बाजुरा, ९ साउन । जिल्लाको छतारा गाविस–१ का महिलाहरूले नियमित स्वास्थ्य जाँच नगर्ने गर्भवती आमालाई नगद जरिवाना गर्ने निर्णय गरेका छन् ।
गाउँमा गर्भवती अवस्थामा रहेका आमाहरूले नियमित स्वास्थ्य जाँच गर्न दबाब दिने गरी आमासमूहमार्फत जरिवाना गर्ने लिखित निर्णय गरेको समाचार सौर्य दैनिकले छापेको छ ।
आमा समूहले गाउँमा रहेका महिलाहरूको नियमित चेक जाँच र सुत्केरी हुने मितिबारे जानकारी लिने र त्यसो नगरिए प्रतिव्यक्ति एकपटकको ५० रूपैयाँ जरिवाना गर्ने निर्णय गरिएको बताएका छन् ।
जरिवानाबापतको रकम आमा समूहको बचत खातामा जम्मा गर्ने गरेका छन् ।
साथै, बैठकमा उपस्थित नहुँदा २० रूपैयाँ लिने गरेको शान्तादेवी रावलले बताइन् ।
पिसविन पहुँच परियोजनाअन्तर्गत गठन गरिएको स्वास्थ्य आमा समूहमा आवद्ध गाउँका २५ महिलाले मासिक बचत गर्ने गरेका छन् ।
गर्भवती आमा र सुत्केरीलाई समस्या पर्दा आवश्यक सहयोग गर्ने गरी समूह बचत खाता बनाएका हुन् ।
उनीहरूले मासिक रूपमा नियमित बैठक बस्ने गर्भवती तथा सुत्केरी आमाको स्वास्थ्य अवस्थाबारे जानकारी लिने, स्वास्थ्य सेचतना दिने, सासूसुसरा, श्रीमान्सँग उनीहरूको स्वास्थ्य अवस्था ख्याल गर्ने गरी परामर्श दिने गरेको पिसविन विकास सहायक दीपकनाथले बताए ।
गाउँमा आमा समूह गठनपछि सुत्केरी स्वास्थ्य संस्थामा गराउने गरेको, नियमित चेकजाँच गर्ने गरेको र खाने बानीमा पनि परिर्वतन गरेको पाइएको छ ।
स्थानीय उत्पादन हरियो सागपात र अन्य खाद्यान्न बालीको महत्वबारे पनि ज्ञान पाएका छन् । हाल गाउँमा तीन जना सुत्केरी रहेका छन् ।
हाल पिसविन पहुँच कार्यक्रम जिल्लाका २४ गाविस र एक नगरपालिकामा सञ्चालन भइरहेको छ ।
कार्यक्रमले हालसम्म जिल्लाका १० स्वास्थ्य चौकीमा प्रसूति साम्रगी हस्तान्तरण गरेको छ भने जिल्लाको छतारा गाविसमा एउटा प्रसूति सेवाको लागि भवन निर्माण गरिदिएको पिसविन पहुँच परियोजना कायक्रम संयोजक पुष्पराज पनेरुले बताए ।













प्रतिक्रिया