नयाँ संविधान जारी हुने प्रक्रिया अन्तर्गत पहिलो मस्यौदामा नागरिकको राय लिने कार्य पनि सम्पन्न हुने चरणमा छ । देशरभरि सभासद र कर्मचारी संविधानको पहिलो मस्यौदामा सुझाव लिन परिचालित भएका समाचार मिडियाले प्रशारण र प्रकाशन गरिरहेका छन् । यसअर्थमा अब संविधान बन्ने गति बढेको मान्न सकिन्छ ।
देशभरको कुरा गर्दा मलाई सुदूरपश्चिमका विषयमा केहि भन्न र लेख्न मन लाग्यो । राज्यका हरेक सेवा सुविधाबाट सुदूरपश्चिम पछाडि परेको/पारिएको छ । सुदूरपश्चिम पीछडिएको क्षेत्र हो । यसमा त कुनै पनि सुदूरपश्चिमेलीको फरक मत छैन । तर, सुदूरपश्चिम राज्यभन्दा बढी कैलाली र कञ्चनपुरबाट पीछडिएको छ, भन्ने कुरा हामीले किन बिर्सिरहेका छौं ? सबैभन्दा ठुलो कटु सत्य त यो नै हो ।
वर्तमान भौगोलिक संरचनाले कैलाली कञ्चनपुर सुदूरपश्चिमभित्र पर्छन् । तर, यो हैन कि कैलाली कञ्चनपुर मात्रै पुरै सुदूरपश्चिम हो । काठमाडौंबाट हवाइजहाज चढेर धनगढी ओर्लदैमा पुरै सुदूरपश्चिम पुगिँदैन् । वास्तविक सुदूरपश्चिम पुग्न पहाडका भिर पाखाहरु चढ्नुपर्छ । कैलाली कञ्चनपुरलाई मात्र सुदूरपश्चिम ठान्नेलाई चेतना भया ।
कैलाली र कञ्चनपुरमा संविधानको पहिलो मस्यौदामा राय संकलन गरिदा पुरै सुदूरपश्चिको नै राय संकलन गरिएको भन्ने एक प्रकारको अपवाह मिडियामा फैलाइएको छ । तर, कुनै पनि मिडियाले लेखेका छैनन् की, बझाङको विकट धुली गाविसमा मस्यौदा पुगेन भनेर ।
यस्तै, बाजुराको विकट विच्छ्या गाविसका स्थानीयले संविधान निर्माण हुँदै छ भन्ने सम्म पनि थाहा पाएका छैनन् । के उनीहरुको राय नेपालको अब बन्ने संविधानमा समेटिनु हुँदैन ? के दार्चुलाको व्यास गाविसका भोटेले नयाँ संविधानमा आफ्नो राय दिन नपाउने हुन् ? वर्षमा छ महिना मात्रै खाद्यान्न पुग्ने बझाङको धुली गाविसका स्थानीयको नयाँ संविधानप्रति कुनै अपेक्षा हुँदैन ?
किन सुनिँदैन सुदूरपश्चिमका सुदूर ठाउँका नागरिकको आवाज ? अनि किन जनप्रतिनिधि भनौदाहरु कैलाली र कञ्चनपुरको रायलाई पुरै सुदुरपश्चिमवासीको राय भनिरहेका छन् ?
चुनावमा भोट माग्नका लागि नेपाली काँग्रेसका नेता शेरबहादुर देउवा डडेल्धुराका प्रत्येक गाउँ पुगेका थिए । तर, नागरिकको राय लिन किन उनले जिल्लामा समेत जान भ्याएनन् ? भीम बहादुर रावलले अछामका विकट गाविसमा जनताको राय माग्न जान महत्वपूर्ण ठानेनन् ?
यहाँसम्मकी समाचारमा कैलाली र कञ्चनपुरमा नै पुरै सुदूरपश्चिमवासी छन् भन्ने अफवाह फैलाईयो । सात पहाडी जिल्लाका दुर्गम र विकट वस्तीसम्म पुग्न आवश्यक न जनप्रतिनिधि भनौदाले ठाने न आवाज विहिनको आवाजको रुपमा आफूलाई प्रतिविम्वित गर्ने संचारमाध्यमले नै ?
संघीयताको सवाल उठ्दा सुदुरपश्चिम अखण्ड हुनुपर्छ भनेर कैलाली कञ्चनपुरका व्यापारिले आन्दोलननै उठाउँछन् । तर, उनीहरुले कहिल्यै विकट पहाडी जिल्लामा विकासका पूर्वाधारको विकास गर्नु पर्यो भन्ने माग राख्दैनन् ।
मेडिकल कलेज धनगढी मै राखिनुपर्छ भनेर आन्दोलन हुन्छन् । तर, बाजुरामा आवश्यकता अनुसार विद्यालयको व्यवस्था समेत छैन भन्ने कुरा सुन्न समेत आवश्यक ठानिदैन ।
कैलाली कञ्चनपुरमा औद्योगिक क्षेत्रको स्थापना गर्न सरकारको ध्यानाकर्षण गराइन्छ । तर, बझाङ, अछाम, बाजुरा र दार्चुलामा भोकमरिको समस्या न्युनिकरण गर्नुपर्यो भन्ने कसैले आवाज उठाउँदैनन् ।
कैलाली कञ्चनपुरलाई अन्नको भण्डार भनिन्छ । तर, बझाङ र बाजुराका जनताले खान नपाएर आत्महत्या गर्नु परिरहेको छ । कैलाली कञ्चनपुरमा मेडिकल कलेज चाहिएको छ । तर, बाजुरामा सिटामोल नापाएर नागरिकको अकालमा ज्यान गइरहेको छ । के यो विभेद हैन ?
संघीयतामा जाँदा आखिर किन अखण्ड चाहियो सुदूरपश्चिम ? बझाङ र दार्चुलामा संकलन हुने जडिबुटी यार्सा विना कर कैलाली कञ्चनपुर पुर्याउन या कैलाली र कञ्चनपुरमा विक्री नभएर सडेको चामल विना अवरोध पहाडमा विक्री गर्न लैजान ? सुदूरपश्चिम अखण्ड हुनु र नहुनुमा विकट पहाडका जिल्ला निरपेक्ष छन् । तर, त्यसको मतलब यो हैन कि कैलाली कञ्चनपुरका ठेकेदारहरुले उनीहरुको नाम बेचेर सदैव लुटुन् ।
सबैले सुदूरपश्चिमलाई राज्यले विभेद गरिरहेको देखेका छन् । तर, कैलाली कञ्चनपुरले सुदूरपश्चिमलाई लुटिरहेको तितो सत्यबारे सवै अनविज्ञ बनिरहेका छन् । सुदूरपश्चिमका नाममा कैलाली कञ्चनपुरका निश्चित संभ्रान्तहरुले फाइदा लिइरहेका छन् । उनीहरुलाई जसरि पनि फाइदा कमाउनु छ । र, त्यसमा जनप्रतिनिधिहरु भनौदा पनि नजानिदो तरिकाले लागिरहेका छन् ।
कैलाली कञ्चनपुरलाई अन्नको भण्डार भनिन्छ । तर, बझाङ र बाजुराका जनताले खान नपाएर आत्महत्या गर्नु परिरहेको छ । कैलाली कञ्चनपुरमा मेडिकल कलेज चाहिएको छ । तर, बाजुरामा सिटामोल नापाएर नागरिकको अकालमा ज्यान गइरहेको छ । के यो विभेद हैन ?
दुर्गम र विकट पहाडी सात जिल्ला छन् । तर, सुदूरको नाममा कैलाली कञ्चनपुरले व्यापारिक नाफा लिइरहेको छ । कैलाली कञ्चनपुरका व्यापारिले सडेको चामल र म्याद सकिएका उपभोग्य वस्तु पहाड निर्यात गर्छन् । तर, कारवाही पहाडी जिल्लाका किराना व्यापारिले भोग्नु पर्छ । सुदूरपश्चिमका सात पहाडी जिल्लाले राज्यको भन्दा पनि ठुलो विभेद र पीडा कैलाली कञ्चनपुरबाट खेप्नु परिरहेको छ ।
वर्तमान भौगोलिक संरचनाले कैलाली कञ्चनपुर सुदूरपश्चिमभित्र पर्छन् । तर, यो हैन कि कैलाली कञ्चनपुर मात्रै पुरै सुदूरपश्चिम हो । काठमाडौंबाट हवाइजहाज चढेर धनगढी ओर्लदैमा पुरै सुदूरपश्चिम पुगिँदैन् । वास्तविक सुदूरपश्चिम पुग्न पहाडका भिर पाखाहरु चढ्नुपर्छ । कैलाली कञ्चनपुरलाई मात्र सुदूरपश्चिम ठान्नेलाई चेतना भया ।













प्रतिक्रिया