– नरेन्द्रसिंह कार्की
दार्चुला, १० साउन । महाकाली नदीमा डुबेर लाली ४ मकन्नाका १२ वर्षीय गोविन्द जोशी वेपत्ता भएका छन् ।
आइतबार विहान ९:४५ बजे नुहाउन महाकालीमा गएको बेला उनी बेपत्ता भएका हुन् । बेपत्ता बालकको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका डीएसपी नैनसिह कार्कीले बताए । बालकको खोजीको लागि प्रहरी परिचालन गरिएको छ ।
यस्तै आइतबार बेलुकी ४ः३० बजे आएको पहिरोमा परी गुल्जर गाविसको वडा नम्बर १ मकरीगाडमा दुई वटा पसल पुरिएका छन् । पसल माथिबाट आएको पहिरोले स्थानीय व्यापारी बहादुरसिह धामी र अमरसिह धामीको पसल पुरिएको हो ।
अविरल बर्षाका कारण पहिरो आएको हो । पहिरो आउँदा पसल भित्र रहेको सम्पूर्ण सामान तथा नगद नष्ट भएको व्यापारी बहादुरसिह धामीले बताए । ढुंगा र सल्लाका रुखहरुले पुरै पसल च्यापेको छ । अझै बर्षा आउने क्रम जारी रहेकोले अन्य पसलहरु समेत जोखिममा रहेका छन् । मकरीगाडमा एक दर्जन होटल तथा पसलहरु सञ्चालनमा छ ।
















प्रतिक्रिया