धनगढी, ७ भदौ । कैलालीको टीकापुरमा सोमबार दिउँसो भएको प्रहरी र थारु आन्दोलनकारीबीच भएको भिडन्तमा ठूलो घुसपैठ भएको दाबी गरिएको छ ।

नेकपा एमाले कैलाली जिल्ला अध्यक्ष दीर्घ सोराडीले आन्दोलनमा घुसपैठ भएको दाबी गरेका हुन् । ‘पारी (भारत) बाट हतियारसहित युवाहरुको ठूलो समुह नेपाल आएको भन्ने खबर टीकापुरका साथीले दिएका छन्,’ उनले भने-‘आन्दोलनमा घुसपैठ भएकै हो, बाँके, बर्दियाका अपराधिक पृष्ठभूमिका व्यक्तिहरु पनि घटनामा संलग्न थिए ।’ थारु समुदायका मानिसहरुले मात्रै यस्तो आक्रमण गर्न नसक्ने उनको दाबी छ ।
एमाले कैलालीका अध्यक्ष सोराडीले केही दिन अघि टीकापुरमा भएको आमसभामा थारुहरुलाई उस्काउने मधेसी नेताहरु नै यो घटनाको जिम्मेवार भएको बताए । ‘सद्भाव भड्काउने गरी कांग्रेसका अमरेशकुमार सिंहले पहाडी, पुलिस प्रशासन केही चाँहिदैन् भनेका थिए । आज ठीक त्यही भनाई अनुसार प्रहरीमाथि सुनियोजित आक्रमण भयो,’ उनले भने-‘प्रहरीमाथि भएको संघातिक आक्रमण अपराधिक गतिविधीको पराकाष्ठा हो ।’
टीकापुरका स्थानीय बासिन्दा रामबहादुर साउदले बताएअनुसार भारतीय सीमाक्षेत्रबाट घरेलु हतियारसहितका युवाहरु नेपालतिर आएका थिए । तीनै युवाहरुलाई घुसपैठ गराई सुनियोजित रुपमा आन्दोलनलाई हिंसात्मक बनाइएको हो ।
आन्दोलनमा भाला, बञ्चरो लगायतमा हतियार बोकेका पचासौँ जना सीमापारिबाट युवाहरु आउँदै गरेको देखेको नेपाल र भारत सीमा क्षेत्र खकरौलाका स्थानीय बासिन्दा रहेका साउदले बताएका छन् । उनका अनुसार सोमबार एकाविहानै यसरी युवाहरु हतियार बोकी नेपाल प्रवेश गरेका थिए ।













प्रतिक्रिया