काठमाडौँ, २५ साउन । पूर्व युवराज्ञी हिमानी शाहले सिन्धुपाल्चोक धुम्थाङ गाविस–४ स्थित गणेशमान स्मृति उपस्वास्थ्य चौकी र सरस्वती माविलाई आज २५ बण्डल जस्तापाता हस्तान्तरण गर्नुभयो ।
सरस्वती माविका लागि सो विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धर्मबहादुर श्रेष्ठलाई १८ र उपस्वास्थ्य चौकीलाई अस्थायी रुपमा सञ्चालन गर्न सो चौकीका अध्यक्ष कृष्णबहादुर श्रेष्ठलाई सात बण्डल जस्तापाता वितरण गरिएको हो । विसं २०१६ मा स्थापित सो विद्यालय गत वैशाख १२ को ‘गोरखा भूकम्प’बाट पूर्णरुपमा क्षति भएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रेष्ठले भूकम्पबाट विद्यालय पूर्णरुपमा क्षति भएपछि हाल त्रिपालमुनि कष्टकर ढङ्गले पढाइ सञ्चालन रहेको जानकारी दिँदै सरकारले भूकम्प गएको लामो समय बितिसक्दा पनि कुनै सहयोग नगरेको गुनासो गर्नुभयो ।
सो विद्यालयमा हाल ४५० जना अध्ययनरत छन् । रासस
















प्रतिक्रिया