– महेश केसी
रुकुम, ५ भदौ । शीर्ष नेताको सात बनाउने निर्णयको रुकुममा विरोध गरिएको छ ।
जिल्ला अखण्ड हुनुपर्ने र सिंगो जिल्ला ५ नंं प्रदशेमा कायम हुनुपर्ने माग राख्दै गत साउन २३ गतेदेखी आन्दोलनमा उत्रिएका रुकुमेलीहरुले शीर्ष नेताहरुले शुक्रवार पहिलेको छ प्रदेशमा अर्को एउटा प्रदेश थप्ने र सात प्रदेश कायम गर्ने गरी गरेको राजनीतिक सहमतिको विरोध गरेका हुन् ।
गत साउन २३ गते भएको सहमतिबाट पूर्वको भाग पाँचौ प्रदेशमा र पश्चिमको भाग छैटौं प्रदेशमा राख्नेगरी भएको विभाजन प्रति असन्तुष्टि जनाउदै आएका रुकुमेलीहरुले आज शनिबार विहानैदेखी मुसिकोट बजार पुर्ण रुपमा ठप्प पारी सदरमुकाममा विरोध र्यालि निकालेका छन् ।
एकीकृत रुकुम संघर्ष समिति गठन गरी लगातार चरणबद्ध रुपमा आन्दोलन थालिए पनि आफुहरुको आन्दोलनको उपलब्धी हुन नसकेको र यसले राजनैतिक दलहरु प्रति नागरिकहरुको निराशा बढेको धारणा राख्दै संघर्ष समितिका सदस्य जीवन खड्काले एकीकृत माओवादीका नेता तथा सभासद जनार्दन शर्माको चाहना र निहित राजनीतिक स्वार्थका कारण जिल्लालाई विभाजन गरेको आरोप लगाए ।
कोणसभामा बोल्ने अन्य बक्ताहरुले पनि रुकुमका जनार्दन शर्मा, सल्यानका प्रकाश ज्वाला र सुर्खेतका पुर्णबहादुर खड्काका कारण मध्यपश्चिमाञ्चल विकास क्षेत्र छिन्नभिन्न हुन पुगेको र यि नेताहरुलाई सबै जिल्लामा नागरिक बहिष्कार गर्ने गरी आन्दोलन थाल्न सबैलाई अनुरोध गरे ।
पछिल्नो पटक भएको शीर्ष तहको राजनीतिक सहमति अनुसार भएको विभाजनमा पनि जिल्ला दुई भागमा विभाजन गरिएको र त्यस अन्तर्गत रुकुमको पश्चिम भागलाई कर्णाली प्रदेशमा राख्ने निर्णयको भण्डाफोर गर्दै एवं सिंगो जिल्लालाई ५ नं. प्रदशेमा कायम गर्न माग गर्दै अझै चरणबद्ध आन्दोलन गर्ने तयारी आफूहरुको रहेको संघर्ष समितिका संयोजक टेकबहादुर पुनले जानकारी दिए ।
पुनका अनुसार शनिबार साँझ सदरमुकाम मसिकोट बजार लगाएत आसपासका क्षेत्रमा मसाल जुलुस गर्ने र भोलीदेखी कडाईका साथ आन्दोलनलाई अगाडी बढाईने छ । जिल्ला एकीकृत नहुन्जेल आफुहरुको आन्दोलन जारी रहने पनि संघर्ष समितिले बताएको छ ।
















प्रतिक्रिया