भक्तपुर, ५ साउन । उद्योगमन्त्री महेश बस्नेतले सबै नागरिकको भावना समेटिएको नयाँ संविधान साउन महिनाभित्रै आउने बताउनुभएको छ ।
मानवीय आस्था नेपालले आज सूर्यविनायक नगरपालिका कटुञ्जेस्थित चक्रपाणि चोकमा आयोजना गरेको कार्यक्रममा भूकम्पपीडितलाई जस्ता वितरण गर्दै मन्त्री बस्नेतले नयाँ संविधानमा सबैको भावना समेटिने बताउनुभएको हो ।
संविधान मस्यौदाको छलफलमा आम नागरिकको सहभागिता उत्साहजनक रहेको चर्चा गर्दै उहाँले देशभरबाट सङ्कलित राय–सुझावलाई समेटेर संविधान निर्माण हुने विश्वास दिलाउनुभयो ।
मन्त्री बस्नेतले भन्नुभयो – “सबै जातजाति र वर्गको भावनालाई समेटेर संविधान निर्माण हुनेमा शङ्का अब शङ्का नगरौँ ।”
साउन महिनाभित्र संविधान जारी गर्न सबै पक्षले सकारात्मक सहयोग गर्नुपर्ने उहाँको भनाइ छ ।
कार्यक्रममा मन्त्री बस्नेतले कटुञ्जेका ४२ भूकम्पपीडित परिवारलाई एक बन्डलका दरले ४२ बन्डलजस्ता हस्तान्तरण गर्नुभएको थियो । मानवीय आस्था नेपालका उपाध्यक्ष रवीन्द्र सापकोटाका अनुसार संस्थाले अहिलेसम्म दधिकोट, गुण्डु, बालकोट, कटुञ्जे, भक्तपुर नगरपालिका–१ देखि १७ वडासम्म र मध्यपुरथिमि नगरपालिकाका गरी ९५० परिवार भूकम्पपीडितलाई एक बन्डलका दरले ९५० बन्डलजस्ता वितरण गरिसकेको छ ।
संस्थाले भूकम्पपीडितलाई एक हजार २२५ परिवारलाई जस्ताको टहरा बनाएर हस्तान्तरण गरिसकेको र सहयोग जारी रहने उहाँले बताउनुभयो ।
मानवीय आस्था नेपालका अध्यक्ष श्रीकुमार रञ्जितले संस्थाले भूकम्पपीडित घाइतेको उपचार सुरु गरिएको, अभिभावक गुमाएका बालबालिकालाई निःशुल्क शिक्षाको व्यवस्था गरेको र यो वर्षको गाईजात्रामा भूकम्पबाट ज्यान गुमाएका परिवारलाई आर्थिक सहयोग गर्ने योजना रहेको बताउनुभयो । रासस















प्रतिक्रिया