सुरुङ्गा (झापा), ५ साउन । बन्दको अवज्ञा गरेको भन्दै यात्रुवाहक बस तोडफोड गर्ने सङ्घीय समाजवादी फोरम नेपालका तीन कार्यकर्तालाई प्रहरीले आज झापाको बिर्तामोडबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा फोरम नेपालका जिल्ला सदस्य सुरेश यादव, रामचन्द्र केसी र पञ्चलाल राजवंशी रहेका छन् । रौतहटमा कार्यकर्तामाथि प्रहरीले गरेको दमनको विरोधस्वरुप पूर्व झापादेखि पश्चिम कञ्चनपुरसम्मका जिल्लासम्म बन्द आह्वान गरिएको हो । सङ्घीय समाजवादी फोरम नेपाल, तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी र तराई मधेस सद्भावना पार्टीले संयुक्त रुपमा बन्दको आह्वान गरेका हुन् ।
संविधानको मस्यौदाप्रति असन्तुष्टि जनाउँदै उनीहरुले बिहानैबाट सवारीसाधन ठप्प पारे पनि अहिले झापामा छिटफुट सवारी चल्न थालेका छन् । उपेन्द्र यादवसम्बद्ध फोरम नेपालका कार्यकर्तालाई शान्तिपूर्ण आन्दोलनमा प्रहरीले दमन गरेकामा बन्दको आह्वान गरिएको बताइएको छ । रासस















प्रतिक्रिया