९ कार्तिक २०८३, सोमबार

थरुहट माग्दै आजदेखि अनिश्चितकालीन बर्दिया बन्द

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बर्दिया, २६ साउन । थारु कल्याणकारिणी सभा सङ्घर्ष समिति, बर्दियाले आजदेखि अनिश्चितकालीन बर्दिया बन्दको घोषणा गरेको छ ।

कञ्चनपुरदेखि चितवनसम्मको थरुहट भूमिलाई थरुहट स्वायत्त प्रदेश बनाउनुपर्ने माग राखेर अनिश्चितकालीन बन्दको घोषणा गरेको हो ।

बन्दका कारण यातायात पूर्णरुपमा ठप्प भएको छ । बन्दका कारण बर्दियाको सदरमुकाम गुलरियालगायत व्यापारिक केन्द्रहरु राजापुर, भूरिगाउँ, ताराताल, मैनापोखर, बाँसगढी पूर्णरुपमा बन्द रहेका छन् । यातायात र बजारसँगै शिक्षण संस्था र कलकारखानासमेत ठप्प रहेका छन् ।

सङ्घर्ष समितिले २६ गतेदेखि अनिश्चितकालीन बर्दिया बन्द, २७ गते बर्दिया जिल्लाको चारवटै निर्वाचन क्षेत्रमा जनपरिचालन तथा कोणसभा र २८ गते सदरमुकाम गुलरियामा जनसभाको आयोजना गरिने पत्रकार भेटघाटमार्फत जानकारी गराएको छ ।

थारु कल्याणकारिणी सभा सङ्घर्ष समितिलगायत सातवटा राजनीतिक दल तथा सङ्गठनहरुद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा मुलुकका शासकहरुद्वारा जनताले दिएको मतादेशको विरुद्धमा गरिएको प्रदेश निर्माण गर्ने सहमतिप्रति थारु समुदायको गम्भीर ध्यानाकर्षण भएको भन्दै थरुहट भूमिलाई छुट्याएर अन्यत्र गाभिए आफूहरुलाई मान्य नहुने बताएका छन् ।

आफूहरुले शान्तिपूर्ण ढङ्गबाट आन्दोलन गर्ने र शान्तिपूर्ण आन्दोलनलाई हस्तक्षेप गरिएमा आन्दोलनको स्वरुप परिवर्तन गर्न सकिने सङ्घर्ष समितिका प्रवक्ता देवमान चौधरीले बताउनुभयो । रासस