बागलुङ, ११ साउन । जिल्लामा सार्वजनिक अपराधका मुद्दा बढेका छन् ।
गत आव मा जिल्ला प्रहरी कार्यालय बागलुङमा दर्ता भएका २४० मुद्दामध्ये ७९ सार्वजनिक अपराधका मुद्दा रहेको प्रहरीले जनाएको छ । अघिल्लो आवको तुलनामा गत आवमा सार्वजनिक मुद्दाको सङ्ख्या १६ ले बढेको छ । आव ०७०/०७१ मा ६३ वटा सार्वजनिक अपराधका मुद्दा दर्ता भएका थिए ।
पछिल्लो आवमा दर्ता भएका मुद्दामा १४९ जना पुरुष र २१ जना महिला गरी २७० जनालाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक प्रेमबहादुर बस्नेतले जानकारी दिनुभयो । ति मध्ये २२९ जना धरौटीमा छुटेका छन् भने २८ जना कारागार चलान भएका छन् । बर्सेनि प्रहरीमा पर्ने मुद्दाको सङ्ख्या पनि बढ्दै आएको छ ।
अघिल्लो आवमा १५१ मुद्दा दर्ता भएकोमा गत आवमा मुद्दाको सङ्ख्या बढेर २४० पुगेको हो । जसमध्ये ११ वटा जबर्जस्ती करणीका मुद्दा दर्ता भएका छन् । जुन अघिल्लो आवमा चार वटा मात्र दर्ता भएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।
मुद्दाबाट प्रहरी कार्यालयले रु ६२ हजार ९७० राजस्व सङ्कलन गरेको छ । त्यसबाहेक ट्राफिक नियम उल्लङ्घन, साइबर अपराध, जुवालगायतका मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ । बागलुङ बजारमा सिसी क्यामरा जडान भएपछि अपराध नियन्त्रण गर्न केही सहज भएको डीएसपी बस्नेतले बताउनुभयो ।
















प्रतिक्रिया