८ कार्तिक २०८३, आइतबार

पत्रकार केसीलाई प्रेस काउन्सिलको सम्मान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १२ साउन । न्यूनतम पारिश्रमिक निर्धारण समितिका नवनियुक्त अध्यक्ष वरिष्ठ पत्रकार पोषण केसीलाई नेपाल प्रेस काउन्सिलले सम्मान गरेको छ ।

काउन्सिलका अध्यक्ष वोर्णबहादुर कार्कीले यहाँ आज आयोजित कार्यक्रममा सम्मान गर्दै श्रमजीवी पत्रकारलाई दिगो, टिकाउ र देशप्रति समर्पित बनाउन पेसागत सुरक्षाको अभाव खड्केको बताउनुभयो ।

अध्यक्ष कार्कीले पत्रकारको सङ्ख्या उल्लेखनीय भएको वर्तमान अवस्थामा पत्रकारको जीविकोपार्जन र पेसाको सुरक्षा नभएर पलायन हुन लागेको भन्दै न्यूनतम पारिश्रमिक निर्धारण समितिको ठूलो भूमिका रहने स्पष्ट पार्नुभयो । उहाँले यो व्यवसायलाई गुणस्तरीय र उत्तरदायी बनाउनु जरुरी रहेको पनि बताउनुभयो ।

समितिका नवनियुक्त अध्यक्ष केसीले श्रमजीवी पत्रकारको समस्या जस्ताको तस्तै रहेकाले यसलाई हल गर्न सञ्चारको क्षेत्रमा रहेका सबै सङ्घसंस्था एकजुट हुनुपर्ने बताउनुभयो ।

केसीले श्रमजीवी पत्रकारका मुद्दा स्थापित गराउन सङ्घर्षको खाँचो रहेको भन्दै विगतमा भएका उपलब्धिलाई संस्थागत गर्नु आवश्यक रहेको बताउनुभयो । उहाँले पारिश्रमिकका सम्बन्धमा देशभरका सञ्चार गृहमा अनुगमन गर्ने स्पष्ट पार्नुभयो ।

काउन्सिलका सदस्य तथा नेपाल पत्रकार महासङ्घका उपाध्यक्ष खिलबहादुर भण्डारीले पारिश्रमिक समितिले युवा, जुझारु र श्रमजीवी पत्रकारको हकहितका लागि लड्ने व्यक्ति पाएको भन्दै पारिश्रमिकका विषयमा महासङ्घसमेत सँगै रहेको बताउनुभयो । रासस