काठमाडौं, ९ साउन । एक वर्षमा डिआइजीसहित दुई हजार चार सय ६४ प्रहरी कारबाहीमा परेका छन् ।
गम्भीर किसिमको भ्रष्टाचारमा संलग्न तीन सय ७५ जनालाई सेवाबाट हटाइएको छ । ३९ जना प्रहरीलाई गृह मन्त्रालयले बर्खास्त गरेको छ । आर्थिक वर्ष ०७१/७२ मा कारबाहीमा पर्ने डिआइजी गोपाल भण्डारी हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरी प्रमुखमा कार्यरत रहँदा भ्रष्टाचार गरेकोमा उनी निलम्बनमा छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । एक एसएसपी पनि कारबाहीमा परेका छन् । राप्ती अञ्चल प्रहरी प्रमुख एसएसपी रमेशप्रसाद पाण्डे कारबाहीमा परेका हुन् । नेतृत्व क्षमताको अभाव र आर्थिक अनियमितता आरोपमा उनलाई नसियत दिइएको छ । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार तीन एसपी पनि कारबाहीमा परेका छन् ।
शेखर कोइराला, प्रदीप श्रेष्ठ र देवबहादुर बोहरालाई प्रहरी मुख्यालयले कारबाही गरेको छ । बाँकेको प्रहरी प्रमुख हुँदा एसपी कोइरालालाई अख्तियारको निर्देशनमा निलम्बन गरिएको थियो । उनको निलम्बन फुकुवा भइसकेको छ । त्यस्तै, एसपीद्वय बोहरा र श्रेष्ठलाई रेकर्डमा जनिने गरी विभागीय कारबाही गरिएको छ ।
गत आर्थिक वर्षमा नौजना डिएसपी कारबाहीमा परेका छन् । रमेश तामाङ, योगबहादुर पाल, दिनेशकुमार आचार्य, रमेश पोखरेल, रामेश्वर यादव, सागर दुवाललगायत डिएसपी कारबाहीमा परेका हुन् । डिएसपी तामाङलाई अख्तियारले घुससहित रंगेहात पक्राउ गरेकोमा उनीविरुद्ध मुद्दा दायर भइसकेको छ । डिएसपी आचार्यलाई भने नियोजित रूपमा फसाउन खोजेको खुलेपछि निलम्बनको एक महिनापछि अख्तियारले फुकुवा गरेको थियो । नयाँ पत्रिकामा खबर छ ।















प्रतिक्रिया