काठमाडौं, २४ साउन । नेपालका भूकम्पपीडितको सहयोगार्थ आयोजना गरिएको ‘ब्याट फर नेपाल’ अभियान अन्तर्गतको च्यारिटी म्याचमा विश्व ११ ले नेपाल सामू १३६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
मलेसियाको राजधानी क्वालालमपुरको किनरारा ओभल मैदानमा जारी २० ओभरको च्यारिटी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको विश्व–११ १३५ रन बनाएर अन्तिम बल अघि बल आउट भयो ।
उसका लागि मार्कुस स्टानिसले ४८ रन बनाए । विश्व ११ को कप्तान श्रीलंकाली लेजेन्ड सनथ जयसूर्या मात्र ६ रनमा आउट भए । वेनुगोपाल रावले २३ रन बनाए भने अहमैद फैजले २३ रन जोडे ।
नेपालका अविनाश कर्ण, सिद्धान्त लोहनी, राजेश पुलामी र शरद भेसवाकरले २–२ विकेट लिए । शक्ति गौचन र मेहबुब आलमले १–१ विकेट लिए । नेपाल अहिले व्याटिङमा छ ।
नेपालको कप्तानी पारस खड्काले गरेका छन् भने विश्व ११ को कप्तानी श्रीलंकाली क्रिकेटर सनथ जयसूर्याले गरेका छन् । खेलमा नेपाली खेलाडीमा शरद भेषवाकर, राजेश पुलामी मगर, सोमपाल कामी, अनिल मण्डल, शक्ति गौचन, मेहबुब आलम, नरेश बुढाएर, भुवन कार्की, करण केसी, सिद्धान्त लोहनी र राजु रिजाल विकेट किपरको भूमिकामा हुनेछन् ।
विश्व–११ मा पाकिस्तानका पूर्व विकेट किपर रसिद लतिफ, बङ्गलादेशका पहिलो टेष्ट कप्तान अमिनुल इस्लाम, अब्दुल रज्जाक, शोहाग गाजी, अष्ट्रेलियाका स्टिभ ओकिफे, मार्कुस स्टाइनिस, मलेसियाका सुरेश नवरत्नम, अहमद फैज, भारतका वेणुगोपाल राव र सिङ्गापुरका चेतन सूर्यवंशी छन् ।















प्रतिक्रिया