काठमाडौँ, २५ साउन । प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहितालाई समसामयिक बनाउन पुनरवलोकन गर्ने भएको छ ।
काउन्सिलले नेपाल प्रेस युनियनसँग आज यहाँ गरेको छलफलमा काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्कीले हालको आचारसंहितामा परिमार्जनको आवश्यकता देखिएकाले समय सापेक्ष बनाउन पुनरवलोकन गर्न लागेको बताउनुभयो ।
“पत्रकारिता क्षेत्रको अभिभावकको भूमिका काउन्सिलले पूर्ण रुपमा निभाउन सकिरहेको छैन”–उहाँले भन्नुभयो, “सञ्चारमाध्यमले समेत हामीलाई पूर्ण रुपमा अभिभावक सम्झन सकेको छैन । हाम्रो कमीकमजोरी औँल्याइदिएमा थप उत्तरदायी बन्ने अवसर पाउँनेछौँ ।”
उहाँले पत्रकारितामा लाग्न चाहनेलाई निश्चित मापदण्ड बनाएर परीक्षा दिने प्रणाली बनाउने, सञ्चार सङ्ग्रहालय बनाउने, पत्रकारको क्षमता अभिवृद्धि गर्न तालिम दिनेलगायत विषयमा काउन्सिलले तयारी गरिरहेको जानकारी दिनुभयो ।
कार्यक्रममा प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, महासचिव अजयबाबु शिवाकोटी, उपमहासचिव भीष्मराज ओझा, कोषाध्यक्ष सरोज अधिकारीलगायतले काउन्सिलले आचारसंहिता निर्माण र अनुगमन गर्ने कार्यलाई मुख्य रुपमा हेर्नुपर्ने, मुलुक सङ्घीयतामा जान लागेकाले केन्द्रमा सङ्घीय काउन्सिल र प्रदेशमा प्रादेशिक काउन्सिल बनाएर कार्य गर्नुपर्नेलगायत सुझाव दिनुभयो ।
काउन्सिलका सदस्य सुदर्शन आचार्य, मुख्य प्रशासकीय अधिकृत झवीन्द्र भुसाललगायतले हुबहु समाचार ‘कपी’ गर्ने गरेका गुनासा राष्ट्रिय समाचार समितिबाट मात्र नभई अनलाइनबाट समेत आइरहेकाले त्यस्ता मिडियालाई वर्गीकरणमा नराखिने जानकारी दिनुभयो । रासस















प्रतिक्रिया