धनगढी, ११ साउन । कैलालीमा एक पछि अर्को गर्दै गाई हत्याका घटना सार्बजनिक हुन थालेका छन् ।
केही महिना पहिले कैलालीकै बल्चौरमा घटेको गाई हत्याको घटनाको चर्चा सेलाउन नपाउँदै पुनः धनगढी नगरपालिका ७ पटेला नजिकै सामुदायिक वनमा गाई हत्या गरिएको खुलासा भएको छ ।
असार महिना यता मात्रै पटेला र बेलीकोबीचमा रहेको सामुदायिक बनमा १० वटा जति गाईको हत्या भैसकेको स्थानिय महिलाले बताएका छन । आईतबार मात्र सो ठाउँमा गाईको हत्या भएको खबर बाहिर आएपछि सोमबार लक्ष्मीनारायण मन्दिरको अगुवाईमा गएको धार्मिक टोलीले घाईते अबस्थामा रहेको एक गाईलाई धनगढी ल्याएको छ ।
स्थानीय महिलाका अनुसार केही दिन यता मात्र सो ठाउँमा चार गाईको हत्या भएको पटेला पुगेका लक्ष्मीनारायण मन्दिरका ब्यबस्थापक हरि न्यौपानेले बताउनुभयो । महिलाहरुले आफूहरु सामुदायिक बनमा घाँस काटने क्रममा १०–१२ जनाको समुहले भाला सहित गाईलाई लखेटदै मारेको देखेको बताएको ब्यबस्थापक न्यौपानेको भनाई छ ।
आज लक्ष्मीनारायण मन्दिरको अगुवाईमा हिन्दु समर्थकहरुले धनगढी बजारमा गाईको हत्या गर्नेहरुलाई कारबाही गर्न माग गर्दै नाराबाजी समेत गरेका छन ।
उनीहरुले प्रमुख जिल्ला अधिकारीलाई घटनाका बारे जानकारी दिई गाई हत्या गर्नेहरुको खोजबिन गरि पक्राउ गर्न माग गरेका छन । प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठले घटनाबारे पत्ता लगाई दोषीलाई कार्वाही गर्न पहल गर्ने आश्वासन दिनुभएको टोलीले जनाएको छ ।















प्रतिक्रिया