भक्तपुर, ६ भदौ । ‘क्रोनिक एपेन्डिसाइटिस’को शल्यक्रिया गरेर भक्तपुरको गठ्ठाघरस्थित नागरिक सामुदायिक शिक्षण अस्पतालको अति सघन उपचार कक्ष (आइसीयु) मा उपचार गराउनुभएका उद्योग मन्त्री महेश बस्नेत आज अस्पतालबाट घर फर्कनुभएको छ ।
अस्पतालले उहाँलाई आज साँझ ५ बजे डिस्चार्ज गरेपछि मन्त्री बस्नेत भक्तपुरको गुण्डुस्थित आफ्नै निवासमा फर्किनु भएको छ ।
निरन्तर पेट दुख्ने र वान्ता हुने समस्या भएपछि गत आइतबार बिहान ३ बजे उहाँ अस्पताल भर्ना हुनुभएको थियो । सोही दिन उहाँको प्रा डा राकेश बर्मा, डा रामभक्त कोजूसहितको टोलीले शल्यक्रिया गरेको थियो ।
डा विरेन्द्र यादव, फिजिसियन डा पङ्कज पन्त, डा विकास खत्री, वरिष्ठ मुटुरोग विशेषज्ञ डा रोशन राउत, सिनियर मेडिकल अफिसर डा मोनिसा कार्की, रेडियोलोजिष्ट डा ईश्वर प्रजापतिको टोलीले मन्त्री बस्नेतको नियमित रुपमा स्वास्थ्य परीक्षण एवम् उपचार गरेको थियो ।
‘डिस्चार्ज’पछि आयोजित पत्रकार सम्मेलनमा अस्पतालका निर्देशक गोपी न्यौपानेले मन्त्री बस्नेतको क्रोनिक एपेन्डिसाइटिसको शल्यक्रियासँगै अन्य स्वास्थ्य समस्याका बारेमा पनि परीक्षण गरी उपचार गरिएको जानकारी दिनुभयो ।
सो अवसरमा मन्त्री बस्नेतले आफू महँगो अस्पतालमा नगई जिल्लाकै नागरिक सामुदायिक अस्पतालमा उपचार गर्न आएको बताउनुभयो । यहाँको उपचार, सेवा, सुविधा र अत्याधुनिक प्रविधि देखेर आफू प्रभावित भएको उल्लेख गर्दै उहाँले देशका उच्च ओहोदामा बसेकाहरुले उपचारमा विदेश नगई स्वदेश मै रहेको अस्पतालमा उपचार गर्ने परम्परा बसाल्नुपर्ने बताउनुभयो । रासस
















प्रतिक्रिया