इलाम, ३ साउन । जितपुर–९ का गङ्गाबहादुर मगरले नयाँ बन्ने संविधानले आधारभूत तहदेखि स्नातकतहसम्मको शिक्षा निःशुल्क हुनुपर्ने सुझाव दिनुभएको छ ।
पहिले आधारभूत तहसम्म मात्रै निःशुल्क थियो, अब स्नातकतहसम्मै निःशुल्क बनाई सबै नेपालीलाई शिक्षित बनाउनुपर्छ, भन्दै मगरले गाविसमा सुझाव दिनुभएको हो ।
उहाँको अर्काे पनि सुझाव छ, ‘वडाध्यक्षको पनि निर्वाचन हुनुपर्छ, अहिलेसम्म मनोनीत मात्रै गर्ने व्यवस्था थियो । यसले कुनै अर्थ राखेन, निर्वाचित वडाध्यक्षले मात्र गाउँलेको कुरा सुन्छन् । जितपुरबाट पाँचवटा लिखित सुझाव प्राप्त भएको गाविस सचिव युवराज घोर्साइँले जानकारी दिनुभयो ।
साङरुम्वा–१ का गोविन्द बुढाथोकीले कक्षा १ देखि माध्यमिक तहसम्मको शिक्षालाई मात्रै निःशुल्क होइन स्नातक तहसम्मको शिक्षा निःशुल्क हुनुपर्ने भन्दै गाविसमा मस्यौदामाथि लिखित सुझाव दिनुभयो । सुझाव दिँदै उहाँले नेपालमा विकास नहुनुको मुख्य कारण शिक्षा भएको भन्दै आधारभूततहदेखि स्नातकसम्मको शिक्षाको व्यवस्था गर्न सुझाव दिएको बताउनुहुन्छ ।
सोही गाविसका श्रीप्रसाद लिम्बूले राष्ट्रिय जनावर गाईको सट्टा गैँडा राख्न सुझाव दिनुभएको छ । गाईलाई कसैले मासुका रुपमा प्रयोग गर्ने त कसैले पूजा गर्ने भएकाले यसको सट्टा गैँडालाई राष्ट्रिय जनावरका रुपमा राख्न लिखित सुझाव दर्ता गराउनुभएको हो ।
लुम्देका अधिकांश नागरिकले गाईको सट्टा गैँडालाई राष्ट्रिय जनावर बनाउन सुझाएका छन् । लुम्देमा परेका १४ वटा लिखित सुझावमध्ये आदिवासीसम्बन्धी छुट्टै आयोग गठन गर्नुपर्ने, आइएलओअनुसार संविधानमा नै आदिवासीको अधिकार सुनिश्चित हुनुपर्ने सुझाव दिनुभयो ।
नयाँबजारका बासिन्दाले हिन्दु अधिराज्य हुनुपर्नेमा बढी सुझाव दिएका छन् । गाविस सचिव गोकुल सञ्जेलका अनुसार सुझाव राख्ने १० मध्ये धेरैले हिन्दु अधिराज्य र केहीले अख्तियारको दयरालाई फराकिलो बनाउनुपर्ने सुझाव दिएका हुन् ।
यस्तै विभिन्न गाविसबाट सुझाव सङ्कलन भइरहेको सचिवले बताएका छन् । शान्तिपुर गाविसमा ४०÷५० जना उपस्थित भए पनि मस्यौदा ठीक भएको भन्दै कुनै सुझाव नदिएको र त्यसैलाई समर्थन गरेको सचिव कर्णबहादुर पूर्वछानेले जानकारी दिनुभयो । सिद्धिथुम्काबाट नौ, सोयाकबाट २०, इलाम नगरपालिकामा १४ जना र केहीले मौखिक सुझाव दिएका छन् । देउमाई नगरपालिकाबाट २५ वटा सुझाव प्राप्त भएको छ ।
सुझाव संविधानमा जनताका रायसुझाव लिन जिल्ला आएका सभासद्समेत नागरिकलाई सुझाव दिन आग्रह गर्दै निर्वाचन क्षेत्रमा भएका कार्यक्रममा व्यस्त बनेका छन् । संविधानसभा नागरिक सम्बन्ध तथा संविधान सुझाव उपसमितिका सचिव अधिराज राईले प्रत्येक गाविस र नपाबाट आएका लिखित, मौखिक र इलेक्ट्रोनिक सुझावलाई व्यवस्थित गर्न प्रत्येक निर्वाचन क्षेत्रमा तीन÷तीनजना कर्मचारी खटाइएको बताउनुभयो ।
सभासद्हरु सूर्यवाला राई, केशव थापा र सुजता परियार दुई दिनअघि नै जिल्ला आइपुग्नुभएको छ । निर्वाचन क्षेत्र नं १ को फिक्कलमा, क्षेत्र नं २ को देउमाई नगरपालिकामा र क्षेत्र नं ३ को इलाम सदरमुकाममा सुझाव सङ्कलन गरिने उपसमितिको कार्यालयले जनाएको छ । रासस















प्रतिक्रिया