– दीपक ओली
धनगढी, २८ साउन । पछिल्ला दिनहरुमा तस्करहरुले सुदूरपश्चिमका विभिन्न नाका हुँदै छिमेकी भारत तथा चीनतिर संरक्षित वन्यजन्तुको ओसारपसार गर्ने क्रम बढ्दै गएको छ । त्यो सँगै बिगत पाँच महिनाको अबधिमा प्रहरीले विभिन्न ठाउँबाट १२ थान बाघ तथा चितुवाको छाला तथा हड्डी बरामद गरेको छ ।
बुधबार प्रहरीले कैलालीका दुई भिन्न ठाउँबाट पाटेबाघ र चितुवाको छाला तथा हड्डीसहित दुई जनालाई पक्राउ गर्यो । विशेष सुराकी आधारमा कैलालीको चौमाला गाविस ७ राजीपुरस्थित कालिका सामुदायिक वन इलाकाबाट दुई थान चितुवाको छाला र हड्डी तथा अत्तरिया नगरपालिका २ कनकवाबाट एक थान पाटेबाघको छाला र हड्डीसहित उनीहरुलाई पक्राउ गरेको हो ।
सुदूरपश्चिम क्षेत्रीय प्रहरी अनुसन्धान टीम सेती र जिल्ला प्रहरी कार्यालय कैलालीको संयुक्त टोलीले कैलालीकै गोदावरी गाविस ८, टोखरेका ४५ वर्षीय शेरबहादुर मगर र कञ्चनपुर जिल्ला कृष्णपुर गाविस ८, मौरीफाटाका ५० वर्षीय बिष्णुबहादु गुरुङलाई पाटेबाघ र चितुवाको छाला तथा हड्डीसहित पक्राउ गरी बिहीबार जिल्ला प्रहरी कार्यालय कैलालीमा सार्वजनिक गरेको हो ।
दुबै जनालाई पाटेबाघ र चितुवा छाला तथा हड्डी लुकाईछिपाई लग्दै गरेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
शेरबहादुरको साथबाट सात फिट ५ इन्च लम्बाई र एक फिट १० इन्च चौडाई भएको पुच्छरदेखि टाउँकोसम्मको पूरै भाग भएको एक थान चितुवाको छाला र बोरामा राखिएको दुई किलो ३०० ग्राम सो को हड्डी बरामद गरेको कैलाली प्रहरी प्रमुख एसपी बिक्रमबहादुर चन्दले बताए ।

यसैगरी, बिष्णुबहादुरको साथबाट ११ फिट २ इन्च लम्बाई र तीन फिट १० इन्च चौडाई भएको पुच्छरदेखि टाउँकोसम्मको पूरै भाग भएको एक थान पाटेबाघको छाला तथा आठ फिट लम्बाई र दुई फिट २ इन्च चौडाई भएको पुच्छरदेखि टाउँकोसम्मको पूरै भाग भएको एक थान चितुवाको छालाका साथै बोरामा राखेको अवस्थामा आठ किलो हड्डी बरामद गरेको एसपी चन्दले जानकारी दिए ।
प्रहरी टोलीले वन्यजन्तुको ओसारपसार हुँदै आएको खबर पाएर लामो समयदेखि अनुसन्धान गरिरहेको थियो । सुदूरपश्चिम क्षेत्रीय प्रहरी अनुसन्धान टीम सेतीबाट प्रहरी निरीक्षक भुवन भट्टको नेतृत्वमा खटिएको टोलीले विभिन्न खोज तथा अनुसन्धानपछि प्रतिबन्धित वन्यजन्तुको छाला र हड्डी बरामद गर्न सफल भएको हो ।
पक्राउ परेका शेरबहादुरले चितुवाको छाला तथा हड्डी कैलालीको पण्डौनबाट मोटरसाइकलमा ल्याएको बताए । उनले भने–‘सो छाला तथा हड्डी कसको आफूलाई केही थाहा नभएको बताउदै आफूले खाली भरिया रुपमा काम गरेको हुँ ।’
उता, बिष्णुबहादुरले भारतको चन्दन चौकी आसपासबाट कसैले पाँच लाख रुपैयाँ दिएर आफूले साइकलमा ल्याइदिएको पत्रकारलाई बताए । तर, सो सामाग्री दिने ब्यक्तिलाई भने नचिनेको बिष्णुबहादुरको भनाई छ ।
पक्राउ परेका दुबै जनालाई आवश्यक अनुसन्धान पश्चात् छाला र हड्डी सहित थप कारवाहीका लागि जिल्ला वन कार्यालय कैलालीलाई बुझाएको एसपी चन्दले बताए ।
अनुसन्धानका क्रममा सो वन्यजन्तुको छाला तथा हड्डी भारतबाट नेपाल हुँदै चिनतिर ओसारपसार हुन लागेको खुल्न आएको सुदूरपश्चिम प्रहरी प्रमुख डीआइजी रामकुमार खनालले बताए । उनले बिगत पाँच महिनाको अबधिमा यो सहित १२ थान बाघ तथा चितुवाको छाला र हड्डी बरामद गर्न सफल भएको बताए ।
एकातिर खुला सीमा, अर्कोतिर जनशक्ति अभावमा सबै ठाउँमा प्रहरीको उपस्थिती नभएका कारण सुदूरपश्चिम तस्करहरुको प्रमुख ट्रान्जिट प्वाइन्ट बनेको प्रहरीको भनाई छ । हालसम्म प्रहरीले वन्यजन्तुका अंग तथा अन्य सामग्री र भरिया समाते पनि त्यसको मुख्य योजनाकारलाई समात्न नसकेकाले तस्करहरुलाई तस्करीमा सजिलो हुनेगरेको स्वयम प्रहरी बताउछन् ।
जिल्ला वन कार्यालय कैलालीका वन अधिकृत जगदीशप्रसाद गुप्ताले पक्राउ परेका दुबै जनालाई बन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार कारवाही अघि बढाइने बताए ।
ऐनमा पाटेबाघ दुलर्भ संरक्षित वन्यजन्तु भएकोले ५ देखि १५ कैद वा १ लाखदेखि ५ लाख रुपैयाँ जरिवाना वा दुबै सजाय तथा चितुवाको हकमा छ महिनादेखि २ वर्ष कैद वा १ हजारदेखि १० हजार रुपैयाँ जरिवाना वा दुबै सजाय हुने प्रावधान छ ।
















प्रतिक्रिया