलनमा घुसपैठ भएका व्यक्तिहरूबाट राष्ट्र सेवक प्रहरीलाई जिउँदै जलाउने जस्तो अमानवीय र जघन्य अपराध भएको बताउनुभएको छ । उहाँले सो घटनाको भत्र्सनासमेत गर्नुभएको छ ।
कांग्रेस बरिष्ठ नेता देउवाले वर्षौदेखि मिलेर बसेको थारू समुदाय एवं पहाडी समुदायबीचमा दुस्मनी बढाउने र फाटो ल्याउने नियोजित षड्यन्त्र घृणित, निन्दनीय र आतंकवादी चरित्र भएको भन्दै भातृत्व, सदभाव र मेलमिलापमा फाटो ल्याउने षड्यन्त्रअनुरुप भएको र हुने यस खाले घटनालाई निस्तेज पार्न पनि सबैमा आग्रह गर्नुभएको छ ।
देउवाले विज्ञप्तिमा भन्नुभएको छ, ‘थारूका अगुवा प्रतिनिधि र राजनीतिक दलहरूबीच भएको सदभाव फैलाउने निर्णय अनुरूप मेलमिलापको वातावरण बनाउन र संयमित रहन थारू–पहाडी समुदायलगायत सबैसँग म हार्दिक अपील गर्दछु । साथै, घटनामा सहादत प्राप्त गर्ने सुरक्षाकर्मी आम नागरिकप्रति हार्दिक श्रद्धाञ्जलि एवं शोक संतप्त परिवारप्रति समवेदना व्यक्त गर्दछु ।’
डा. बाबुराम भट्टराई
एकीकृत नेकपा माओवादीका वरिष्ठ उपाध्यक्ष तथा राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा. बाबुराम भट्टराईले तराईमा सेना परिचालन गर्ने निर्णयको विरोध गरेका छन् ।
कैलालीको टीकापुरमा प्रहरी र थरुहटबीच भीडन्त हुँदा २० जना प्रहरी मारिएपछि सरकारले सेना परिचालनको निर्णय गरेको छ । उक्त निर्णयको विरोध गर्दै नेता भट्टराईले सामाजिक सञ्जाल ट्विटरमा स्टाटस लेख्दै टीकापुर घटनाको गम्भिर्यता बुझौं, विवेक अपनाएर निर्णय गरौंं भन्दै सेना परिचालनको निर्णयका विरुद्ध बोलेका छन् ।
उनले समस्याको समाधान फैजी हैन राजनीतिक तवरबाट खोजौं भनेका छन् ।
सभासद रामजनम चौधरी
मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका महासचिव एवं सभासद रामजनम चौधरीले प्रहरीले गोली चलाएपछि कैलालीमा दोहोरो भीडन्त भएको बताएका छन् ।
कैलालीको टीकापुरमा सुरक्षाकर्मी र थरुहट आन्दोलनकारीबीच सोमबार दिउँसो भएको हिंसात्मक झडपमा घरेलु हतियारसहित प्रदर्शनमा उत्रिएका आन्दोलनकारीको आक्रमणमा परी एसएसपी सहितका सुरक्षाकर्मी मारिएपछि प्रतिक्रिया दिँदै सभासद चौधरीले प्रहरीले गोली चलाएपछि थारु आन्दोलनकारीहरुले प्रतिकार गरेको बताए ।
‘प्रहरीले गोली चलाएपछि हामीले परिस्थितिलाई थेक्न सकेनौँ, थारु आन्दोलनकारीहरु रिसाए, त्यसपछि कसैले सम्हाल्न सक्ने अबस्था रहेन’- घटनाबारे जानकारी दिँदै उनले भने- ‘थरुहट संघर्ष समितिले सरकारी कार्यालयमा थरुहट स्वायक्त प्रदेश लेख्न थारु समुदायका झण्डै ८/१० हजारको संख्यामा आन्दोलनकारी टीकापुरतर्फ अघि बढ्दा प्रहरीले रोक्यो, सुरक्षाकर्मीलाई धकेल्दै अघि बढेका आन्दोलनकारी पशु हाटमा पुगेपछि प्रहरीले गोली चलाए, त्यसपछि आन्दोलनकारी रिसाएर प्रहरीमाथि जाइलागेका हुन् ।’
केपी शर्मा ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कैलालीमा प्रहरीमाथि भएको आक्रमण घुसपैठिया अपराधीहरुले गरेको बताउनुभएको छ ।
कैलालीको टीकापुरमा भएको हिंसात्मक भीडन्तको सम्बन्धमा बोल्दै उहाँले घटना थारुहरुले होइन् घुसपैठिया अपराधीहरूले गरेको बताउनुभयो ।
थारुहरू यसरी हिंसात्मक कार्यमा नलाग्ने भन्दै उहाँले एसएलआर हतियारसहित आएका अपराधीहरूले प्रहरीको हत्या गरेको दाबी गर्नुभयो । उनीहरूलाई पहिचान गरेर सरकारले कडा कारबाही गर्नुपर्ने धारणा राख्नुभयो ।
शान्तिपूर्ण आन्दोलनमा घुसपैठ गरेर प्रहरीमाथि गरिएको आक्रमणलाई सामान्यरुपमा लिन नसकिने अध्यक्ष ओलीले बताउनुभयो । उहाँले भन्नुभयो– ‘यो षड्यन्त्र हो, आतंक हो । राजनीतिका नाममा कसैले अपराध गर्छ भने त्यो क्षम्य हुँदैन ।’













प्रतिक्रिया