२९ आश्विन २०८३, बिहिबार

वायु सेवा निगम सुधार्ने योजना ल्याउन सभासद्को जोड

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal-Airlines– सिबी अधिकारी

काठमाडौँ, १७ साउन । मुलुकको प्रतिष्ठासँग जोडिएको नेपाल वायु सेवा निगमको साख जोगाउन त्यहाँभित्र हुने राजनीतिकरणको अन्त्य गरी व्यावसायिक ढङ्गले छवि सुधार्नेतर्फ प्रभावकारी कार्ययोजना ल्याइनुपर्नेमा सभासद् तथा सरोकारवाला निकायका प्रमुखले जोड दिएका छन् ।

व्यवस्थापिका–संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको आजको बैठकमा बोल्ने अधिकांश सभासद्ले निगम माथिको राजनीतिक हस्तक्षेप बन्द गरी यसको व्यावसायिक सुधारका लागि सबैको ध्यान जानुपर्ने खाँचो औँल्याउनु भयो ।

उहाँहरुले निजी वायु सेवा कम्पनीले आफ्नो व्यावसायिक स्वार्थको नाममा असुरक्षित र अव्यवस्थित सेवा दिएर यात्रुको जीउधनमाथि खेलबाड गरिरहेको भन्दै उनीहरुलाई विज्ञ सहितको समिति बनाएर व्यवस्थित गर्न जरुरी भएको धारणा राख्नु भयो ।

समितिको बैठकले नेपाल वायु सेवा निगमको जहाज खरिद प्रक्रिया, नयाँ ल्याइएका चिनियाँ जहाजको अवस्था र बाँकी खरिद प्रक्रियाबारे आवश्यक कागजात सात दिनभित्र समितिमा उपलब्ध गराउन निर्देशन दिँदै यसबारे पुनः छलफल गर्ने निर्णय गरेको छ ।

समितिका सभापति प्रभु साहले निगमको अवस्था, समग्र हवाई क्षेत्रको सुरक्षा, निजी वायुसेवाको सेवा गुणस्तरबारे सम्बन्धित निकायका प्रमुखसँग थप छलफल गरी निर्णय लिइने बताउनुभयो
बैठकमा सभासद् सुजाता कोइरालाले नेपाल वायु सेवा निगमको अहिलेको अवस्था आउनुको एउटै कारण राजनीतिककरण हो भन्दै निगम सुधार र यसलाई आधुनिक, सुरक्षित र यात्रुको विश्वासयोग्य बनाउन सरकारले नै विशेष हस्तक्षेपकारी योजना ल्याउन जरुरी भएको उल्लेख गर्नुभयो ।

सभासद् बलबहादुर केसीले नेपालको छविसँग जोडएको नेपाल वायुसेवा निगमलाई व्यावसायीकरण गर्दै अन्य निजी क्षेत्रका वायु कम्पनीलाई सुरक्षित र गुणस्तरीय बनाइनुपर्ने बताउनुभयो ।

सभासद् सोमप्रसाद पाण्डेले निगमलाई व्यावसायिक ढङ्गले अघि बढाउन र यसको साखलाई जीवन्त तुल्याउन विशेष कार्ययोजना ल्याइनुपर्ने खाँचो औँल्याउनुभयो ।

त्यस्तै सभासद् मीनबहादुर विश्वकर्मा, देवराज झा, गीता वाग्ले, धनमाया विक खनाल लगायतले निजी क्षेत्रका वायु सेवा कम्पनीको व्यावसायिक स्वार्थ र मनोमानीले हवाई यात्रा असुरक्षित र अव्यवस्थित बनिरहेको भन्दै नेपालका सबै वायु सेवालाई व्यवस्थित रुपमा सञ्चालनका लागि विज्ञ सहितको समिति गठन गरिनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेशमान श्रेष्ठले अहिलेको अवस्थामा निगम साँच्चिकै धरासायी अवस्थामा पुगे पनि यसलाई माथि उकास्न मन्त्रालयले विशेष सक्रियता बढाएको बताउनुभयो ।

निगमलाई माथि उकासे मात्र नेपालमा पर्यटक बढ्ने भन्दै उहाँले निगमलाई व्यावसायिक ढङ्गले सुदृढीकरण गर्न जहाजको सङ्ख्या वृद्धि गरी सेवालाई विशिष्टीकरण गर्न जरुरी भएको उल्लेख गर्नुभयो ।

नेपाल वायु सेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले निगमको व्यवस्थापन कमजोरीका कारण अन्तर्राष्ट्रिय पहिचान बोकेको राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा खस्कँदो अवस्थामा रहेको भन्दै यसको उत्पादन क्षमता मुख्य समस्या भएको बताउनुभयो ।

“निगमको २८ वर्षमा दुईवटा जहाज किनेको इतिहास छ, यस्तो संसारका कुनै पनि देशमा छैन । त्यसैले यसलाई व्यावसायिक प्रतिस्पर्धामा उतार्न अब निगमले चाँडै दुईवटा बोइङ जहाज यो आर्थिक वर्षभित्र ल्याउँछाँै र प्रत्येक वर्ष एक जहाज थप्ने योजना निगमले ल्याउँदैछ,” उहाँले भन्नुभयो ।

त्यसोत संसारकै महँगो हवाई गन्तव्यका रुपमा नेपालको राजधानी काठमाडौँ रहेको छ । एसियाको त एक नम्बरमै पर्छ काठमाडौँ । जहाजको सङ्ख्या कम हुनु र हवाई भाडा बढी भएका कारण पर्यटक बढ्न नसकेको सचिव श्रेष्ठ स्वीकार्नुहुन्छ । रासस