३० आश्विन २०८३, शुक्रबार

मैले कहाँ के अपारदर्शी काम गरे भन्नुपर्‍यो नि : राजदूत पाण्डे

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Uday-Raj-Panday

बैदेशिक रोजगारीको प्रमुख गन्तव्य मुलुकमध्येको एक हो साउदी अरेबिया । बर्षेनी हजारौंको संख्यामा नेपालीहरु साउदी अरेबिया जाने गर्दछन् । त्यही साउदी अरेबियाका लागि नेपाली राजदूतको जिम्मेवारी लिएर २०११ को अगष्टमा साउदी आउनुभएका उदयराज पाण्डे आफ्नो ४ बर्षे कार्यकाल पूरा गरेर स्वदेश फर्कने तयारीमा हुनुहुन्छ । साउदीका लागि नेपाली दूतावासमा राजदूतका रुपमा पाण्डे नियुक्त हुनुभएपछि के–कस्ता कामहरु भए, नेपाली कामदारको अवस्था कस्तो छ, नेपाल र साउदीबीचको द्धिपक्षीय सम्बन्ध कस्तो छ, उहाँको कार्यकालमा भएका उपलब्धीहरु के–के हुन् र नेपाली मजदुरका समस्या समाधानको लागि दूतावासले चालेका कदमको बिषयमा केन्द्रित रहेर हाम्रा साउदी अरेबिया संबाददाता एनपी प्रधान (भरत)ले गरेको कुराकानीको सारसंक्षेप :

चार वर्षे आफ्नो कार्यकाललाई कसरी हेर्नुभएको छ ?

मेरो चार बर्षे कार्यकाल अत्यन्तै सफल भएको ठानेको छु । मेरो कार्यकालमा मूलतः नेपाली श्रमिकको औसत तलब ६, ७ सय साउदी रियल रहेको पारिश्रमिकलाई बृद्धि गरेर न्यूनतम १ हजार साउदी रियल तोकिएको छ । नेपालमा साउदी दूतावास नहुँदा धेरै दुःख भएको थियो, कि हरेक कामका लागि बगंलादेशको ढाका जानुपर्ने समस्या थियो । नेपालमै साउदी दूतावास खोल्न सफल भयौं । साउदी ठूलो देश भएका कारण जेद्धा क्षेत्रमा दूतावासको पहुँच पूग्न सकेको थिएन त्यहाँ हामीले महाबाणिज्य दुतावास खोल्न सफल भयौं । त्यहां बाट १ लाख २५ हजार नेपालीलाई प्रत्यक्ष सेवा दिन सकेका छौं । ३५ हजार अबैध नेपाली कामदारहरुलाई उद्दार गरेर २८ हजार नेपालीहरुलाई स्वदेश फिर्ता पठायौं, ७ हजार नेपालीलाई बैधानिक बनाएर काममा लगाउन सफल भयौं । समग्रमा भन्नुपर्दा मेरो कार्यकालमा दिर्घकालीन उपलब्धीहरु हात पार्न सफल भएका छौं ।

बैदेशिक रोजगारीका लागी मूख्य गन्तब्य कै रुपमा लिईएको साउदीमा नेपाली कामदारका मूख्य समस्या के पाउनुभयो ?

हेर्नुस्, बिविध कालखण्डमा विभिन्न समस्याहरु देखा परेका थिए, ती समस्याहरु क्रमशः हामीले समाधान गर्दै गयौं । बिगतमा जस्तो नेपाली कामदारलाई खान, बस्न जस्ता समस्याहरु छैनन् । हिजोको दिनमा जुन समस्या थियो त्यो अहिले छैन, तथापी अहिलेको पछिल्लो समस्या भनेको काम गर्ने अवधी पूरा भएरपनि स्वदेश फिर्ता हुन नपाउनु नै नयाँ समस्याको रुपमा देखा परेको छ । तर हाम्रो सम्र्पकमा आएका कामदारहरुका ती समस्या हामीले जति सक्दो छिटो समाधान गरेका छौं ।

खाडी मूलुक त्यसमा पनि साउदी अरब भन्ने बित्तिक्कै नेपाली कामदारहरु निम्न स्तरको कामका लागि मात्रै योग्य ठान्निछन् भन्ने गरिन्छ नि ? अर्थात् थ्री डी (डेन्जर, डिफीकल्ट र डर्टी), यसलाई कसरी मुल्याकंन गर्नुभएको छ ?

होईन, यसमा हाम्रै समस्या हो, हामीले न्यूनतम रुपमा पनि दक्ष कामदार पठाउन सकेका छैनौं । हेर्नुस् साउदी सरकारले नेपाली कामदारलाई दक्ष बनाएर ल्याउने भनेर सन् २०१२ मा नेपालमै तालिम केन्द्र खोल्ने योजनाका साथ २ अर्ब ५० करोड रुपैयां दिएको रकम समेत लैजान नसकेको अवस्था छ । यो सहयोग लान सकिए मात्र पनि धेरै नेपालीहरुलाई सीप सिकाउन सकिन्छ र तपाईले भने जस्तो त्यसपछि त निम्न स्तरको काममा आउनै पर्दैन नी । दक्ष कामदार दिन सक्ने बित्तिकै त राम्रो काममा अवसर पाई हाल्छौं नि ।

यहाँंको नेतृत्वमा नेपाली दूतावासले गरेका केही उल्लेखनीय कार्य भन्नुपर्दा ?

मैले यहाँलाई शुरुमै भने, ६/७ सात सय साउदी रियलमा आउनुपर्ने नेपाली कामदारका लागी न्यूनतम पारिश्रमिक १ हजार रियल तोक्न सफल भयौं । अबैधानिक रुपमा बसेका नेपालीहरुलाई बैधानिक बनाएर स्वदेश फिर्ता तथा काममा लगाउन सफल भयौं, काम गर्ने शिलशिलाामा भएका घटनाबाट क्षतिपूर्ति नपाएका १ हजार ६८ कामदारहरुलाई करिब २५ करोड रुपैयां क्षतिपूर्ति दिलाउन सफल भयौं, नेपालमा साउदी दूतावास खोल्न सफल भएका छौं, यी नै ठूला उपलब्धी हुन् ।

दूतावाससंग साउदीमा कति नेपाली कामदार छन् भन्ने यकिन तथ्यांक छ ?

त्यो तथ्यांक दूतावास संग एकिन छैन, अनुमानित ५ लाखको हारहारीमा नेपालीहरु छन् भन्ने एक खालको तथ्यांक मात्र हामीसंग छ ।

दूतावासको सेवा राजधानी रियाद केन्द्रीत छ भन्ने आरोपमा के भन्नुहुन्छ ?

गलत कुरा, के आधार छ रियाद केन्द्रीत छ भन्ने । यहांलाई मैले अघि नै भनिसके जेद्धामा महाबाणिज्य दुतावास नै छ त्यस्तै अर्को साउदीको मूख्य शहर दमाममा हामीले कर्मचारी खटाएर नै काम गरिरहेका छौं । अब भन्नुस् कसरी रियाद केन्द्रीत हुन्छ ? हामीले साउदीका सबै क्षेत्र लाई समेटेर काम गरेका छौं ।

नेपाल सरकारसंग भएको श्रम सम्झौता अनुसार यहाँका कम्पनीहरुले पारिश्रमिक नदिने, त्यसमा पनि समयमा नदिने र तोकीएको समय भन्दा बढी काम गर्नुपर्ने बाध्यता नेपाली कामदारहरुको मूख्य समस्याको रुपमा रहेको छ भन्छन् नि, यस्ता समस्या समाधान तर्फ दूतावासको ध्यान पूग्न नसकेको हो ?

हामीलाई जानकारीमा आएका कामदारका हरेक समस्यामा हाम्रो ध्यान पूगेको छ, हेर्नुस् कुनै पनि समस्या समाधान गर्न त्यस्ता खालका समस्या हामी सम्म आईपुग्न पर्यो नि, हामी कहां आएको खण्डमा त्यसको तत्कालै समाधान गछौं । जस्तो ओभरटाईम दिने सम्झौता भएर आएका कामदारलाई त्यो सुबिधा नदिएको खण्डमा हामीले तुरुन्तै त्यो लागु गराउन सक्छौं । कामदारका समस्या छन् भनेर बाहिर कुरा गरेर हुदैन, सम्बन्धीत ठाउँमा पुर्याउन पर्र्यो नि ।

सरकारले साउदी लगायतका खाडी मूलुकहरुमा घरेलु कामदारका रुपमा जाने महिलाहरुलाई प्रतिबन्ध लगाएको छ, तथापी त्यो क्रम रोकीएको छैन, साउदीको हकमा घरेलु महिला कामदारको अवस्था कस्तो छ ?यसको नियन्त्रणका लागी दूतावासले के गरिरहेको छ ?

केही समय अघि सम्म हाउस मेडमा आउने घरेलु महिला कामदारको संख्या झण्डै ६०/७० हजारको हारहारीमा थियो । तथापी अहिले त्यो संख्या घट्दो छ । घरेलु कामदारका लागी साउदी आउने नेपाली महिलाहरुको समस्या नभएका होईनन् तर बिगतका तुलनामा पछिल्लो समय केही सुधार भएको अवस्था छ । हामीले समस्यामा परेका १ हजार ५७ महिला कामदारलाई उद्दार गरेर घर फर्काउन सफल भएका छौं । यसको नियन्त्रणका लागी हामीले केही अभियान पनि चलाएका छौं । जस्तै भारत तथा कुबेत हुँदै साउदी प्रबेश गर्ने नेपाली महिला कामदारलाई आउन बन्द गरिएको छ ।

मानव तस्कर तथा दलालको फन्दामा परेर साउदी आएका धेरै नेपाली कामदारहरुले दुःख पाएका कुराहरु बहिर आउने गर्दछ, यो सन्र्दभमा दूतावासले कस्तो कदम चालिरहेको छ ?

हो यस्ता समस्याहरु छन् । हामीले त्यस्ता १ सय ७८ जना मानव तस्कर तथा दलाललाई कार्वाही गर्न परराष्टमन्त्रालयलाई अनुरोध गरेर पत्र पठाईसकेका छौं । कार्वाही प्रकृया अघि बढेर २२/२५ जना त पक्राउ परिसकेका छन् भने अन्यको खोजी कार्य भईरहेको छ ।

नेपाल सरकार र साउदी सरकारकोबीचको सम्वन्धलाई कसरी हेर्नुभएको छ ?

नेपाल सरकार र साउदी सरकारकोबीचको सम्वन्ध अत्यन्तै राम्रो छ । नेपालले सन् १९७८ मा साउदीमा दुतावास खोलेको हो तसर्थ सम्बन्ध प्रगाढ छ ।

४ बर्षे बसाईका क्रममा नेपाल र नेपालीलाई साउदीले हेर्ने दृष्टिकोण कस्तो पाउनुभयो ?

नेपालीहरु ईमान्दार छन्, लगनशील छन् र नेपाली कामदारले छिटो काम सिक्न सक्छन् भन्ने नेपाल र नेपालीप्रतिको साउदीको सबैभन्दा ठूलो बिश्वास छ । नेपाली कामदार प्रति साउदीको यही भरोसा भएका कारण नै साउदीमा नेपाली श्रमको महत्व बढेको हो ।

नेपाली कामदारको हकमा साउदी सरकारको कस्तो प्रतिक्रिया पाउनुभयो, यहांको बिचार र अनुभवका आधारमा के साउदी अरब नेपाली कामदारका लागी सही गन्तब्य हो ?

नेपाली कामदारको हकमा साउदी सरकारको सकारात्मक प्रतिक्रिया छ । मैले भन्नुपर्दा सीप सिकेर दक्ष भएर आउने हो भने पक्कै पनि साउदी अरब नेपाली कामदारका लागि सही गन्तब्य बन्न सक्छ ।

हामीले केवल रोजगारीको क्षेत्रमा मात्रै साउदीसँग सम्बन्ध बनाउन सकेका छौं या अरु क्षेत्र पनि सम्बन्ध बिस्तार भएका छन् ? अनि व्यापारिक सहकार्यको आधार के पाउनुभयो ?

साउदी अरब आफैमा ठूलो पूंजी भएको देश हो । यसले पर्याप्त मात्रमा लगानी गर्न सक्छ । नेपालको सन्र्दभमा रोजगारी क्षेत्रमा मात्रै होईन व्यापारिक सहकार्य संगै लगानी भित्र्याउने कार्यहरु भएका छन् । जलश्रोत, सिँचाई र बिद्युत् उत्पादनमा केही लगानी भित्रीसकेको अवस्था छ । सिँचाई र बिद्युत् उत्पादनका लागी १२ अर्ब ५० करोड रुपैयां लगानी गर्ने सम्झौता भए अनुरुप ७ अर्ब नेपाल गईसकेको छ । हामीले यो सम्झौता कार्यान्वयन गर्न सकेको खण्डमा र अझै लगानीको बातावरण राम्रो बनाउन सकेको खण्डमा ५० अर्बको योजना लैजान सकिन्छ ।

अब प्रसंग बदलौं, यहांले उत्कृष्ट काम गर्न सफल भएको भन्दै राष्टपति मार्फत् सम्मान पनि थाप्नुभयो, त्यसलाई कसरी लिनुभएको छ, यो सम्मानले निकै आलोचित पनि बनायो नि है यहांलाई ?

यो गलत कुरा हो, कसले गर्र्यो आलोचना, मलाई आलोचना भए जस्तो लाग्दैन । साउदीमा एक जना ब्यक्ति मात्र छ मेरो हरेक गतिबिधीमा आलोचना गर्ने र उसका केही आसेपासे मात्र । ती ब्यक्तिले गरेका टिका टिप्पणीमा मेरो भन्नु केही छैन । यो तीनै ब्यक्तिले चलाएको भ्रम मात्र हो । मैले मेरो ४ बर्षे कार्यकालमा ईमान्दारिताका साथ काम गरेको छु । जहासम्म सम्मानको कुरा छ, यो त कामको मूल्यांकन भएको हो ।

नेपाली कामदारका समस्या समाधानमा भन्दा पनि सस्तो लोकप्रियताका लागी सरकारी रकमको दुरूपयोग गरि देश बिदेश घुम्ने काम पनि यहांबाट भयो भन्ने आरोप छ नि ?आर्थिक अपारर्दर्शिताका कुराहरु पनि उठेका छन् ?

म चुनौतीका साथ भन्छु, सरकारी रकमको दुरूपयोग गरि म कुनै पनि देश घुम्न गएको छैन । अर्कोे कुरा मेरो बिदाको दिनमा म निजी भ्रमणमा कहाँ जान्छु यो कसैको चासोको बिषय होईन । बिदामा घर जान नपाउनु ? परिवारसंग कतै घुम्न जान नपाउनु । यस्ता कुराहरुमा सरकारी कुराहरु कसरी जोडेर अफवाह चलाउन मिल्छ ? हो म मेरो निजी भ्रमणमा कतार गएको हो यसमा के टाउको दुखाई हो ? मलाई चरित्र हत्या गर्न मलाई आलोचित गर्नका लागी भ्रम फैलाउन चाहने केही मानिसहरु साउदीमा छन् तीनले भ्रम चलाउँदैमा केही हुनेवाला छैन । अर्कोे कुरा यहांले आर्थिक पारदर्शिताका कुरा गर्नुभयो, मैले कुनै आर्थिक हिनामिना गरेको छैन, यसमा म दावाका साथ भन्छु, १ ईन्च तलमाथी गरेको छैन । दूतावासले दिने कुनै पनि सेवामा नेपाली कामदारबाट दस्तुर शुल्क बाहेक एक रियल पनि अतिरिक्त रकम लिएको छैन । मलाई आरोप लगाउनेहरु लाई म ठाडो चुनौती दिन चाहन्छु, मैले कहाँ के अपारदर्शी काम गरे भन्नुपर्र्यो नि आरोप लगाउनेहरुले ।

यहांले आफ्नो कार्यकालमा धेरै काम गरें, भन्नुभएको छ तथापी नेपाली कामदारका समस्या त ज्यू का त्यू छन् भन्छन् त ?

नेपाली कामदारका समस्या ज्यू का त्यू छन् भन्नेहरुले यो, त्यो समस्या छन् भनेर भन्नुपर्र्यो नि । मेरो कार्यकालमा भएका कामहरु तथ्यांकले स्पष्ट पार्छ बास्तवमा मैले भन्न जरुरत नै छैन । हिजो १२/१३ सय नेपालीहरु साउदीको जेलमा बस्न बाध्य थिए आज करिब १ सय ५० जना मात्रै होलान् । मैले यि र यस्ता धेरै गतिबिधीहरु गरेको छु ।

समस्या परेको खण्डमा नेपाली कामदारहरु सहजै रुपमा नेपाली दूतावासको सम्र्पकमा कसरी आउन सक्छन् ?

त्यसको लागी हामीले हाम्रो फोन नम्बर उपलब्ध गराएका छौं । समस्यामा परेका कोही पनि नेपालीहरुले हामीलाई सिधा सम्र्पक गर्न सक्नुहुन्छ ।

अन्त्यमा आम साउदीमा रहेका नेपालीहरुलाई के भन्न चाहनुहुन्छ ?
म सम्पूर्ण साउदीमा बस्ने नेपाली नागरिकहरुलाई धन्यवाद दिन चाहन्छु, र दुतावासका हरेक गतिबिधीमा सहयोग र समन्वय गर्ने नेपाली संघ संस्थाहरुलाई पनि यो घडीमा सम्झन र धन्यवाद दिन चाहन्छु ।