२१ कार्तिक २०८३, शनिबार

अपडेटः कैलालीमा मृतकको संख्या २० पुग्यो, एसएसपी न्यौपानेलाई जलाएर मारिएको खुलासा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kailali-jhadap

धनगढी, ७ भदौ । कैलालीको टिकापुरमा प्रहरी र आन्दोलनकारीबीच भएको दोहोरो भिडन्तमा परी नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) लक्ष्मण न्यौपानेलाई जिउँदै जलाएर हत्या गरिएको खुलासा भएको छ ।

घरेलु हतियारसहित आएका प्रदर्शनकारीले एसएसपी न्यौपानेलाई घेरा हाली हतियारले आक्रमण गरेका हुन् । आक्रमणपछि गम्भीर घाइते भएका न्यौपानेको शरीरमा पेट्रोल खन्याएर आगो लगाएको प्रारम्भिक जानकारी प्राप्त भएको स्थानीयलाई उद्धत गर्दै प्रहरी स्रोतले जनाएको छ ।

प्रदर्शनकारीले सँगै रहेका एसएसपी न्यौपानेका अंगरक्षक माथि भाला प्रहार गरी हत्या गरेका थिए । पछिल्लो विवरण अनुसार कैलालीमा १७ प्रहरीसहित २० जनाको मृत्यु भएको कैलालीका प्रहरी प्रवक्ता डीएसपी विश्व खड्काले बताए । मृत्यु हुने अन्यमा जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी निरीक्षकद्वय बलराम विष्ट र केशव बोहरा छन् । यसैगरी, दुईजना प्रहरी जवानको समेत झडपमा परी मृत्यु भएको बताइएको छ ।

कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी उदयबहादुर सिंहका अनुसार सशस्त्र प्रहरीतर्फ ११ जनाको मृत्यु भएको छ । सशस्त्र प्रहरीतर्फ र प्रदर्शनकारीतर्फ मृत्यु हुनेको नाम खुल्न सकेको छैन ।

प्रशासनले लगातार चार दिनदेखि लगाउँदै आएको कर्फयू र निषेधाज्ञा तोड्न खोज्दा कैलालीको टीकापुरमा भीडन्त भएको हो । जिल्ला प्रशासन कार्यालय टीकापुरले बिहान ११ बजेदेखि बिहान ५ बजेसम्म निषेधाज्ञा जारी गरेको थियो । थारुहट पक्षधरले टीकापुरको चारैतिरबाट निषेधाज्ञा तोड्ने प्रयास गर्दा यस्तो भीडन्त भएको हो ।