‘पाण्डब जी नमस्कार ! म नबोदिता मानन्धर ।’
‘नमस्कार !’
‘पाण्डव जी किन चकित पर्नु भयो ? मलाई देखेर पनि अझैं विश्वास मान्नु भएको छैन कि क्या हो ?’–नबोदिताले प्रश्न गर्दछिन् । पाण्डब मन्द मुस्कान सहित प्रस्तुत हुन्छ–‘तपाई हदै राम्री हुनु हुँदो रहेछ । त्यसैले सोंच मग्न हुन पुगेछु ।’
‘राम्री देखेर हो कि ? सुनसान रात छ । पसलहरु पनि खुलेका छैनन् । मान्छे पनि कोही छैनन् । कपाल छाडेकी, सेतो बस्त्रमा सजिएकी युवती, कतै भूत त होइनी ? भनेर डराउनु भएको छ’–नबोदिताले ठट्टा गर्दछिन् । उनको कुरा सुनेर पाण्डबले पनि ठट्टाको रंगमञ्च निर्माण गर्दछ-‘भूतहरु यति राम्रा हुन्छन् भन्ने थाहा पाएको भए, बाल्यकाल देखि नै भूतहरुसँंग भेट नहोस् भनेर किन कामना गर्थे ? आज थाहा भयो, भूतहरुलाई हेर्ने दृष्टिकोण नै मेरो गलत रहेछ ।’
घरदेखि समाजसम्म हिन्दूधर्मका मूल्य, मान्यता, संस्कारहरुले हामीलाई बाँधेको छ । तर यो भन्दैमा अरुको धर्मलाई प्रतिबन्ध गर्नुपर्छ भन्ने मान्यता नै धार्मीक कट्टरता हो । यस्तो सोंचले मुलुकलाई बर्बाद बनाउँछ । तसर्थ धर्म भन्ने कुरा जबरजस्ती लाद्ने विषय होइन ।
पाण्डबको कुरा सुनेर नबोदिताले हाँसोको खित्का छाड्छिन् । उनीसँगसँगै पाण्डब पनि हाँस्न थाल्छ । पाण्डब हाँस्दाहाँस्दै बोल्न थाल्छ–‘अनि आफ्नो कथाको पेटारो ल्याउनु भएको छैन ? रात पर्न लागि सक्यो, मलाई ढिला हुन्छ । आज किन हो, यति चाँडै ९ बजे नै कृर्तिपुर बजार सुनसान भएको ?’
‘यो सबै भूतको कमाल हो । भूतको डरले सबै जना पसल बन्द गरेर समसाँझैं सुति सके । तपाई पनि भूतको चँगुलमा पुर्न भएको छ । आएपछि फर्कन गाह्रै पर्ला । भूतको राम्रो रुप देख्नुभयो, अब दानबीय पक्ष पनि हेर्नुहोस्, आउना साथ जान कहाँ पाइन्छ ?’–नबोदिता बोल्दाबोल्दै पुनः खित्का छाडेर हाँस्न थाल्छिन् । पाण्डबले पनि ठट्टाको जवाफ त्यस्तै पाराले दिन्छ–‘त्यसो भए, आज भूतको नियन्त्रणमा रातभर बस्नु पर्ने भयो ।’
दुबै जना हाँसि रहेका थिए । त्यही बेला प्रहरीको भ्यान आउँछ । भ्यानबाट अगाडि बसेका प्रहरी बोल्न थाल्छ–‘यति राती बीच सडकमा केको हाँसोको फोहोरा छुटेको छ । तपाईहरुलाई थाहा छैन । बानेश्वरमा धार्मीक कुरालाई लिएर झडप भयो । ३ जना मान्छे मरेका छन् । त्यसैले १० बजेबाट सरकारले कफ्र्यू जारी गरेको छ । ९ बजि सक्यो । त्यसैले मान्छेहरु सबै आ–आफ्ना घर लागि सके । तपाईहरु भने गफमा मस्त हुनुहुन्छ । मर्ने बिचार आयो कि क्या हो । छिटो जानुहोस् आ–आफ्नो बासस्थानतर्फ ।’
प्रहरीको भ्यान अगाडि बढ्छ । नबोदिता र पाण्डब चुपचाप थिए ।
‘बरबाद हुने भयो । अब म कसरी फर्कने ? डायरी दिनुहोस्, म छिटो जान्छु । माथितिर ट्याक्सीहरु अडिएका थिए’–पाण्डब आत्तिदैं बोल्छ । नबोदिता भने गम्भीरताका साथ प्रस्तुत हुन्छिन्–‘प्रहरीको कुरा सुन्नु भएन । यस्तो अवस्थामा यतिबेला केको ट्याक्सी पाइन्छ ? आत्महत्या गर्ने बिचार आयोकि क्या हो हजुरलाई । जो बबाल भइरहेको क्षेत्रतर्फ जान्छु भन्नुहुन्छ ।’
‘अनि के गरौं त अब । कहाँ जाऔं ?’
‘तपाई मेरो कारण यहाँ आउनु भएको छ । मेरै कारण समस्यामा पर्नु भयो । यो सब थाहा पाउँदा पाउँदै म त्यति निष्ठूरी त छैन होला नी ! हजुरलाई अल्पत्र पारेर मस्तसँग बस्ने । हाम्रो घर छैन र ? आज त्यही बस्ने भोली बिहानै जानु होला’–नबोदिताले मनको कुरा पोख्छिन् । उनको कुरा सुनेर पाण्डबले शंका व्यक्त गर्छ–‘तर !’
‘तर सर सबै पर । लागि सक्यो डर, अब जानुपर्छ घर, चुपचाप पाइला सार्नुहोस् सर–सर ! वाहो ! मीठो कविता बन्यो । साहित्यमा जीरो मान्छे आज हिरो भइयो । केही हुन्छ कि क्या हो ?’–नबोदिताले पाण्डबको हात समाएर डोराउँछिन् । उनको कुरा सुनेर पाण्डब भने खिन्न भएर बोल्न थाल्छ–‘हजुर कहिल्यै शिरियस हुनुहुन्न ? आफ्नो मुटुमा ढ्यांग्रो ठोकेको छ । तपाई भने हँसी मजाक गर्दै हुनुहुन्छ ।’
‘हुन्थे म पनि धेरै शिरियस हुन्थे । तर अब शिरियस हुन छाडे । बेदना, तड्पन, छटपटिहरु अति नै निष्ठूरी हुँदा रहेछन्, मन दुःख्दा साथ देलान भनेर शिरियस भयो, तर उनीहरु जुका चप्के सरी शरिरको रगत चुस्दै भित्रभित्रै शरिरलाई खोक्रो बनाउँदा रहेछन् । त्यसैले समयमा नै निष्ठूरी तड्पनलाई चिनेपछि उससँग सम्बन्ध बिछेद गरेको हुँ । धेरै भएको छैन । ५÷६ महिना भयो । त्यसपछि दुईदिनको जिन्दगीमा जति बाँचिन्छ, हाँसेर नै बाँच्ने दरिलो अडान मनमा बनाएको छु । यो मेरो इगो पनि हो । सायद परिवर्तन हुँदैन होला’–नबोदिता मुस्कुराउँदै बोल्छिन् । उनको कुरा सुनेर पाण्डब पनि मुस्कुराउँदै बोल्न थाल्छ–‘गजबको अडान रहेछ तपाईको । अनि साहित्य आउँदैन भन्नुहुन्छ, बोलीमा त शव्दै पिच्छे साहित्यीक रागको गन्ध आउँछ त ?’
‘यो सब तपाईको दाजुको कमाल हो । उहाँको नम्रता उपन्यास पढेपछि के भाछ–भाछ, हरेक शव्दहरुमा साहित्यको लेपन लागेको महसुस मलाई पनि भइरहेको छ’–नबोदिताले टाउको हल्लाउँदै ओंठ चलाउँछिन् । उनीहरु हिंड्दा हिंड्दै चारैतिर कम्पाउण्ड भएको ठूलो घरको अगाडि आइपुग्दछन् । नबोदिताको पाइलाहरु रुक्छन् । उनी पुनः बोल्न थाल्छिन–‘यही हो हजुर भूत बंगला ।’
‘भूत जस्तै भूत बंगला पनि सुन्दर रहेछ । देख्नासाथ भित्र छिर्न मन लाग्यो’–पाण्डब मुस्कुराउँछ । उसलाई हेर्दै नबोदिताले गेटमा लगाएको ताल्चा खोल्दछिन् । दुबै भित्र पस्दछन् । गेटभित्र विभिन्न थरिका फूल लगाइएका थिए । त्यहाँको दृश्य देख्दा लाग्थ्यो, एकप्रकारले नबोदिताको घरको प्राङ्गण फूलको बगैचा हो ।
‘हजुरहरुले फूलको व्यापार गर्नु हुन्छ ? फूलैफूलको संसारमा आए जस्तो लाग्यो’–पाण्डबले प्रश्न गर्दछ । उसको प्रश्नमा नबोदिताले हाँस्दै छोटो उत्तर दिन्छिन्–‘यी सबै जादूबाट बनाइएका भ्रमहरु हुन । सबै नक्कली ! मान्छे जातीलाई लोभ्याउन, आकर्षित बनाउन अनि झुक्याउन बनाइएको भ्रमको संसार ।’
पाण्डबले नबोदिताको घरलाई रुचीपूर्वक नियालि रहेको थियो । घरभित्र पनि ठाउँ–ठाउँमा गमलामा फूलहरु सजिएका थिए । घरभित्र प्रवेश गर्नासाथ वैठक कोठा रहेछ । नयाँ शैलिमा बनाइएको थियो नबोदिताको घर । वैठक कोठाबाट नै अन्य कोठाहरुमा जान मिल्दो रहेछ । वैठक कोठामा पुगेपछि नबोदिता सोफामा बसिन् ।
‘किन उभि रहेको ? बस्नुहोस्, सोफा जादुबाट निर्माण गरिएको भ्रमपूर्ण बस्तु होइन । यसमा बस्न मिल्छ’–नबोदिताको कुरा सुनेर पाण्डब लजाउँदै बस्छ । नबोदिता पुनः बोल्न थाल्छिन्–‘कस्तो रहेछ त, भूत बंगला ?’
‘सत्य भनु कि ढाँटेर भनु ?’
‘तपाईको इच्छा ।’
‘सपनाको महल रहेछ हजुरको घर । मैले यस्तो घर अहिलेसम्म देखेको थिएन । आएपछि जानै मन नलाग्ने’–पाण्डब मुस्कुराउँछ । उसको कुरा सुनेर नबोदिताले आँखा तर्दै ओंठ चलाउँछिन्–‘त्यसो भए, सधै यही बस्ने बिचार आयोे ? भूतको जादूमा परे जस्तो छ ।’
‘भयो हजुर भयो, देखेरै धन्य भए । म जहाँ छु, त्यही ठीक छु । सपनाको महलमा बस्न खोजियो भने घर न घाटको भइन्छ’–पाण्डबले हात हल्लाउँदै आफ्नो भनाई राख्छ । उसको कुरा सुनेर नबोदिता बोल्न थाल्छिन्–‘सपनाले नै मानिसलाई उद्देश्यमा पुराउँछ । जसले जत्रो सपना देख्छ, जस्तो देख्छ, त्यस्तै हुन्छ ।’
‘सायद, होला ।’
‘कुरा धेरै गरियो । अब म भान्साबाट खाना ल्याएर आउँछु, टेबुलमा रिमोर्ट छ टिभी हेर्दै गर्नुहोस ।’
‘हवस हजुर !’
नबोदिता भान्सातर्फ सोझिन्छिन् । पाण्डबले टिभी खोल्छ । टिभीमा काठमाडौंमा कफ्र्यू जारी गरिएको प्रसंग देखाइ रहेको थियो । टिभीमा साँझपख धर्मको विषयमा भएको झडपको बारेमा पनि जानकारी गराई रहेको थियो ।
नेपालको संविंधानले धार्मीक स्वतन्त्रताको ग्यारेन्टी गर्दै नेपालमा धार्मीक स्वतन्त्रता छ भन्ने उल्लेख भएपछि विगत केही वर्ष यता धार्मीक विषयमा बिबाद भइरहेको छ । हिन्दू धर्म मान्नेहरुले नेपाल हिन्दू राष्ट्र भएकाले हिन्दू राष्ट्र नै घोषणा गर्नुपर्ने माग गर्दै आन्दोलन गरिरहेका छन् । अहिलेसम्म उनीहरुको आन्दोलनकाक्रममा कँही कतै केही भएको थिएन । तर आन्दोलन उग्र हुन थालेपछि प्रहरीले आन्दोलन तुहाउनका लागि अश्रुग्याँस प्रहार गर्दछ । सोक्रममा आन्दोलनकारी र प्रहरीबीच दाहोरो झडप हुन्छ । प्रहरीको गोलीबाट ३ जना आन्दोलनकारी मारिन्छन् । त्यसपछि आन्दोलनकारीले काठमाडौंका विभिन्न स्थानमा तोडफोड गर्दछन् । त्यसैले प्रहरीले राती कुनै अप्रिय घटना नघटोस भनेर कफ्र्यू आदेश जारी गर्दछ ।
‘अचम्म हुन लाग्यो नेपालमा । धर्मको नाममा काटमार चल्ने भयो अब । नयाँ नेपाल, गणतान्त्रिक नेपालभित्र धार्मिक युद्ध । संविधान बनेको छ । मुलुकले अब प्रगतिको खुड्किलो चढ्छ भन्ने समयमा पुनः धर्मको नाममा दङ्गा हुन थाल्यो । यसरी त मुलुक डरलाग्दो अवस्थामा पुग्न सक्छ’–नबोदिता शव्दको खेती गर्दै भान्साबाट आउँछिन् । उनको दुबै हातमा खाना थियो । उनले टेबुलमा प्लेट राख्छिन् ।
‘त्यही त नबोदिता जी ! हाम्रो देशलाई कुनै न कुनै नामको आन्दोलनको रोग लागि रहने भयो । अहिलेको आन्दोलन त बकबास छ । नेपालको संविधानले कुनै पनि धर्मलाई बञ्चित गरेको छैन भने किन हिन्दू, बौद्ध वा अन्य कुनै धर्मको नाम नै लेख्नु प¥यो ? अरु धर्ममा आस्था राख्नेले हिन्दू राष्ट्र घोषणा गरेपछि त्यो धर्म छाड्छन् त ? या अन्य कुनै धर्मका नाममा देशलाई चलाएमा हिन्दू धर्म मान्नेहरुले आफ्नो धर्म छाड्छन् त ? कदापी छाड्दैनन् । धर्मका नाममा अहिले भइरहेको आन्दोलन मुलुकलाई कम्जोर बनाउने, अराजकता मच्चाएर तहस नहस बनाउने खेल हो । यसले आन्दोलन गरिरहेकाहरुको भविष्य पनि उज्ज्वल हुन दिनेछैन । आन्दोलन गर्न उक्साउनेहरु, योजना बनाउनेहरु, षड्यन्त्र गर्नेहरु हेर्दाहेर्दै कहाँ पुग्छन्, आन्दोलन गर्नेहरु सडकको सडकमै रहन्छन् । विकट बस्तीहरुले विकास चाहियो, व्यरोजगारहरुले रोजगार चाहियो, पढ्न पाउनुपर्छ, स्वास्थ्य सेवा हुनुपर्छ, पिउने पानीको समस्या समाधान हुनुपर्छ । सिचाई, उर्जालगायतका आवश्यक बस्तुहरु चाहियो भनेर आवाज उठाउनु, सम्बन्धित निकायको ध्यानाकर्षण गर्नु जायज कुरा हो । तर केही उपाए नलागेपछि हामी धनी भयौं, अब गरिव बनाई दे, नत्र भनेर नकारात्मक चिन्तन् भएका व्यक्तिहरुले खोंचे थापे जस्तै धर्ममा बञ्देज नलगाउँदा नलगाउँदै पनि आन्दोलन गर्नु उपाए सकिएको कुुरा हो । मुलुकलाई तहस–नहस बनाउन खोज्ने भयानक षड्यन्त्र हो । देश र जनता माथिकै धोका हो । मान्छेलाई आन्दोलनका नाममा सास्ती दिएर, गुमराहमा पारेर धार्मीक भूत बन्ने खेल अब बन्द गर्नुपर्छ ।’
‘ठीक भन्नुभयो पाण्डब जी । म पनि यसमा सहमत छु । हामी पनि हिन्दू नै हौं । हामी पनि हिन्दू नै हौं । यसैलाई आत्मसाथ गरेर अहिलेसम्म अगाडि बढि रहेका छौं । घर देखि समाजसम्म हिन्दूधर्मका मूल्य, मान्यता, संस्कारहरुले हामीलाई बाँधेको छ । तर यो भन्दैमा अरुको धर्मलाई प्रतिबन्ध गर्नुपर्छ भन्ने मान्यता नै धार्मीक कट्टरता हो । यस्तो सोंचले मुलुकलाई बर्बाद बनाउँछ । तसर्थ धर्म भन्ने कुरा जबरजस्ती लाद्ने विषय होइन । लोभ, लालच देखाएर परिवर्तन गर्ने कुरा पनि होइन । सबै धर्मको आ–आफ्नै महत्व र विशेषता होलान । मान्छेले स्वतस्फूर्त तवरबाट यसलाई आत्मसात गर्नुपर्छ । मलाई कुनै पनि धर्म मान्नु छैन भने जोर–जबरजस्ती गरेर तैलें धर्म मान्नैपर्छ भन्नु कहाँसम्मको न्यायसंगत कुरा हो ? निर्वाचनमा नो भोटको त कुरा आइ सक्यो । आफूलाई कुनै पनि उमेदवार मन नपरेमा कसैलाई पनि मत नहाल्ने कानून बनि सकेको अवस्थामा अनिवार्य धर्म मान्ने कुरा कुनै पनि दृष्टिकोणबाट न्यायसंगत हुन सक्दैन । नेपालमा धार्मीक स्वतन्त्रता छ, यो नै ठूलो कुरा हो । धार्मीक कट्टरताको वकालत गर्दै समाजलाई विखण्डन बनाउने तत्वहरुलाई सबैले अस्विकार गर्नुपर्छ । धर्मका नाममा राजनीति गरिरहेकाहरुलाई सबै ठाउँमा तह लगाउनुपर्छ ।’–नबोदिताले आफ्नो धारणा व्यक्त गर्दछिन् । उनको कुरा सुनेर पाण्डबले टाउको हल्लाउँदै ओंठ चलाउछ–‘त्यही त, जहाँ पनि स्वार्थ, दम्भ अनि राजनीति घुसाएर बर्बाद पार्ने भए मुलुकलाई । अब केही उपाए नलागेर जनताको दिमाग भुट्न धर्मका कुरा गरिरहेका छन् । धर्मले मान्छेलाई समान नजरले हेर्छ, एक बनाउँछ, भाइचारा, बन्धुत्वको सन्देश प्रवाह गर्छ । तर, धर्मका नाममा राजनीति र व्यापार गर्नेहरुले मानिस–मानिसमा दरार उत्पन्न गराउँदैछन् । समाजलाई विखण्डनको दिशातर्फ धकेल्दैछन् । नेपाली–नेपालीबीचमा पानी बाराबारको स्थिति उत्पन्न हुँदैछ । यस्तो कुराबाट हामी सबै बच्नुपर्छ । विकसित मुलुकका नागरिकहरु नयाँ–नयाँ आविस्कार गर्न समय खर्चन्छन्, उनीहरु दिनप्रतिदिन धनि भइरहेका छन् । हामी नेपालीहरु खुराफाँती काममा समय खर्चिएर जीवन बबार्द बनाउँछौं । आविस्कारक बन्न होडबाजी गर्नेहरुका लागि चन्द्रमा पानी पँधेरो भएको छ । हामी खुराफाँती विषयमा पण्डित्याई गरेर भएको क्षमता पनि त्यतिकै सक्दैछौं । अनि कहाँबाट हाम्रो देश माथि उठ्न सक्छ ?’’
(अप्रकाशित उपन्यास, नम्रता भाग दुइको एक अंश)













प्रतिक्रिया