८ कार्तिक २०८३, आइतबार

बुझेर पनि सचिवले गाउँ लगेनन् संविधानको मस्यौदा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गोरखाबजार, ३ साउन । उत्तरी गोरखाका गाविस सचिवले नयाँ संविधानको मस्यौदा गाउँ पु¥याएका छैनन् ।

जिल्ला आएको मस्यौदा सुझाव सङ्कलन टोलीसँग तीन दिनअघि मस्यौदाको फोटोकपी बुझेका सचिवले सदरमुकाममै मस्यौदा थन्क्याएका हुन् । गाविसमा लगेर स्थानीयवासीको सुझाव सङ्कलन गर्नुपर्ने भए पनि सचिवले सदरमुकामको कोठामा मस्यौदा राखेका छन् ।

भूकम्पपछि झरेको पहिरोले बाटो अवरुद्ध भएको भन्दै सचिवले उत्तरी भेगका सामागाउँ, ल्हो, प्रोक, चुम्चेत, छेकम्पार, सिर्दिवासलगायत गाविसमा संविधानको मस्यौदा नलगेको पाइएको हो । पहिरो छिचोलेर गाविस पुग्न नसकिने र हेलिकोप्टरको सुविधा नहुँदा छलफलका लागि मस्यौदा गाउँ पु¥याउन नसकिएको तिब्बतसँग सीमा जोडिएको सामागाउँ गाविसका सचिव वेदप्रकाश ढकालले बताउनुभयो ।

“हिँडेर जान सक्ने अवस्थै रहेन । मस्यौदालाई कसरी गाउँ पु¥याउने रु,” सचिव ढकालले प्रश्न गर्दै भन्नुभयो – “सामागाउँ घर भएका तर अहिले सदरमुकाम क्षेत्रमा भेटिएका गाउँलेसँग मस्यौदाबारे सुझाव लिएको छु ।”

गाविस सचिवले टेलिफोनमार्फत सुझाव सङ्कलन गरेको दाबी गरेका छन् । मस्यौदालाई टेलिफोनमार्फत वाचन गरेर त्यसबारे गाउँलेको सुझाव लिएको सचिवको भनाइ छ ।

“गाउँलेले स्थानीय भाषामा परीक्षा दिन पाउनुपर्ने माग राखेका छन्”, सचिव ढकालले भन्नुभयो – “निर्वाचन गरी प्रत्यक्ष रुपमा वडाध्यक्ष चुन्न पाउनुपर्ने गाउँलेको माग छ ।” साथै उत्तरी भेगका स्थानीयवासीले भारतीय मुद्रा नेपालमा चल्तीमा रहेजस्तै तिब्बती मुद्रा पनि चलाउन सक्ने कानुनको आवश्यकता रहेको औँल्याएको सचिव ढकालले बताउनुभयो ।

जिल्लामा रहेको मस्यौदा सुझाव सङ्कलन टोलीका प्रमुख महेन्द्रप्रसाद साँखीका अनुसार ६० वटै गाविस सचिवलाई संविधानको मस्यौदा गाउँ पु¥याउनका लागि बुझाइएको छ । “सबै गाविस सचिवलाई मस्यौदा बुझाएका छौँ,” उहाँले भन्नुभयो – “सचिवले मस्यौदा गाउँ पु¥याउनुभयो होला भन्ने हाम्रो विश्वास हो ।” सचिवले सदरमुकाम बसेर गाउँको सुझाव सङ्कलन गरेकाबारे आफूहरुलाई जानकारी नहुने उहाँले बताउनुभयो ।

साथै, उहाँले गोरखाका लागि एक हजार ८०० प्रति संविधानको मस्यौदा ल्याएको बताउनुभयो । संविधानको मस्यौदालाई तीनवटै निर्वाचन क्षेत्रमा पनि पठाएको भन्दै उहाँले क्षेत्र नं १ को गोरखाबजार, २ को पालुङटारबजार र ३ को आरुघाटबजारमा भोलि ११ बजे मस्यौदाबारे सुझाव सङ्कलनको कार्यक्रम तय भएको जानकारी दिनुभयो ।

सुझाव सङ्कलन कार्यक्रमका लागि सभासद् चीनकाजी श्रेष्ठ, हितराज पाण्डे र छमबहादुर गुरुङ गोरखाबजार आइपुग्नुभएको छ । श्रेष्ठ र गुरुङ क्षेत्र नं ३ को कार्यक्रममा सहभागी हुने र पाण्डे क्षेत्र नं २ को कार्यक्रममा सहभागी हुनुहुनेछ । क्षेत्र नं १ मा डा बाबुराम भट्टराई आउने कार्यक्रम छ । भट्टराई आज सदरमुकाम आइपुग्ने कार्यक्रम रहेको छ । साथै तीनवटै क्षेत्रमा तीन÷तीनजना कर्मचारी खटाइएको छ । रासस