९ कार्तिक २०८३, सोमबार

उपचार गर्ने ठाउँ नहुँदा खुला आकासमुनि

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जाजरकोट, २६ साउन । जाजरकोटको एक दुर्गम क्षेत्रमा रहेको स्वास्थ्य संस्थामा बिरामीको उपचार गर्ने ठाउँको अभाव हुँदा समस्या भएको छ ।

जिल्लाको मजकोट गाविसमा रहेको उपस्वास्थ्य चौकीमा पुरानो जीर्ण एककोठे भवनमा दैनिक उपचार गर्दा निकै अप्ठ्यारो भएको चौकीका प्रमुख सुनिल बज्राचार्यले बताउनुभयो ।

दैनिक दर्जनभन्दा बढी बिरामी आए पनि उपचार गर्न ठाउँको अभावमा निकै समस्या हुने गरेको छ । विसं २०६९ मा दुई वर्षभित्र निर्माण कार्य सम्पन्न गर्ने सम्झौताअनुसार फेन्स कन्स्टक्सन प्रालि गङ्गबू काठमाडौंले पाँच करोडमा निर्माण कार्य थालेको भवन अहिले जग मात्र निर्माण गरी ठेकेदार सम्पर्कमा नरहेको स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रमका सामाजिक परिचालक काशीराम न्यौपानेले जानकारी दिनुभयो ।

स्वास्थ्य संस्थामा भर्ना गरेर उपचार गर्नुपर्ने बिरामी आएमा ठाउँको अभावमा खुला चौरमा उपचार गर्नुपर्ने बाध्यता रहेको छ । वर्षायाममा पानी पर्दा स्वास्थ्य संस्था नजिकको घरमा लिएर उपचार गर्नुपर्ने समस्या रहेको छ ।

जिल्ला स्वास्थ्य कार्यालय र जिल्लाका राजनीतिक दललाई स्वास्थ्य संस्थाको विषयमा गम्भीर बनिदिन आग्रह गरे पनि कसैले वास्ता नगरेको स्थानीय वडा नागरिक मञ्चका अध्यक्ष अम्मरबहादुर बूढाले गुनासो गर्नुभयो ।

जिल्ला स्वास्थ्य कार्यालय प्रमुख धीरजङ्ग शाहले जति ठेकेदारलाई ताकेता गरे पनि आफूहरुको केही नलागेकोे बताउनुभयो ।”