३० आश्विन २०८३, शुक्रबार

राजधानीमा सार्क अर्थमन्त्रीस्तरीय बैठक सुरु

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३ भदौ । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का अर्थमन्त्रीहरुको सातौँ बैठक आज यहाँ सुरु भयो ।

बैठकको उद्घाटन गर्दै प्रधानमन्त्री सुशील कोइरालाले क्षेत्रीय विकास, शान्ति र स्थायित्वका निम्ति सार्क सदस्य मुलुकहरुबीच बृहत् सहयोग अपरिहार्य भएको बताउनुभयो ।

परस्पर निर्भरता र परस्पर सम्बद्ध वर्तमान युगमा असहयोगको ठूलो मूल्य चुकाउनुपर्ने भएकाले परस्परमा संवाद, छलफल र सहकार्यलाई सदस्य मुलुकले बढाएर विकासको पथमा अग्रसर हुनुपर्ने बताउनुभयो ।

दक्षिण एसियाली क्षेत्र अति कम एकीकृत भएकाले समग्रमा क्षेत्रीय एकता र एकीकरण कायम गर्न लगानी र आर्थिक विकासका मुख्य क्षेत्रमा पुँजी केन्द्रित गर्न जरुरी भएको उहाँले बताउनुभयो ।

स्थल, जल र नभमार्गबाट सदस्य मुलुकलाई जोड्ने भौतिक पूर्वाधारको निर्माण, ऊर्जा, ज्ञानको आदानप्रदान, पर्यटन, व्यापार, वित्तलगायत क्षेत्रमा अर्थपूर्ण साझेदारी र सहयोगबाटै दक्षिण एसियाको दु्रततर विकास सम्भव भएकाले आर्थिक सुरक्षाका निम्ति एकीकृत ढङ्गले काम गर्नुपर्नेमा प्रधानमन्त्रीले जोड दिनुभयो ।

सार्कका अल्पविकसित मुलुकलाई तिनको आर्थिक उन्नयनमा सघाउन अतिरिक्त सुरक्षा, स्रोत र सहुलियत उपलब्धल गराउनुपर्ने आवश्यकता औँल्याउँदै उहाँले भन्नुभयो – “दिगो शान्ति र समृद्धिका निम्ति सदस्य मुलुकबीच निकटको आर्थिक सहयोग आवश्यक छ, दक्षिण एसियाली आर्थिक सङ्घको निर्माण क्रमिक रुपमा गर्न सकिनेमा हामी विश्वस्त छौँ ।”

दक्षिण एसियाली आर्थिक सङ्घ स्थापनाको लक्ष्य हासिल गर्न उपयुक्त बृहत् आर्थिक नीति निर्माण र दृढ राजनीतिक इच्छाशक्ति पनि उत्तिकै आवश्यक भएको प्रधानमन्त्रीले बताउनुभयो ।

वित्तीय क्षेत्रमा पारस्परिक सहयोग अभिवृद्धि गर्ने अन्तरक्षेत्रीय दीर्घकालीन पुँजी प्रवाह तथा लगानी, सार्क विकास बैंक स्थापना तथा लगानी प्रवद्र्धन एवम् सुरक्षणबारे बैठकमा हुने छलफल परिणाममुखी हुनेमा आफू विश्वस्त रहेको उहाँले बताउनुभयो ।

आर्थिक सहयोग वृद्धि एवम् एकीकरणले नै दक्षिण एसियाली जनताको आर्थिक एवम् सामाजिक सुरक्षा सुनिश्चित हुने भएकाले त्यसप्रति सदस्य मुलुकले आफ्ना दृढता एवम् प्रतिबद्धतालाई कायम राखे लक्ष्य हासिल गर्न सहज हुने विचार व्यक्त गर्दै उहाँले आतङ्कवाद, अतिवाद, मानव, लागुऔषध र हातहतियार तस्करी, मुद्रा निर्मलीकरण र प्राकृतिक विपत्ति जस्ता चुनौतीको गम्भीर भएर सामना गर्नुपर्ने बताउनुभयो ।

प्रधानमन्त्रीले भन्नुभयो – “सबै पक्षलाई मान्य हुने र फाइदा पुग्ने सहयोग प्रवद्र्धन सार्कको अहिलेको आवश्यकता हो र सार्कले लामो समयदेखि निर्धारण गरेको दक्षिण एसियाली क्षेत्रका जनताको जीवनस्तर उकास्ने लक्ष्य प्राप्तिका निम्ति उपयुक्त वातावरण बनाउनुपर्छ ।”

संविधानसभाबाटै लोकतान्त्रिक संविधान जारी गरेर नेपालको राजनीतिक इतिहासमा नयाँ अध्यायको थालनी गर्न नेपाल अग्रसर भएको जानकारी दिँदै उहाँले नेपालको उक्त राष्ट्रिय अभियानमा सार्कका सदस्य मुलुकहरुबाट निरन्तर प्राप्त सहयोग र ऐक्यबद्धताप्रति हार्दिक आभार प्रकट गर्नुभयो ।

“संविधान जारी भएपछि लम्बिँदो राजनीतिक सङ्क्रमणको अन्त्य हुनेछ, जनप्रतिनिधिमूलक संस्थाहरुको स्थायित्वका साथै बहुलवाद र प्रजातन्त्र संस्थागत हुनेछ” – मुलुकको वर्तमान राजनीतिक अवस्थाबारे जानकारी दिँदै प्रधानमन्त्रीले भन्नुभयो ।

सार्कका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री कोइरालाले विगतदेखि नै दक्षिण एसियाली मुलुकहरु प्रजातान्त्रिक, शान्तिपूर्ण सहयोगका निम्ति एकीकृत रहेका भन्दै दिगो शान्ति, स्थायित्व र सुदृढ प्रजातान्त्रिक संस्थाको विकासका साथै क्षेत्रीय विश्वास प्रवद्र्धनमा सार्कका सबै सदस्य मुलुकको एकीकृत प्रयास उत्तिकै अपरिहार्य भएको बताउनुभयो ।

अर्थमन्त्री डा रामशरण महतले पर्यटन प्रवद्र्धन, खाद्य सुरक्षा र अन्तर्राष्ट्रिय क्षेत्रमा साझा अवधारण बनाउन बैठक मुख्य मञ्च हुने भएको बताउनुभयो ।

उहाँले बैठकमा सन् २०१३ को अगस्टमा श्रीलङ्काको कोलम्बोमा सम्पन्न छैटौँ बैठकको निर्णय कार्यान्वयनको स्थिति तथा आगामी दिनमा सार्क क्षेत्रमा वित्तीय पुँजीको प्रवाह र अन्तरदेशीय लगानीका विषयमा छलफल हुने जानकारी दिनुभयो ।

त्यसैगरी, लगानी प्रवद्र्धन तथा सुरक्षा विषयका सहमतिमाथि छलफल हुने जानकारी दिँदै अर्थमन्त्री डा महतले लामो समयको राजनीतिक सङ्क्रमणपछि नेपालको आर्थिक वृद्धि र आर्थिक रुपान्तरणमा सार्क क्षेत्रको सहयोग रहेको बताउनुभयो ।

भूकम्पपछि नेपाली अर्थतन्त्र द्रुत आर्थिक वृद्धितर्फ उन्मुख भइरहेको र त्यसका लागि ऊर्जा क्षेत्रमा भारतसँग ऊर्जा व्यापार सम्झौता र यस क्षेत्रका बहुर्राष्ट्रिय कम्पनीसँग सम्झौता भएको जानकारी दिनुभयो ।

उहाँले सातौँ अर्थमन्त्रीस्तरीय बैठकबाट यस क्षेत्रको प्राकृतिक विपद् र गरिबीसँग सामना गर्ने उपयुक्त संयन्त्र तयार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

अर्थमन्त्री महतले आर्थिक तथा वित्तीय सहकार्यबाट गहन क्षेत्रीय एकीकरणमा बल पुग्ने उल्लेख गर्दै सबैको सद्भावबाट गैरभन्सार अवरोध हटाउने, एकअर्कामा बलियो सम्बन्ध स्थापना गर्ने र अन्तरदेशीय लगानीे प्रवद्र्धन गर्नुपर्नेमा जोड दिनुभयो ।

सार्कका महासचिव अर्जुनबहादुर थापाले यस क्षेत्रलाई सडक–रेल सञ्चालनमार्फत जोड्दै सार्क क्षेत्रमा उत्पादन भएका वस्तुको सहज प्रवाह हुने वातावरण मिनलाउनुपर्नेमा जोड दिनुभयो । दक्षिण एसिया ‘आर्थिक सङ्घ’मार्फत सबल सामाजिक आर्थिक विकासतर्फ उन्मुख हुनुपर्नेमा उहाँको जोड दिनुभयो ।

कार्यक्रममा अर्थसचिव सुमनप्रसाद शर्माले क्षेत्रीय आर्थिक विकासका लागि अर्थमन्त्रीस्तरीय बैठकको निर्णय महत्वपूर्ण हुने बताउनुभयो ।

बैठकमा भाग लिन पाकिस्तानका अर्थमन्त्री महमद इजाक दार, बङ्गलादेशका अर्थमन्त्री अबुल माल अ मुहिथ र भारतका अर्थराज्यमन्त्री जयन्त सिन्हा, माल्दिभ्सका अर्थ उपमन्त्री महमेद जुहारलगायतले भाग लिनुभएको छ । रासस