विराटनगर, ६ भदौ । सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमलाई आतंककारीको आरोप लगाएका छन् ।
आइतबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महतोले बामदेव गौतमको राजनीति आतंकबाट जन्म भएको बताउँदै आफू आतंककारी भएकाले अरुलाई पनि आतंककारी देखेको आरोप लगाए । ‘बामदेवको राजनीति आतंकबाट जन्मिएको हो,’ महतोले भने-‘आफू आतंककारी भएकाले अरुलाई पनि आतंककारी नै देख्यो ।’
उनले कैलाली लगायतका जिल्लामा आफूसहित मधेशी मोर्चाको नेताहरूले कुनै पनि सम्प्रदायिक हिंसा भड्काउने अभिव्यक्ति नदिएको दाबी गर्दै त्यस्तो अभिव्यक्ति दिएको प्रमाण देखाउन चुनौती दिए । विगतका सम्झौताहरू कार्यान्वयन नगरेकै कारण आफुहरू आन्दोलनमा उत्रनुपरेको बताउँदै महतोले देश अहिले प्रसव पीडामा रहेका बेला सरकारले नै अराजकता फैलाउने काम गरेको आरोप लगाए ।
गृहमन्त्री गौतमले आफ्नो आन्दोलनमा सहिद हुनेलाई आफ्नो सरकार बनेपछि ५० लाख राहत दिने मधेशी मोर्चाको घोषणालाई ‘आतंकवादीको जस्तो’ भनेका थिए ।
अहिले ठूला तीन दल पूर्वराजा ज्ञानेन्द्रभन्दा पनि बढी प्रतिगमनकारी भएको महतोले आरोप लगाए । अबको संविधानमा समानुपातिक प्रतिनिधित्व हटाउन लागिएको, उच्च पदमा मधेसीलाई जान रोकिएको आरोप लगाउँदै उनले खस मानसिकता बोकेका केही शासकीय वर्गले राष्ट्रका लागि होइन कि आफ्नै लागि संविधान बनाउन लागेको आरोप लगाए ।
उनले २०६४ साल फागुन ८ गते भएको सम्झौताअनुरुप र अन्तरिम संविधानमा प्राप्त अधिकार तथा भावनाअनुरुप संविधान बनाउनुपर्ने विषयमा जोड दिए ।












प्रतिक्रिया