२९ आश्विन २०८३, बिहिबार

धनगढी सहर उपमहानगरपालिका बन्दै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

dhangadhiधनगढी, १६ साउन । सुदूरपश्चिमको प्रमुख ब्यापारिक केन्द्रका रुपमा रहेको कैलालीको धनगढी सुदूरपश्चिमै पहिलो उपमहानगरपालिका बन्ने भएको छ ।

सुदूरपश्चिमका नौ जिल्लामा रहेका २१ ओटा नगरपालिका मध्ये धनगढीलाई उपमहानगरपालिका बनाउन लागिएको हो ।  धनगढीलाई उपमहानगरपालिका बनाउन बिहीबार जिल्ला तहबाट आवश्यक कागजात सहित संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा सिफारिस गरेर पठाइएको छ ।

जिल्ला प्रशासन कार्यालय कैलालीमा प्रमुख जिल्ला अधिकारी तथा जिल्लास्तरिय नगरपालिका विस्तार सहजीकरण तथा सिफारिस समितिका संयोजक राजकुमार श्रेष्ठको अध्यक्षतमा बसेको सरोकारवालाहरुको बैठकले फूलवारी र उर्मा गाविससहितको धनगढी उपमहानगरपालिका बनाउन सिफारिस गरेको हो ।

फूलवारी र उर्मा गाविसलाई मिलाएर उपमहानगरपालिकाका लागि चाहिने शर्त तथा कानुनी प्रावधानहरु पुरा भएपछि हालको धनगढी नगरपालिकालाई उपमहानगरपालिका बनाउन संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयलाई आवश्यक कागजात सहित सिफारिस गरेर पठाइएको कैलालीका प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठले बताए ।

उपमहानगरपालिका हुनका लागि कम्तिमा एक लाख जनसंख्या, वार्षिक न्यूनतम १० करोड आन्तरिक आय तथा विद्युत्, खानेपानी, पिच सडक, उच्च स्तरिय शिक्षा तथा स्वास्थ्य सेवाको सुविधा, राष्ट्रिय तथा अन्र्तराष्ट्रिय खेलकुदका लागि सामान्य व्यवस्था, सार्वजनिक उद्यान भएको र नगर सभागृहको व्यवस्था हुनुपर्ने प्रावधान हुनुपर्ने प्रावधान छ ।

फूलवारी र उर्मा गाविस धनगढीमा मिलाउँदा जनसंख्या र वार्षिक आम्दानी पनि मेल खाने र अन्य सेवासुविधाका हकमा पहिलेनै उपलब्ध भएकाले उपमहानगरपालिका लागि जिल्लास्थित सर्वदलिय तथा सर्वपक्षिय बैठक बसी मन्त्रालयलाई सिफारिस गरेर पठाएको धनगढी नगरपालिकाका कार्यकारी अधिकृत रामकुमार श्रेष्ठले जानकारी दिए ।

‘हाल धनगढी नगरपालिकाले वार्षिक साढे तीन करोडको हाराहारीमा आन्तरिक श्रोतबाट आम्दानी गरिरहेको छ,’ कार्यकारी अधिकृत श्रेष्ठले भने, ‘फूलवारी र उर्मा गाविसलाई गाभेर सम्पत्ति तथा अन्य एकीकृत कर ब्यवस्थित गर्दा वार्षिक आन्तरिक १० करोडको आयश्रोत पनि पूरा हुनेछ ।’

त्यस्तै, २०६८ को जनगणनाअनुसार धनगढी नगरपालिकाको जनसंख्या एक लाख १ हजार ९७० रहेको छ भने फूलवारीको २० हजार ५०८ र उर्माको १५ हजार १८८ छ । यो सँगै अब धनगढीको कम्तिमा एक लाख ३७ हजार ६६६ जनसंख्या हुनेछ ।

धनगढीलाई उपमहानगरपालिका बनाउन फूलवारी र उर्मा गाविसले लिखित निर्णय सहित सहमति दिइसकेका छन् । जिल्लाबाट पनि सिफारिस भएर गइसकेकोले धनगढीलाई उपमहानगर बनाउन बाटो खुलेको कार्यकारी अधिकृत श्रेष्ठको भनाई छ ।

उनले भने–‘जिल्ला तहबाट सबै प्रक्रिया पूरा गरेर मन्त्रालयमा फाइल पठाइएको छ । मन्त्रालयले मन्त्रिपरिषद्बाट अनुमोदन गराएपछि धनगढीले उपमहानगरपालिकाको दर्जा पाउनेछ ।’

धनगढीलाई स्मार्ट सिटी बनाउन एशियाली विकास बैंकको आर्थिक सहयोगमा काम पनि भइरहेको छ । फूलवारी र उर्मा गाविसलाई समेत समेटेर उपमहानगरपालिका बनाउन धनगढी नगरपालिकाको ११ औँ नगरपरिषद्बाट पनि संघीय मामिाला तथा स्थानीय विकास मन्त्रालयमा सिफारिस गरिएको थियो ।

हाल धनगढी नगरपालिकामा १४ वटा वडा रहेका छन् । फूलवारी र उर्मा गाविसमा चार÷चार वटा वडा थपेर २२ वटा वडा बनाउने सहमति भई उपल्लो तहमा पठाएको कार्यकारी अधिकृत श्रेष्ठले जानकारी दिए ।