यो लेखनीको थालनी गर्नुपूर्व एक सामान्य नेपाली नागरिकको हैसियतले सगर्व यो घोषणा गर्दछु कि ‘म कुनै पनि देशको पिआर, डिभी वा ग्रीनकार्ड लिने छैन र यी सबै पाउनका लागि कुनै संघर्ष पनि गर्नेछैन ।’ एक व्यक्ति जो दायाँ हातमा विदेशको पिआर, डिभी वा ग्रीन कार्ड बोकेको छ त्यहि व्यक्ति बाँया हातमा नेपालको नागरिकता बोकेर नेपाल र नेपालीमाथि शासन जमाउँछ भने तपाई आफै सोच्नुहोस् हामी कुन हातबाट शासित भइरहेका छौँ ? पिआर, डिभी र ग्रीन कार्ड बोकेको दायाँ हातबाट वा नेपाली नागरिकता बोकेको बायाँ हातबाट ? निजामति सेवा ऐनको चौंथो संशोधनपछि हामी हानिकारक हातहरुबाट समेत शासित भइरहेका रहेछौँ भन्ने कुराको पुष्टि भएको छ । राष्ट्रको सेवा गर्छौ भनेर सपथ लिएकाहरु अर्कै देशको नागरिकता बोकेर हिँडिरहेका छन्, त्यसैले उनीहरुलाई नेपाल र नेपालीप्रति बफादार बन्नुपरेको छैन अनि नियम कानून पालना गर्नुपरेको छैन । यसको परिणाम, देशमा अराजकता मच्चिएको, दण्डहिनताले प्रश्रय पाइरहेको र देश भ्रष्ट्राचारको खाडलमा फसेको छ । सलाम लालबाबु पण्डितलाई, जस्ले ती ‘हानिकारक हातहरु’बाट नेपाली नागरिक शासित हुन नपरोस् भनेर हरप्रकारको कोशिस गरिरहेका छन् ।
राष्ट्रपति डा.रामबरण यादवले डिभी–पीआर भएका कर्मचारीलाई बर्खास्त गर्ने प्राबधानसहित चौथोपटक संशोधित निजामति सेवा ऐनमा लालमोहर लगाएपछि कम्तीमा नेपाली कर्मचारीहरुले विदेशी डिभी वा पिआर त्याग्नेछन भन्ने मेरो सामान्य बुझाई थियो । तर यसबीच विहीबार देशको राजधानी काठमाडौँबाट प्रकाशन हुने अधिकांश समाचार पत्रहरुमा त्यसरी डिभी–पीआर बोकेका हजार भन्दा बढी कर्मचारीले राजीनामा दिएको समाचार प्रकाशन गरेको समाचार पढ्दा मलाई निकै दुःखी बनाएको छ । मन्त्री लालबाबु पण्डीतका अनुसार ६० दिनभित्र जागिर वा डिभी–पीआर मध्ये एक रोज्न नसेके बर्खास्तमा परिने डरले ती कर्मचारीहरुले विभिन्न कारणहरु देखाउँदै राजीनामा दिएका हुन । जब देशनै चाहिँदैन भनेर डिभी वा पीआर रोज्छ भने उसलाई कसरी नेपाली मान्ने अनि कसरी नेपाली भन्ने ?
काठमाडौँस्थित न्यूज २४ टेलिभिजनमा कार्यरत मेरा एकजना मित्र छन् विमल नेपाल । एक पटक घुमघामका लागि सिन्धुपाल्चोक पुगेका बेला सुनकोशीको किनारमा बसेर एउटा पारिवारिक घटना सुनाए मलाई । ‘फलानाको छोराले तेरो उमेरमा पैसा कमायो, घर बनायो, गाडी किन्यो, दुनियाँ गर्यो तर तँ किन यस्तो भइस् छोरा ?’ भनेर उनका बुबाले निकै दिग्दार मान्दै सोध्नुभएछ । अनि उनले भने रे ‘मेरो फलानो साथीको बाउ टाईसुट लगाएर हिँड्नुहुन्छ, बिजनेस गर्नुहुन्छ । मेरा पनि ठुलाबडाका छोराछोरीहरुसँग संगत छ तर मैले फलानोको बाउ यस्तो छ तपाईँ किन यस्तो भनेर कहिल्यै सोधेको छैन ।’ यसबारे उनले थपे ‘झुत्रे झाम्रे छन् भनेर आफ्ना बाउ आमालाई अरुसँग तुलना गर्न या सुकिला मुकिला छन् भनेर अरुका बाउआमालाई आफ्ना हुन भन्न सकिँदैन । किनकी जे जस्तो भएतापनि बाउआमा भनेका बाउआमानै हुन र छोराछोरी भनेका छोराछोरीनै हुन ।’
उनको यो भनाई अहिले यहाँ उल्लेख गर्न हुन्थ्यो या हुन्थेन मलाई ज्ञान भएन तर सन्दर्भबश उल्लेख गर्न बाध्य भएँ । म अध्ययनका लागि जापान आएको आजको मितिमा १५ महिना १० दिन भयो । यसबीचमा देश छोडेर विभिन्न उद्देश्यले विदेशिएका थुप्रै नेपालीहरुसँग मैले भलाकुसारी गरेको छु । कतिपयले देशसँग दिग्दारी मानेका छन् कतिपयले देशको स्वाभिमानलाई शिरमा राखेर पौरखी गरेका छन् । देशको राजनीति बिग्रियो, देशले विकास गर्न सकेन या आर्थिक रुपमा हामी झन् झन् गरिब हुँदै गयौँ भनेर म नेपालीनै होइन भन्न कस्ले सक्छ ? तर त्यस्तो भन्नेहरु पनि छन् यहाँ । हिजो सद्दे हुने बेलाबेलासम्म आमालाई भगवान ठान्नेहरु दुर्घटनाबश आमा विकलाङ्ग भइन वा आँखा नदेख्ने भइन भनेर आमानै होइन भन्नेहरुलाई के भन्ने ? अहिले डिभी–पीआर रोजेर जागिरबाट राजीनामा दिनेहरु यस्तै हुन जसले आफ्नो देशलाई अरुसँग तुलना गरेर आफ्नै देशलाई धिक्कारीरहेका छन् ।
सरकारी सेवामा रहेका निजामती कर्मचारीहरुले जुन दिनदेखि डिभी–पीआर प्राप्त गरे त्यसदिन देखि उनीहरुलाई सायद, देश र जनताप्रति कहिल्यै बफादार हुन परेन । त्यसैले हाम्रो कर्मचारीतन्त्र बिग्रिएको छ, छाडापन बढेको छ अनि भ्रष्ट्राचार मौलाएको छ । यो मैले फगतमा लगाएको आरोप होइन । कटु सत्य नै हो । यसको प्रमाण डिभी–पीआर रोजेर सरकारी सेवाबाट बिदा लिन राजी हुने कर्मचारीहरुनै हुन । यदि उनीहरुसँग नैतिकता थियो भने डिभी–पीआर प्राप्त गर्दासाथ राजीनामा दिएर देशसँग विदा हुनुपथ्र्यो तर अहिले बाध्यता परेपछि मात्रै स्वदेशको जागिर भन्दा विदेशी डिभी–पिआर प्यारो ठानेकाहरुसँग देशले कहिल्यै गर्व गर्न सक्नेछैन ।
अव त्यसरी डिभी र पिआर बोकेर बसेका सम्पूर्ण कर्मचारीहरुलाई तत्काल कार्वाही गर्ने गरी सरकार अघि बढ्नुपर्छ । जागिर भन्दा डिभी–पीआरलाई महत्व दिनेहरुलाई देशले कुनै सुविधा उपलब्धि गराउन जरुरी छैन । डिभी–पीआर बोकेको निजामति कर्मचारीले जागिरलाई निरन्तरता दिन्छ भने ठिक छ उसले डिभी–पीआर त्यागोस् । होइन, डिभी–पीआर रोजेर जागिर छोड्न चाहन्छ भने उसलाई भविष्यमा पेन्शन लगायतका कुनै पनि सुविधाहरु उपलब्ध गराउन जरुरी छैन । उसले, त्यही डिभी–पीआर खाओस, त्यहि डिभी–पीआर लगाओस् अनि त्यहि डिभी–पीआरमा सुतोस् । डिभिधारी कर्मचारीहरुको भार आइन्दा, देशले थेग्न नपरोस् ।
अव डिभी–पीआर बोकेका मन्त्रीहरुले पनि तत्काल कि राजीनामा देऊ कि डिभी–पिआर त्यागेर देशको सेवा गर्ने घोषणा गर । तर ती मन्त्रीहरुले पनि एउटा कुरा ख्याल राख्नुपर्छ यदि डिभी–पीआर रोजेर विदेशिने निर्णय गरेको खण्डमा देशले कहिल्यै माफ दिनेछैन । अहिलेसम्म देशमा जे जति अराजकता भयो, जे जति दण्डहिनता बढ्यो र देश जसरी भ्रष्ट्राचार जंघारमा भासिएको छ, यसको हिस्सादार तिमीहरुनै हुनैछौ । र बर्षौसम्म नेपाल र नेपालीहरु तिमी जस्ता गैरजिम्मेवारहरुलाई धिक्कार्न बाध्य हुनेछन् ।














प्रतिक्रिया