बाबियाचौर (म्याग्दी), ६ साउन । म्याग्दीको सदरमुकाम बेनी हुँदै हिमाली जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकमा सिधा यातायात सेवा अवरुद्ध भएको छ ।
म्याग्दीको दाना गाविस–२ स्थित रुप्से खोलामा पानीको सतह बढेपछि आजदेखि सिधा यातायात सेवा बन्द भएको हो । खोलामा पानीको सतह बढेकाले जिप, माइक्रोबस र मोटरसाइकल वारपार गर्न नसकेको म्याग्दी जिप तथा बस व्यवसायी समितिका निरीक्षक पदम छन्त्यालले बताउनुभयो ।
सडक अवरुद्ध हुँदा मुस्ताङ जाने आउने तीर्थयात्री र पर्यटक, स्थानीयवासी गाडी परिवर्तन गरेर झन्झटिलो तरिकाले यात्रा गर्न बाध्य भएका छन् । रुप्से खोलामा मोटरेबल पुल निर्माणमा ढिलाइ हुँदा सवारीसाधन सञ्चालन गर्न समस्या भएको यातायात व्यवसायीले बताएका छन् ।
सिधा सवारी चल्न छाडेपछि यातायात व्यवसायीले तोकिएको भन्दा धेरै भाडा असुल गर्ने गरेको यात्रुले गुनासो गरेका छन् । प्रहरी प्रशासनबाट अनुगमन र कारबाही नहुँदा सडक अवरुद्ध भएको मौका छोपेर यातायात व्यवसायीले जबर्जस्ती तोकिएको भन्दा धेरै भाडा उठाउने गरेको नारच्याङका सुकबहादुर गर्बुजाले बताउनुभयो । रासस















प्रतिक्रिया