सप्तरी, ३ साउन । विगत १६ दिनदेखि सप्तरीको विषहरियाँ गाविसका एक युवक बेपत्ता भएका छन् ।
बेपत्ता हुनेमा जिल्लाको विषहरियाँ गाविस–३ निवासी गजेन्द्रप्रसाद यादवको २० वर्षीय छोरा रमेशकुमार यादव रहेको प्रहरीले जनाएको छ । गत असार २१ गतेदेखि बेपता रहेको रमेशले कालो भेस्ट र नीलो जिन्स पाइन्ट लगाएको छ । गाउँबाट राजविराजमा काम छ भनेर हिँडेको रमेश हालसम्म घर नर्फेकाले कतै कसैले आफ्नो छोराको अपहरण गरी लगेको छ कि भनी परिवारमा रुवावासी भइरहेको छ ।
मोटसाइकल लिएर गएका छोरा अहिलेसम्म घर नफर्केको उनका पिताले गजेन्द्रले आज राससलाई जानकारी दिनुभयो । रमेशले बोकेको मोबाइलमा पटकपटक सम्पर्क गर्दा पनि हालसम्म सम्पर्क हुन नसकेको र मोबाइल पनि स्विच अफ रहेकोे छ ।
बेपता विषयमा जिल्ला प्रहरी कार्यालय सप्तरीमा लिखित जानकारी गराइसकेको गजेन्द्रले बताउनुभयो । बेपता भएका युवकको खोजी कार्य तीव्र गतिमा भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब निरीक्षक नारायणप्रसाद चिमरियाले बताउनुभयो ।
यस्तै विगत तीन वर्षदेखि सप्तरीको जोगिनियाँ गाविसका एक युवकसमेत बेपता भएका छन् । आफ्नो बुबासँग सामान्य विवाद भएपछि तीन वर्षअगाडि घरबाट निस्केका सप्तरीको २ नं जोगिनियाँ गाविस–८ सकरदही निवासी लक्ष्मण मैरता यादवको १९ वर्षीय जेठो छोरा सञ्जय यादव हालसम्म घर नफर्केको बुवा लक्ष्मणले बताउनुभयो । यस विषयमा स्थानीय प्रहरीलाई जानकारी गराए पनि हालसम्म खोजी हुन नसकेको उहाँले उल्लेख गर्नु भयो । रासस















प्रतिक्रिया