धनगढी, २८ साउन । प्रहरीले भारतीय बजार गौरीफन्टाबाट ब्राउन सुगर (खैरो हिरोईन) लुकाईछिपाई ल्याउदै गरेको अवस्थामा बुधबार दुईजनालाई पक्राउ गरेको छ ।
से२प ९६५६ नम्बरको मोटरसाइकलमा सवार धनगढी २ रामजानकी मन्दिर नजिक घर भएका २० वर्षीय बिकास हमालले मुखको भित्रि भागको ओठमा ५३० मिलीग्राम खैरो हिरोईन लुकाई ल्याउदै गरेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक भुवन भट्टको नेतृत्वमा खटिएको क्षेत्रीय अनुसन्धान टीमले शंका लागि नेपालतर्फको त्रिनगरभन्सार नाकामा चेकजाँच गर्दा हमालको साथबाट सो परिणामको खैरो हिरोईन बरामद भएको कैलाली प्रहरी प्रबक्ता डीएसपी विश्वराज खड्काले बताए ।
हमालसँगै उनको मोटरसाइकल पछाडी बसेको धनगढी ४ उत्तरबेहडीका २२ वर्षीय सिद्धार्थ बडैला पनि पक्राउ परेको खड्काले बताए । बडैलाले प्रतिबन्धित लागुऔषध ओसारपसारमा हमाललाई सहयोग गरेको प्रहरीको भनाई छ । पक्राउ परेका हमाल र बडैलालाई लागुऔषध ओसारपसार अन्तरगत कारवाहीको प्रक्रिया अघि बढाएको प्रबक्ता खड्काले बताए ।















प्रतिक्रिया