केही वर्षयता राजदूत रिक्त रहेको जर्मनी, बेलायत, इजिप्ट, श्रीलंका, ब्राजिल र कतारका लागि कांग्रेस र एमालेको भागवण्डाबाट अब केही हप्तामै राजदूतहरु नियुक्त हुने भनेर परराष्ट्रमन्त्रीले जानकारी दिएका छन् ।
बंगलादेश, साउदी र जापानमा पनि आगामी कात्तिकभित्र राजदूतहरुको पदावधि सकिने भएकोले त्यहाँपनि राजदूत नियुक्तिका लागि कांग्रेस र एमालेको कोटा खुल्ने भएको छ । वैदेशिक रोजगारमा दश वर्षभन्दा बढी अवधी कतारमा विताएका नेपाली समुदायले तीन जना राजदूतहरुको कार्यकाल भोगिसकेका छन् । पूर्वराजदूतहरुले कतारमा आफ्नो कार्यकालमा आ–आफ्नै प्रकारले काम गरेर फर्के ।
दूतावासको स्थापनासंगै कतारमा कुटनैतिक दायित्व वहन गर्न आएका प्रथम कार्यकालका राजदूत श्यामानन्द सुमनले दुई मुलुककाबीच कुटनीतिक क्षेत्रमा र न्युनआयमा कठिन परिश्रम गर्ने अधिक नेपालीहरुको सुरक्षित आप्रवास र रोजीरोटी सुव्यवस्थित गर्ने सवालमा जति काम गरे त्यो ओझेलमा पर्यो तर उनले त्यसवेलाका नेपालीहरुलाई ठग्ने, शोषण गर्ने र दूतावासमा आफ्नो हालीमुहाली गरेर दूतावासलाई नै आफ्नो पकड्भित्र राखेर व्यक्तिगत फाइदा लिदै समाजमा सामाजिक अगुवाको मुखुण्डो लगाएर आफुलाई समाजसेवक भनाउँदा त्यसवेलाका केही नेपाली स्वार्थी समुहहरुसंगको साँठगाँठ र उठवसले श्यामानन्द केही औंलामा गनिने दलालीप्रवृतिका नेपालीहरुका प्रियपात्र भए तर न्युनआयमा कठिन परिश्रम गर्ने अधिक नेपाली समुदायका लागि अलोकप्रिय भएर गए । त्यसपछि कार्यवाहक राजदूत रहेका राजेन्द्र पाण्डेले त आफनो कार्यकक्षबाटै रोजगारदाताहरुसंग हात फैलाएर भिषा माग्ने गरेको कुरा त्योवेला निकै चर्चाको विषय हुने गर्दथ्यो ।
दोस्रो कार्यकालका लागि कांगेसको भागबण्डाबाट आएका अर्का राजदुत डा. सुर्यनाथ मिश्रले ठिक त्यसको विपरित काम गरे । मिश्रले कुटनैतिक क्षेत्रमा केही नयाँ आयाम थप्दै न्युनआय भएका नेपालीहरुलाई ठग्ने, शोषण गर्ने, भेदभाव गर्ने, दुतावासलाई आफ्नो पकड्भित्र बनाएर स्वार्थसिद्ध गर्न खोज्ने, आफुलाई फाइदा उठाउदै आफूलाई नेपाली समुदायको अगुवा, समाजसेवी भन्ने स्वनामधारी एकदुई प्रतिशत नेपाली समुहहरुसंग साँठगाँठ गरेनन् तर अन्ठानव्वे प्रतिशत भन्दा बढी न्युनआयमा कठिन परिश्रम गर्ने अधिक नेपाली समुदायको पक्षमा उभिए । यसकारण डा. सावचाही एकदुई प्रतिशत नेपाली समुदायका लागि अलोकप्रिय भए तर बाँकी नेपाली समुदायको लागि लोकप्रिय भएर गए भने कतार सरकारबाट समेत स्यास अफ मेरिटले सम्मानित भएर फर्के ।
तेस्रो कार्यकालका लागि एमाओवादीको भागबण्डाबाट आएकी महिला राजदुत डा. मायाकुमारी शर्मा कुटनितिक क्षेत्रमा अनभिज्ञ थिइन् । उनले चारवर्षे अवधी पुरा गर्न पाइनन्, करीव साढे एकवर्ष जतिमात्र राजदुत रहन पाइन् । उनको विरुद्धमा उनलाई सिफारिस गरेर पठाउने एमाओवादीको कतारको भातृसंगठन नेपाली जनप्रगतिशील मञ्चका ठेट्ना नेताहरुले आफ्नो पार्टीले सिफारिस गरिपठाएको राजदुतको पक्षमा नउभिएर घातक, आत्मघाती र कुठाराघात राजनिति गर्दै उनको विरुद्धमा अन्य राजनितिक पार्टीका प्रवासका वैचारिक संगठन र सामाजिक संघसंस्थाहरु समेतलाई उक्साउदै, नेपाल फिर्ता जानुपर्नेसम्मको वातावारण श्रृजना गरेर अन्तत आफ्नै गोडामा बन्चरो हाने ।
डा. सावको कार्यक्षमता, कुटनितिक कौशलता शुरुमा निकै कमजोर थियो सोहीवेला उनलाई जनप्रगतिशील मञ्चका ठेट्ना नेताहरुले र मिडीया समेतले उनको कुटनितिक कमजोरीको फाइदा उठाएर घेराबन्दीमा पारे भने त्यहीवेला झण्डैझण्डै दलाली समुहहरुको चंगुलभित्र पनि उनी फस्न पुगिन् । तर पछिल्लो चरणमा आएपुग्दा भने उनी न्युनआयमा कठिन परिश्रम गर्ने अधिक नेपाली समुदायको पक्षमा उभिएकी थिइन् र श्रमिकहरुको पक्षमा केही राम्रो र उदाहरणीय कार्यहरु गरेर मिश्रित गाली र ताली खादै नेपाल फिर्ता गईन् ।
कसैको अलोकप्रियताको नकारात्मक व्याख्या र कारण कोट्याएर समाजमा नकारात्मक सन्देश पुरयाउनुभन्दा कसैको सकारात्मक कार्य क्षमता प्रर्दशनी र कृतिको प्रसंग कोट्याएर दृष्टान्त राख्नु राम्रो होला त्यसैले यहाँ दुतावास स्थापनाकाल अर्थात् प्रथम कार्यकालको राजदुत श्यामानन्दको होइन प्रसंग दोस्रो कार्यकालमा आएका राजदुतको अलिकति प्रसंग कोट्याउन खोजिएको छ ।
दोस्रो कार्यकालमा आएका राजदुत डा.मिश्र नेपाली कांग्रेसबाट राजदुतको टिका लगाएर राजनैतिक नियुक्तिमा कतार आएका थिए । उनी आउदा एकदुई प्रतिशत नेपाली समुदाय दुतावास स्थापनाकालकै राजदुत जस्तो होला भनेर खुशी भएका थिए । उनीहरुमध्ये केहीले मिश्रलाई दुलहीसरी स्वागत गरेका पनि हुन् । उनी कतार एअरपोर्टमा जहाजबाट ओर्लने वित्तिकै सपरिवार सहित स्वागत सवारीको लस्कर पनि चलाएकै हुन् । कतार आउने राजदुतलाई आफ्नो अनुकुलमा उभ्याउने प्रयास हरतरहले गरेकै हुन् । उनीहरुले आफ्नो निवासतिर पनि जलघडा सहित विभित्र रितले स्वागत गरेकै हुन् । उनीहरुले राजदुतलाई वेलावेलामा आफ्नो निवासमा भोजभतेर खुवाउने अथवा राजदुतकै निवासमा गएर महाभोज खादै राजदुतलाई मन्त्रमुग्ध पारेर आफ्नो अनुकुलमा पारेर आफ्नो पकड्मा राजदुत र नेपाली दुतावासलाई राख्न पनि खोजेकै हुन् तर ती सबै तिगडम्वाजीलाई मिश्रले लत्याई दिएपछि ती नेपाली समुहका एकजमात नराम्ररी झस्किए । उनीहरुले मिश्रसंग अपेक्षा गरेको सम्बन्धको दुरी जस्तो र जति थियो त्यस्तो सम्बन्धको दुरीसम्म मिश्र पुगेन र सम्बन्ध यथास्थानमै सिमित रह्यो ।
त्यसविचमा मिश्रले नेपाली समुदाय, समाज, संघसस्था, वैचारिक संगठन लगायत विभित्र व्यक्ति व्यक्तित्व, बुद्धिजिवी, पत्रकारहरुसंग कतारमा रहेका नेपाली आमसमुदायहरुको वारे विविध जानकारी लिदै नेपाली श्रमिकहरुको वास्तविक दुरावस्था बुझेपछि भने आफुलाई न्युनआयमा कठिन परिश्रम गर्ने अधिक नेपालीहरुको पक्षमा उभ्याएर नेपाली कामदारहरुको सुरक्षित आप्रवास, रोजीरोटीको सुव्यवस्था र रोजगारीको हकहितको पक्षमा जोडदारका साथ काम गर्न शुरु गरे ।
उनले आफुलाई सिफारिस गरी पठाउने पार्टीका र अन्य पार्टीहरुका लागि हनुमाने चरित्र कहिल्यै देखाएनन् नत बकम्फुसे गफ नै छाँटे, नत नारदमुनीको चरित्र देखाए नत सकुनीको चाल नै चले । बरु एकोहोरो नेपाली श्रमिकहरुको सहयोग र उद्धारको लागि रातदिन लागिपरे ।
मिश्रको कार्यकालमा दुतावास ठगिखाने नेपालीहरुको विपक्षमा रहेकोले ठगिखाने वर्ग र दुतावास विचको सुमधुर सम्बन्ध चिसो भएकै हो । ती ठगिखाने एकदुई प्रतिशत दलाली प्रवृतिका नेपाली समुदायहरु आफ्नो फाइदा नहुने बुझेपछि राजदुतको व्यवहार र दुतावासको कार्यशैलीदेखि असन्तुष्ट रहेका थिए । त्यो भएपछि मिश्रसंग अन्तिम अवस्थासम्म पनि उनीहरुको विश्वासिलो, भरपर्दो समन्वयात्मक सम्बन्ध झांगिएन ।
दलाली समुहहरु मध्येका केही त राजदुत नेपाल नफर्केसम्म दुतावासमा पाइला नटेकोपनि देखियो । त्यसवेला नेपालमा दादागिरी चलाईराखेको माओवादी पार्टीको कतारको भातृसंगठनको प्रभावमा डा.साव परेका थिए भन्ने आरोप र जनगुनासो पनि एक थरीबाट प्रशस्तै सिनिने गरेको थियो । जोसुकैसंग प्रभावित भएपनि, आफ्नो पद जोगाउनकै लागि जेजस्तो कुटनिति रणनिति अपनाएपनि उनले राम्रै काम गरेको हुनाले यो कुरा दृष्टान्तको रुपमा मात्र प्रस्तुत गर्न खोजेको हो तर मिश्रको यसरी प्रशंसा गर्दैगर्दा एउटा कुरा के चाही होइन भने व्यक्तिगत रुपमा नत राजदुतबाट राजनितिक, आर्थिक, कुटनितिक फाइदा लिइयो नत त्यस्तो कुराको अपेक्षा नै गरियो ।
परराष्ट्रमन्त्रीको कुरा अनुसार अर्का महामहिम राजदुत चौथो कार्यकालका लागि राजनैतिक भागवण्डाबाट नियुक्त भएर आउने भएपछि अगाडी आफ्नो दायित्वलाई प्राथमिकता र इमान्दारीताका साथ निर्वाह गर्नुपर्ने चुनौति छ ।
१. अव आउने राजदुतलाई पनि माथिका पूर्व राजदुतहरुलाई झैं आफ्नो अनुकुल बनाउन हिजो सुषुप्त अवस्थामा रहेका दलालप्रवृतिका एकदुई प्रतिशत नेपाली समुदाय शुरुशुरुमा विभिन्न उपायहरु अपनाउन सक्नेछन् । यदी राजदुतलाई आफ्नो अनुकुल बनाउनसके यिनीहरुले दुतावास नै आफ्नो अनुकुल बनाएर अनेक किसिमको क्रेडिट र एडभान्टेज लिन खोज्नेछन् ।
यहाँ नेपाली श्रमिक कामदारहरुको सुरक्षित आप्रवास र रोजीरोटी अव्यवस्थित र जोखिममा परेको खण्डमा एकातर्फ नेपालमा रहेका हजारौ श्रमिकहरुका परिवारहरुमाथि आर्थिक वज्रपात पर्नजान्छ भने ठगी र दलाली संस्कारको पुनरुत्थान भई उनीहरुको दवदवा रही वैदेशिक रोजगारीमा श्रम शोषण, मानविय शोषण, कुटनितिक शोषण र मानवतष्करी नै हुनेछ । देशमा सबैभन्दा बढी रेमिटयान्स भित्रिरहेको आर्थिक सन्तुलनतामा समेत प्रश्नचिन्ह लाग्नेछ भने श्रम बजारमा पनि यसको असर कही न कही पर्दछ ।
यस सवालमा अव आउने राजदुत पनि बेलैमा सचेत भएर रहनैपर्ने अवस्था हो । कतारमा अझैपनि गरिखाने वर्ग र ठगिखाने वर्ग गरी दूईओटा वर्गहरुको दुई कित्ता नेपाली समुदायमा विभाजित भएकाछन् । ठगिखाने नेपालीले जहिलेपनि गरिखाने नेपालीलाई ठगी नै राखेकाछन् यो रोग नेपाली दुतावास स्थापना भएपछि ठगिखाने अर्थात् दलाली समुहहरुसंगको दरिलो लगनगाठो, आर्थिक दम्भ, व्यक्तिस्वार्थ, आर्थिक लोलुपता र दुतावासका केही कर्मचारीहरुको भ्रष्टाचारी व्यवहारको कारण जन्मिएको हो र आजसम्म पनि कहिनकहि कतै न कतै, कुनै न कुनै रुपमा यो संस्कार सुषुप्त अवस्थामा विद्यमान छ र अहिले कताकता विस्तारै सक्रिय हुन खोजिरहेको संकेत पनि देखिदै आएको छ ।
कतार सरकारले नेपाली श्रमिकहरुलाई भरोसा गरेर श्रमबजार दिएको छ । यही श्रमबजार भित्र न्युनआयमा काम गरिरहेका नेपालीहरुको अनेक किसिमका समस्याहरु, तलव नपाउने, भिषा नलगाइदिने, ओटी नदिने, समयमा घर नपठाउने, एउटा काम भन्दै ल्याएर अर्कै काममा लगाउने, हातपात समेत गर्ने, मोटो रकम असुल्ने, घर फर्कने वेला ग्राच्इटी नपाउने, श्रमिकहरुको बसाई अव्यवस्थित हुने, महिला हाउसमेड कामदारहरुलाई मानसिक र शारिरीक शोषणसमेत गर्ने, लगायत श्रमबजारकै वरिपरी हुने धाँधली, भ्रष्टाचार, अन्याय, अत्याचार, झुठ, जालसाँजी, ठगी, आपत्विपत् भित्रै समस्याको गाँठो घुमिराखेको पनि सत्य हो ।
अव आउने राजदुत र दुतावासले गरिखाने नेपालीहरुको पक्षमा हिजो जस्तै आगामी दिनमा पनि निरन्तर लागिरह्यो भने राजदुत र दुतावासले अन्ठानव्वे प्रतिशतभन्दा बढी नेपालीको सहानुभूति र समर्थन पाइ नै रहनेछ तर एकदुई प्रतिशत दलाल प्रवृतिकाहरु भने असन्तुष्ट भई नै रहनेछन् ।
त्यसकारण जसरी रातो कार्पेटमाथि स्वागत गर्दै दुलही भित्र्याए जसरी भित्र्याउदा पनि आखिरमा इमान्दार नेपाली, मेहनतकस नेपाली, हेपिइएका, ठगिएका नेपाली, न्युनआय र स्तरको भनेर गन्ति नै नगरिने नेपाली समुदायको कित्तामा दोस्रो राजदुत र नियोग उभिए जसरी नै कतारका लागि पार्टीको टिको लाएर आउन लागेका भाग्यमानी महामहिम राजदुत र नियोगपनि त्यसरी नै उभिदिओस् र आपत्विपत्मा परेका न्युनआयमा कार्यरत् नेपालीहरुमा आइपर्ने समस्याहरुको पक्षमा उभिदिएर उनीहरुको हर्षको आँशु दुतावासले सधैं देख्नपाओस् ।
किनकी विश्वमा सबैभन्दा धेरै नेपाली श्रमिक भएको मुलुक नै खाडी मुलुक हो भने विश्वमै सबैभन्दा बढी न्यूनआयमा श्रम गरिरहेका नेपाली श्रमिक कार्यरत् मुलुक भारतपछि खाडी मुलुकमा कतार नै हो ।
२. न्युनआयमा काम गर्ने नेपाली कामदारहरुहरुको संख्यासंगै कतारमा नेपाली परिवारहरुको संख्यापनि निकै बढ्दै छ । झण्डै पाँचशयको हाराहारीमा नेपाली परिवारहरु रहेकाछन् । उनीहरुका छोराछोरीहरु पढाउन कतारमा अव नेपाली विध््यालयको आवश्यकता भइसकेको छ र कुटनितिक पहलबाट कतार सुरकारसंग समन्वय गरेर विध्यालय स्थापना गर्नेतर्फ अव आउने राजदुतले विहेष पहलकदमी गर्नुपर्छ ।
३. नेपालीहरु धेरै संख्यामा भएकोले सांस्कृतिक हलको लागि पनि कतार सुरकारसंग पहल गर्नु आवश्यक छ ।
४. अहिले राजदुतावास रहेको भवन धेरैकुराले राजदुतावासको लागि त्यति ठिक देखिदैन । भवन खुला ठाउमा भएपनि त्यहा आश्रयमा आउने पिडीत नेपालीहरुका लागि अस्थाई सेल्टर र दुतावासलाई चाहिने कोठाको अभाव छ । दुतावासलाई सार्ने विषयमा वर्तमान कार्यवाहक राजदुत मणिरत्न शर्माले पनि चासो देखाएकाछन् । राजदुतावास अन्य सुविधाजनक स्थानमा सारेर खानेपानी, शौचालय, राजदुतको कार्यकक्ष, चिफ अफ मिसनको कार्यकक्ष, वैठक हल लगायतको सुव्यवस्थित ढंगले व्यवस्था हुनु आवश्यक छ र यो राजदुतावासमा आउन लागेका नया राजदुत या दुतावासका वर्तमान कर्मचारहिरुले सिघ्र कदम चाल्नु आवश्यक छ ।
अन्त्यमा, वितेको समय र मानिसले बनाएको इतिहास पुनः हुवहु दोहोरिदैन तर आगामी समयलाई पछयाउदै गर्दा इतिहास बनिसकेको अभिलेख र दस्तावेजहरुले अगाडीको यात्रामा सचेत र सर्तक गराउदै परिवर्तनकामी भोलीलाई फेरी आज भन्ने वर्तमानको इतिहास बनाउदै जान सहयोग भने पक्कै गरेको हुन्छ ।
कतारका समाजसेवी, संघसस्थाहरुले पनि अनेक विकासे कुरा गरेरमात्र नेपाली समुदायको रोजीरोटीको सुरक्षा अवश्य पनि हुन्न । असारमा रोपाई गर्नुपर्छ अनि मात्र मंसिरमा दाई गर्न पाइन्छ तर कुराले मात्र असारमा रोपाई पनि हुन्न नत मंसिरमा दाँई नै हुन्छ । नेपाली श्रमिक कामदारहरुको हक हित र रोजीरोटीको पक्षमा काम गर्ने नेपाली समुदायका अगुवा भनिनेहरु त्यति धेरै समर्पित भावनाले काम गर्दैनन् र गरेका पनि छैनन् । बरु राष्ट्रि«य अन्तर्राष्ट्रिय कुराहरु गर्न पछाडी पर्दैनन् । उनीहरुका समाजसेवा र विकासे कुरा यति धेरै हुन्छन् कि उनीहरुका कुराले समाजमा कायापलट नै हुन्छ भत्रे भान समेत पर्दछ तर त्यो भ्रममात्र हो ।
समाजसेवाको नाममा समाजसेवक हौं भन्दैं आफु बनझाक्री जस्तो जताजुकै जेपायो त्यही भुइृफट्टा भएर प्वाक्क बोल्दै हिड्ने मान्छे वास्तवमा अयोग्य मात्र होइन वेइमान पनि हो । कतारको नेपाली समुदायभित्र यस्ता वनझाक्री चरित्रका समाजसेवीहरु धेरैधेरै छन् ।
कतारको नेपाली समुदायको विचमा अत्यावश्यक कुरा भनेको नेपाली श्रमिक कामदारहरुको वारेमा सोचविचार गर्नु नै हो ।
कतारमा पनि विभिन्न संघसस्थाहरु र समाजसेवी, विद्धान, विद्धुषीहरुले श्रमिक कामदारहरुको उद्धार गरेको खवर सुन्न पाइयोस् । श्रमिक कामदारहरुलाई शोषण गर्ने, अन्याय गर्ने दलाली प्रवृतिको खुलेर विरोध गरेको खवर सुन्न पाइयोस् ।
श्रमिकहरुको हकहितको लागि, रोजीरोजीको सुरक्षाको लागि छलफल, अन्तरक्रियाको आयोजना गरेको सुन्न पाइयोस् । नेपालमा लाखौं करोडौ लगानी गर्ने योजना र ठुल्ठुला आकासे कुराले कतै झरेको टिप्न खोज्दा काखको पनि नगुमोस् निष्पक्षरुपमा नेपाली राजदुत र दुतावासले गरेको राम्रो कामको प्रशंसा गर्नैपर्छ तर नराम्रो कामको लागि कहिल्यै प्रशंसा गर्नु हुदैन बरु त्यसवेला सबै तह र तप्काका कतारस्थित आम नेपाली समुदायले खवरदारी गर्दै राय सल्लाह र सुझाव दिनुपर्दछ । यदी अधिकतम नेपाली समुदायको रायसल्लाह सुझावलाई दुतावासले सम्मान गरेन भने विरोध पनि गर्नुपर्दछ र यो विभिन्न तह र तप्काका सचेत नेपाली नागरिक समुदायको अनिवार्य कर्तव्य पनि हो । राजदुत र दुतावासलाई सक्षम, सतर्क र सचेत बनाउन प्रवासमा रहेका सचेत नेपाली समुदायबाट पनि नेपाल सरकार र सम्बन्धित निकायसम्म पनि ध्यानाकर्षण गर्दै रहनुपर्छ । किनभने राजदुतावसको पहिलो मूल कर्तव्य भनेको आफना नागरिकको सुरक्षा र हित हो ।
थेबे कतारका नेपाली पत्रकार हुन् । ([email protected])













प्रतिक्रिया