धनगढी, ६ भदौ । मानव बेचविखन तथा ओसारपसार विरुद्ध कार्यरत संस्था केआई नेपालले सीमा नाकाबाट दुई जना युवतीको उद्धार गरेको छ ।
केआई नेपालले परिवारलाई जानकारी नदिएरै भारत जान लागेका २ जना किशोरीलाई कैलालीको गौरीफन्टा नाकाबाट प्रहरीको सहयोगमा उद्धार गरेको हो ।
मानव तस्करी रोकथामका लागि चालेको अभियान अन्तर्गत उनीहरुलाई गौरीफण्टा नाकाबाट उद्धार गरी अहिले सस्थांको संरक्षणमा राखिएको केआई नेपाल धनगढीका जिल्ला संयोजक राजकुमार नेपालीले जानकारी दिनुभयो ।
परिवारको जानकारी विना हिडेका उनीहरुलाई केआई नेपालले जिल्ला प्रहरी कार्यालयको सहयोगमा बेचिनबाट रोकेको हो । उद्धार गरिएका ती युवतीहरु भारतको दिल्लीमा जागिरको प्रलोभनमा जान लागेको जिल्ला प्रहरी कार्यलयका प्रहरी निरीक्षक सुर्यबहादुर चन्दले बताउनुभयो ।
केआई नेपालले सीमामा अनुसन्धानका लागि युवतीहरुलाई सोधपुछ गर्दा जागिरको प्रलोभनमा भारत जान लागेको खुलेको हो । उद्धार गरिएका किशोरीहरु १४ र १५ बर्षका रहेका छन् ।
उनीहरुलाई भारत लैजाने क्रममा धनगढी चौराहाकी सपना लामा र लक्ष्मी भण्डारी पक्राउ परेकी छिन् । उनीहरु विरुद्ध मानव बेचविखन तथा ओसारपसार विरुद्ध मुद्दा दायर भएको र प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरीरहेकोे प्रहरी निरीक्षक चन्दले जानकारी दिनुभयो ।
केआई नेपाल धनगढी शाखाले पछिल्लो एक महिनामा २१ जना चेलीलाई कैलालीको गौरीफण्टा नाकाबाट उद्धार गरेको केआर्इ नेपालकी सुचना तथा सञ्चार अधिकृत सुरक्षा बरालले जानकारी दिनुभयो ।















प्रतिक्रिया